भदौ १ गते देखि पाेखराका ट्याक्सीमा मिटर अनिवार्य

समाधान संवाददाता २०८० साउन ३० गते १०:२८

पोखरा ।
पोखरा उपत्यकाभित्र सञ्चालन हुने सबै ट्याक्सीहरु मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।


अनिवार्य रुपमा बिलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिज्यालले जानकारी दिए । मिटर र बिलमा नचलेको पाइएमा कानुन बमोजिम कारबाही हुने रिज्यालले बताए । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै अनिवार्य मिटरमा चल्न ट्याक्सी चालकहरुलाई आग्रह गरेको छ ।


भाडाकार ट्याक्सीको भाडा सम्बन्धमा गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजन अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुवाती २ सय मिटरसम्मको ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटर बराबर १० रुपैयाँ कायम गरिएको छ ।

Advertisement

सुरुवाती २ सय मिटरसम्मको ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटर बराबर १० रुपैयाँ


अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्य तवरले रातो प्लेट (निजी) सवारी साधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाइएमा पनि कानून बमोजिम कारवाही हुने कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले केही दिनअघि आयोजित अन्तरक्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका थिए ।

Advertisement


विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरेपनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको भन्दै जनगुनासो उठ्दै आइरहेको थियो । यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको अन्तक्र्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताएका थिए । ‘विगतमा सरकार र व्यवसायीबीच भएको सहमति पालना गरेर जान हामी तयार छौँ, ट्याक्सी व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुपर्‍यो । महँगीका आधारमा भाडादर समायोजन हुनुपर्छ, स्वचालित भाडादर कायम हुनुपर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया