बलेवामा ऐतिहासिक ‘हरेलो मेला’ लाग्ने

तारानाथ आचार्य २०८० साउन २८ गते १०:५४

बलेवा ।
बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका १२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मंगलबार मेला गर्न लागिएको हो ।


वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेलो पर्व मनाउने प्रचलन छ । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ ।
बर्खामा धान र कोदो रोपाइँ सकेपछि हरेलो पूजा गर्ने हुँदा हरेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि छ । बागलुङमा पछिल्लो समय हरेलो पर्व मनाउने घट्दै गएकाले यो परम्परालाई जोगाइराख्नुपर्ने बताउँछन् ज्योतिष पण्डित विष्णुप्रसाद पाठक । ‘हरेलो पूजा खासगरी प्रकृति एवं भूमिको पूजा हो,’ उनले भने ।


बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन रहेको तथ्य भेटिन्छ । पर्व जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न गत वर्षदेखि यहाँ हरेलो महोत्सव गर्ने गरिएको बागलुङ नगरपालिका वडा नं १२ का पूर्वअध्यक्ष गुरुदत्त पाठक बताउँछन् । यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।

Advertisement


बलेवा क्षेत्रमा नै पर्ने संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथि बनेका अग्ला र लामा पुल तथा जैमिनी धाम, गाजाको दहक्षेत्र र जैमिनीको हाँडिकोटलाई समेत यहाँबाट जोड्न सकिने भए पनि बागलुङको पर्यटन बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेको र सम्भावनाका तुलनामा यसको प्रचार गर्न नसकिएको प्रसंग उल्लेख गर्दै धार्मिक पर्यटनको विस्तार र विकासका लागि मेला महोत्सवहरूको आयोजना गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठक सुनाउँछन् ।


नेपालमा आउने करिब आधा पर्यटक पोखरा आउने भए पनि पोखरा पुगेकामध्ये अति न्यूनमात्र बागलुङ पुग्ने गरेको उनले जनाए । पाठकले गण्डकी प्रदेशको सुप्रसिद्ध देवस्थल कालभैरवमा यस प्रदेशका धार्मिक तथा आन्तरिक पर्यटक ल्याउन नसकिएको अवस्थामा यस्ता मेला महोत्सवले गण्डकी प्रदेशकै पर्यटकीय विकासमा टेवा पुग्ने धारणा राखे ।

Advertisement


बागलुङ उद्योग वाणिज्य संघ उपाध्यक्ष सञ्जय श्रेष्ठले अधिक सम्भावना बोकेर पनि पछि परेको बागलुङको पर्यटनलाई उजागर गर्न तथा यहाँको स्थानीयताको प्रवद्र्धन गर्न हरेलो महोत्सवले सहयोग पुग्ने सुनाए । खासगरी यस्ता मेला महोत्सवमा आफ्ना स्थानीय उत्पादन एवं मौलिकताको पहिचान गराई देशव्यापी बनाउनुपर्ने उनको भनाइ छ ।


यो पर्वमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको बागलुङ नगरपालिका वडा नं १२ का वडाध्यक्ष कोपिलामणि शर्माले बताए ।


गत वर्षबाट सुरु गरिएको यस मेलालाई निरन्तरता दिन लागिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । ‘दोस्रोे पटक हामी मेला आयोजना गर्दै छौँ, यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो’, ढकालले भने, ‘मेलामार्फत् बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धन सहज हुन्छ, पहिलो हरेलो मेलाले हामीलाई धेरै सिकाएको छ ।’


यस पटकको मेलामा विष्णु खत्री, कृष्ण अखेली, राजन कार्की, राजेन्द्र सापकोटा, सीता परियार, कमला गैरे लगायतका कलाकारको प्रस्तुति पनि रहनेछ । मेलामा भजन, पञ्चेबाजा, तीज एवं लोक गीत लगायतको प्रस्तुति र छेलो फाल्ने प्रतियोगितसमेत हुने छन् । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । भैरवस्थान पुग्ने सडक सरसफाइ, मन्दिर परिसर सरसफाइ, शौचालय र खानेपानीको व्यवस्थापन लागयतका काम सुरु भइसकेका छन् ।


हरेलो मेलामा आउने पर्यटकले बागलुङकै पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भकुण्डे भ्यू–टावर, मूलाबारी पर्यटकीय क्षेत्र नजिकैबाट अवलोकन गर्न सक्छन् । भैरवस्थान आउने पर्यटकलाई बलेवा क्षेत्रमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पु¥याउनका लागि पहल गरिने पनि मेला आयोजक समितिले जनाएको छ ।


पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर पशुबलि दिने चलन पनि अन्त्य भई नसकेको स्थानीय नन्दप्रसाद घिमिरेले जनाए । कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र लुम्बिनी प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँचीका साथै काठमाडौँ र चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।


बागलुङ सदरमुकामदेखि १७ किलोमिटरमा भैरवस्थान मन्दिर पर्छ । साविकका ६ गाविसलाई १८ औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटमा रहेका कालभैरवले छवटै गाविसका किसानलाई रक्षा गर्छन् भन्ने मान्यता पनि छ । बलेवामा बाइसेचौबिसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्य बताउँछिन् ।

तपाईको प्रतिक्रिया