तीजलाई हरिदेवीका ५ म्युजिक भिडियो

समाधान संवाददाता २०८० साउन ३० गते १०:४७

पोखरा ।
यसपालिको तीज लक्ष्य गरी विभिन्न गायक गायिकका गीत सार्वजनिक भइरहेका छन् । हरेक वर्ष नयाँ नयाँ तीजगीत ल्याउने गरेकी अग्रज लोकगायिका हरिदेवी कोइराला यसपालि आफ्ना ५ तीजगीतका म्युजिक भिडियो ल्याउने तयारीमा छन् ।
तीमध्ये २ नयाँ तीजगीत हुन् भने ३ पहिल्यै रेकर्ड भएका तर म्युजिक भिडियो नबनेका गीत छन् । प्याउली जोवान र छोराछोरी हुर्के बढे उनका यसपालिको तीजअघि नै बजारमा आउने नयाँ तीजगीत हुन् ।


‘यसपालिको तीजअघि नै पाँच तीजगीतका म्युजिक भिडियो दर्शकसमक्ष आउँदै छन् । बर्सेनि तीजमा कुनै न कुनै खालका मौलिक गीत ल्याउने गरेकी छु,’ उनी भन्छिन् । पछिल्लो समय आएका केही तीजगीतले नेपालीको मौलिक संस्कृतिमाथि अतिक्रमण गरेको उनको अनुभव छ । ‘गीत सभ्य, सरल, जनमानसमा भिज्ने र नेपाली जीवन बोल्ने हुनुपर्छ,’ उनी भन्छिन् ।

तीज र लोकगीतका गरी एकै पटक उनका २१ म्युजिक भिडियो बजारमा आउँदै छन् । चर्चित ‘पाइनँ खबरदेखि नयाँ गीतसम्मका म्युजिक भिडियो बन्दै छन् ।

Advertisement


तीजका ५ बाहेक उनका अरु १६ म्युजिक भिडियो बजारमा आउँदै छन् । पुराना सोह्र र नयाँ ४ गरी २१ गीतको म्युजिक भिडियो एकसाथ बजारमा ल्याउने तयारीमा उनी छिन् । पहिला नै रेकर्ड भएका र जनमानसमा लोकप्रियता आर्जन गरिसकेका केही गीतलाई म्युजिक भिडियोमार्फत् ल्याउने उनको तयारी हो ।


‘अहिले गीत हेर्ने जमाना आयो । पहिले क्यासेटमा निकालेका गीत संरक्षण गर्न र पछिल्लो पुस्तालाई सुनाउन पनि म्युजिक भिडियो बनाउनैपर्ने भयो,’ उनी भन्छिन् । उनले २ महिनाअघि आफ्नै नामको युट्युब च्यानल खोलेकी छन् । आफ्ना गीतका म्युजिक भिडियो त्यसैमा राखेर दर्शक, स्रोतासम्म पुर्‍याउने उनको योजना छ ।

Advertisement

‘आफ्नै व्यवस्थापनमा यो काम गर्दै छु । अहिले गीतमा हुने लगानीबाट केही रिटर्न हुँदैन तर आफ्ना गीतको माया सन्तान जस्तै लाग्दो रहेछ,’ कोइरालाले कारण सुनाइन् । नयाँ म्युजिक भिडियोमा उनको चर्चित गीत ‘पाइनँ खबर’ पनि छ । हे राजै पियारा, सितारा राखेको डोरी, जाऊँ हिड् रेलैमा र रेलैको झ्यालैमा जस्ता उनका पुराना चर्चित गीत पनि अब चाडै श्रव्यदृश्यसहित हेर्न सकिने भएको छ ।


यी सबै गीतमा शब्द, लय र गायन कोइरालाकै छ । दोहोरी गीतमा पुरुषोत्तम न्यौपाने, अमरविरही गुरुङ, नारायण रायमाझी, प्रेमराजा महत लगायतले साथ दिएका छन् । पोखरा र आसपासका क्षेत्रमा करिब २० दिनमा गीतहरुको छायांकन गरिएको हो । अहिले म्युजिक भिडियोहरु मुनाल फिल्मस्मा सम्पादन हुँदै छन् । वासुदेव पोखरेलले भिडियोहरुको निर्देशन गरेका छन् ।
अझै आफ्ना करिब एक सय गीतको म्युजिक भिडियो बन्न बाँकी रहेको उनी सुनाउँछिन् । म्युजिक भिडियोमा पोखरेली कलाकारहरुले नै अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया