‘वनलाई समृद्धिको आधार बनाऔं’

समाधान संवाददाता २०८० साउन २६ गते १२:३७

पोखरा ।
सामुदायिक वनको प्राकृतिक स्रोतलाई संरक्षणकर्ताको अधिकारको सुनिश्चितसहित मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीले पोखरा २५ सुईखेतमा गरेको वृक्षारोपणमा बोल्ने वक्ताहरुले वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।


‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाइँदै छ । सो अवसरमा सामुदायिक वन समूहको खाली क्षेत्रमा निम, तेजपात, चाँप, हर्रो, बर्रो लगायत विभिन्न जातका ३ सय विरुवा रोपिएको थियो । आवश्यक विरुवा डिभिजन वन कार्यालय कास्कीबाट उपलब्ध भएको सामुदायिक वन उपभोक्ता महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिए ।


सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले चाँपको विरुवा रोपेर कार्यक्रम सुरु गरेकी थिइन् । उनले रोपिएका विरुवाको उचित संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement


पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सामुदायिक वनलाई उपभोक्तासँगै मुलुकको समृद्धिसँग जोडनुपर्ने खाँचो र्औल्याए । सामुदायिक वनमा काठ कुहिएर नष्ट हुने र विदेशबाट अर्बाैं रुपैयाँको काठ तथा काठजन्य सामग्री आयात हुने अवस्था अन्त्य गर्दै स्वदेशी काठको प्रयोग बढाउनुपर्नेमा उनको जोड छ ।


महासंघका केन्द्रीय सदस्य हरि बास्तोलाले सामुदायिक वनले काठका लागि मात्र नभई वातावरणीय र भूक्षय रोक्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको विचार राखे । उनले यसको उचित उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement


गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वनको अवधारणाले नांंगा डाँडापाखा हरियालीमा परिणत भएको बताउँदै उपभोक्ताको योगदानको उच्च कदर गर्दै वन पैदावारमा जथाभावी कर नलगाउन सात वटै प्रदेश सरकारसँग जोडदार माग गरे ।


वन समूह अध्यक्ष दिननाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछाने, लियो क्वबका डिस्ट्रिक एडभाइजर पूजन शाक्य लगायतले वृक्षारोपणको आवश्यकता एवं वातावरण संरक्षणमा सामुदायिक वन खेल्दै आएको भूमिकाबारे बोलेका थिए ।


४ हेक्टरमा रहेको यो वन समूहमा २२ घर, परिवार उपभोक्ता छन् । सामुदायिक वनको संरक्षण र प्रवद्र्धनसँगै बाँदर लगायत वन्यजन्तुको आतंक बढेकोमा सहभागीले चिन्ता जनाए ।

तपाईको प्रतिक्रिया