दोहोरी प्रतिष्ठानको सभामा सम्मान

समाधान संवाददाता २०८० साउन २८ गते ११:००

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको २२ औं साधारण सभा शनिबार भएको छ । सभाले प्रथम उपाध्यक्ष परशुराम अधिकारीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषध्यक्ष नवराज अधिकारीले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।


कार्यक्रममा अग्रज लोक गायिका ज्ञानसरा (ज्ञानु) जुग्जालीमगर, कास्की आदर्श समाज साउदी अरबका अध्यक्ष अमर सापकोटा, समाजसेवी राजेन्द्र जिसी, नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेली सिरियल मेरी बास्यैका निर्देशक दिवाकर भण्डारी (सापटी काका), कार्यसमितिका उत्कृष्ट सदस्य विनोद विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ ।


समारोहमा कास्की आदर्श समाज साउदी अरबका अध्यक्ष सापकोटाले प्रतिष्ठानको कोष वृद्धिको लागि १ लाख ५ हजार प्रदान गर्ने घोषणा गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठानको संस्थागत विकासका योगदान नगर्ने कलाकारलाई कल्याणकारी कोषबाट सहयोग नगर्ने घोषणा गरे ।

Advertisement


उनले त्यस्ता कलाकारको नाम जिल्लाबाट सिफारिस नगर्न आग्रह गरे । उनले अधिवेशनमा नेतृत्वमा पुग्न हानथाप गर्ने तर जिम्मेवारी पूरा नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताए । ‘संस्थालाई आवश्यक पर्ने कलाकारलाई चिन्नु पर्‍यो । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नु पर्छ,’ उनले भने, ‘संस्थागत विकास तथा संस्थालाई सुदृढीकरण गर्नका लागि नेतृत्वमा बस्ने कठोर बन्नु पर्छ ।’ उनले कामबाट आत्मसन्तुष्टि लिन र सिकाईमार्फत् नेतृत्व विकासका लाग्न सबैलाई आग्रह गरे ।


प्रतिष्ठान नेपालका प्रशासनिक सचिव जीवन दाहालले प्रतिष्ठानले कलाकारलाई एकीकृत गर्दै हकहितका लागि काम गरेको बताए । उनले प्रतिष्ठानले लोक तथा दोहोरी गीतको प्रतियोगिता गर्नुपर्ने जनाए । प्रतिष्ठान नेपालका भूगोलतर्फका सचिव घनश्याम रिजालले प्रतिष्ठानप्रति कलाकारको आकर्षण घटेकोमा चिन्ता प्रकट गरे । प्रतिष्ठान नेपालका प्रशासनिक सचिव शंकरविरही गुरुङले हरेक खालका चुनौतीको सामना गर्न सक्ने कलाकार अब्बल बन्ने तर्क गरे ।

Advertisement


कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक पूर्णबहादुर ह्योल्मो, प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की, प्रतिष्ठान नेपालका पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, लोक दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष शिवहरि पौडेल, सल्लाहकार संयोजक सोमनाथ बाँस्तोला, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, संगीत विभाग प्रमुख सुनील गायक लगायतले लोक दोहोरी क्षेत्रको बारेमा बोलेका थिए । कार्यक्रम प्रतिष्ठान नेपाल कास्की अध्यक्ष तुलसी क्षत्रीको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया