म्याग्दीमा र मुस्ताङमा ३ कोल्ड स्टोर निर्माण

समाधान संवाददाता २०८० साउन २६ गते १२:५३

म्याग्दी ।
म्याग्दीमा सुन्तला र मुस्ताङमा स्याउ भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन यस वर्ष २५ हजार किलोग्राम क्षमताको ३ वटा चिस्यान गृह(कोल्ड स्टोर) निर्माण गरिएको छ ।


प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत म्याग्दीमा १ र मुस्ताङमा २ चिस्यान गृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए ।


‘निजी फार्म, कृषक समूह र सहकारीलाई चिस्यानगृह बनाउन लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,’ उनले भने, ‘चिस्यानगृहमा किसानले सुन्तला र स्याउ भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्ने छन् ।’ बेनी नगरपालिका ९ को बियाडमा परियोजनाको १० लाख अनुदानमा ५ हजार किलोग्राम क्षमताको सुन्तला भण्डारण गर्न सकिने चिस्यान गृह निर्माण गरिएको छ ।

Advertisement


मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रोफार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिंगामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०/१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण गरिएको छ । मार्फाको चिस्यानगृह बनाउन ११ लाख ३ हजार र खिंगामा ११ लाख २८ हजार अनुदान दिइएको कृषि अधिकृत बस्यालले जानकारी दिए ।


वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नाका साथै बढी मूल्यमा बिक्री गर्न पाइने बेनी नगरपालिका ९ बियाडाका मधु गिरी बताउँछन् । परियोजनाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ मा ५ टन क्षमताको १ वटा, २०७७/७८ मा ४२ टन क्षमताका ३ वटा, आर्थिक वर्ष २०७८/७९ मा ३० टन क्षमताको ३ वटा चिस्यान गृह निर्माण भएका थिए । यसअघि मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा निर्माण भएका चिस्यानगृह प्रभावकारी बनेका छन् ।

Advertisement

परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बंगुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ । गतवर्ष म्याग्दी, पर्वत र बागलुङमा सुन्तला जोनका लागि २१ लाख ४२ हजार अनुदानमा निर्माण गरिएका १८ साना सिँचाइ योजनाबाट १ सय २५ रोपनीमा सिँचाइ सुविधा विस्तार भएको थियो ।


८ लाख ५० हजार अनुदानमा बेनी नगरपालिका ३ मा २ वटा र पर्वतको जलजला गाउँपालिका ५ मा एउटा सुन्तला नर्सरी स्थापना भएको छ । मुस्ताङमा २ दशमलव १६ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको र म्याग्दीमा २ हजार २ सय सुन्तलाका बिरुवा अनुदानमा वितरण गरिएको कृषि अधिकृत बस्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया