वर्डक्याम्प नेपालको छैटौँ संस्करण पोखरामा हुने

समाधान संवाददाता २०८० साउन ३१ गते १४:०९

पोखरा ।
‘वर्डक्याम्प नेपाल’ को छैटौँ संस्करण आउँदो जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ ।
पछिल्लोपटक सन् २०२२ मा भरतपुरमा सम्पन्न भएको यस कार्यक्रम योपटक पोखरामा आयोजना हुन लागेको हो । सूचना प्रविधिको क्षेत्रमा नेपालमा आयोजित सम्मेलनहरुमध्ये सबैभन्दा ठूलो सम्मेलनका रुपमा यसलाई लिइने आयोजकको दाबी छ ।


वर्डक्याम्पहरू अनौपचारिक तथा स्थानीय रूपमा संगठित सम्मेलनहरू हुन् । जसले वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् । वर्डप्रेस निशुल्क तथा खुला स्रोतको व्यक्तिगत प्रकाशन सफ्टवेयर हो । यसको प्रयोगले विश्वभर झन्डै ४० प्रतिशत वेबसाइटको उत्पादन र सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको छ ।


विश्वमा पहिलो वर्डक्याम्प सन् २००६ मा वर्डप्रेसका सह–संस्थापक म्याट मुलेनवेगको अगुवाइमा अमेरिकाको सान–फ्रान्सिस्कोमा सम्पन्न भएको थियो । त्यसयता विश्वभरका वर्डप्रेस सम्बद्ध स्थानीय समुदायहरूको सहकार्यमा सयौं अरू वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भएका छन् । नेपालमा हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल जस्ता सहरमा १५ वटा सहर आधारित तथा देशव्यापी वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

Advertisement


दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन छ । दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ । बिहानदेखि बेलुकासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिने क्याम्पका लोकल लिग निशाल गुरुङले जनाएका छन् ।


वर्डप्रेस र सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेबडिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन (क्भ्इ), मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, वर्डप्रेस समुदायको विकास लगायत अन्य थुप्रै विषयहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधिका नवीन आयामहरुबारे जानकारी प्रदान गर्नेछन् ।

Advertisement


वर्डक्याम्प नेपालले व्यावहारिक शिक्षाका अवसरहरू पनि प्रदान गर्ने लक्ष्य राखेको छ । सहभागीहरूलाई वर्डप्रेससँग सम्बन्धित विषयहरूको अध्ययन तथा योगदानबारे प्रशिक्षण दिने उद्देश्यले शृंखलावद्ध रुपमा अन्तक्र्रियात्मक कार्यशालाहरू सञ्चालन गरिनेछन् । कार्यक्रम स्थलमा प्रायोजक लक्षित प्रदर्शनी क्षेत्र रहनेछ । वर्डप्रेस उद्योगमा आवद्ध प्रमुख कम्पनीहरू तथा संस्थाहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शनमा राख्नेछन् ।

तपाईको प्रतिक्रिया