स्पोर्ट्स अवार्डबाट १ लाख बचत

समाधान संवाददाता २०८० साउन २५ गते १३:१९

पोखरा ।
सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार आम्दानी, खर्च सार्वजनिक गरेको हो ।


कार्यक्रमका लागि २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भई १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए । कोषाध्यक्ष कविता घर्तीमगरले पेश गरेको आय व्यय विवरण सुझावसहित पारित भएको छ ।


मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको अवार्डको समीक्षासमेत गरियो । मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरी, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, निवर्तमान महासचिव विजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, विजय नेपाली लगायतले अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा सुझाव दिए ।

Advertisement


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मञ्चको स्थापना दिवस र सातौं पोखरा स्पोर्ट्स अवार्डका सम्बन्धमा बोलेका थिए ।


सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत वैशाख २३ गते पोखरा सभागृहमा भएको थियो । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेकी थिइन् । अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारेका थिए ।

Advertisement

लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया