जग्गा कित्ताकाट खुल्यो

समाधान संवाददाता २०८० साउन ३१ गते १०:४६

काठमाडौं ।
जग्गा कित्ताकाट खुला गर्ने गरी सरकारले भू–उपयोग नियमावली पारित गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।


जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने भएको छ । गत वर्ष कित्ताकाट रोकिँदा त्यसको असर राजस्व असुलीमा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालकै अगुवाइमा गत वैशाखमा कित्ताकाट खुलाउने निर्णय भएको थियो । नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रूपमा काम अघि बढ्ने मन्त्री ज्वालाले बताए ।


सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरुको मापदण्ड पनि कायम गर्ने गरी नियमावली ल्याउने भएको छ । वैशाख १२ मा मन्त्रिपरिषद्ले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई समितिमा पठाउने निर्णय गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया