स्कुल ड्रेसमा एकैदिन हराए पोखराका ३ बालिका

समाधान संवाददाता २०८० साउन ३० गते १०:१७

पोखरा ।
पोखरामा एकैदिन ३ बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका पोखरा महानगरपालिका वडा नम्बर २ विन्ध्यावासिनी बस्ने ३ जना बालिका हालसम्म पनि सम्पर्क नआएका हुन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार एकैपटक सम्पर्कविहीन भएको भन्दै परिवारबाट उजुरी परेको छ । वेपत्ता भएकाहरु हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ‘३ बालिका बेपत्ता भएको भन्दै परिवारले उजुरी दिनुभएको छ । हामीले खोजी गरिरहेका छौं । हालसम्म पत्ता लागेको छैन,’ उनले भने ।


आफन्तले भने २ बालिकाले फोनमा कुरा भएपनि कहाँ कस्तो अवस्था रहेको जानकारी नभएको बताए । ‘तिनैजना एकैपटक हराएका हुन्, केही दिन आफन्तकोमा खोजौं, नभेटिएपछि प्रहरीमा उजुरी दिएका हौं,’ मनिका परियारकी एक आफन्तले भनिन्, ‘दुई जनासँग त कुरा भएको थियो । तर, कहाँ छन् थाहा छैन ।’

Advertisement


परिवारका अनुसार उनीहरु हराउँदा बखत तिनैजना सेतो सट, नीलो स्कटको स्कुल ड्रेसमा थिए । परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका, आफन्त, इष्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाऊँ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया