अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा योजनामा

समाधान संवाददाता २०८० साउन ३२ गते १०:४९

काठमाडौं ।
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा योजनामा आवद्ध गर्न सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गरे ।


अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गरेर कोषमा आवद्ध हुन सक्ने सामाजिक सुरक्षा कोषले जनाएको छ । सरकारले औद्योगिक श्रमिकका लागि तोकेको आधारभूत पारिश्रमिक ९ हजार ३८५ लाई आधार मान्दा त्यसको २१.३७ प्रतिशत हुन आउने २ हजार २ रुपैयाँ हुन्छ ।


अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम तिरे पुग्छ । बाँकी ९.३७ प्रतिशत रकम सरकारले थप गरिदिने व्यवस्था गरिएको छ । रोजगारदाता निश्चित नभएका कृषि, निर्माण लगायत क्षेत्रका श्रमिकलाई अनौपचारिक श्रमिक मानिएको छ । कोषमा योगदान गर्नेहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार तथा वृद्ध अवस्था सुरक्षा पाउनेछन् ।

Advertisement


योगदान रकममध्ये १०.३७ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना तथा १० प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाका लागि बाँडफाँट हुने कोषले जनाएको छ । २०७५ मंसिरमा सुरु भएको सामाजिक सुरक्षा योजनामा अहिले ७ लाखभन्दा बढी योगदानकर्ता सूचीकृत छन् । सरकारले गत चैत ८ देखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योजनामा आवद्ध गराइरहेको छ ।


अब ७५३ वटै पालिकामा यो कार्यक्रम लागु गरिने घोषणा सरकारले गरेको छ । यो कार्यक्रम कार्यान्वयनका लागि फेदीखोला गाउँपालिका र भीमफेदी गाउँपालिकाले कोषसँग समझदारी गरेका छन् । बाँकी अन्य पालिकाहरूले पनि छिट्टै समझदारी गर्ने विश्वास कोषका उपनिर्देशक रोहित रेग्मीले व्यक्त गरे । अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा सञ्चालन कार्यविधि २०७९ अनुसार कोषमा योगदान गरेपछि श्रमिकहरू विभिन्न योजनाहरूमा सहभागी हुन सक्छन् ।

Advertisement


कोषमा श्रमिकले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम प्रत्येक महिना जम्मा गर्नुपर्ने हुन्छ । सम्बन्धित स्थानीय सरकारले ९.३७ प्रतिशत सहयोगदान गरिदिनुपर्ने हुन्छ । यो भनेको सरकारले तोकेको पछिल्लो न्यूनतम आधारभूत पारिश्रमिक (९ हजार ३८५ रूपैयाँ) को ९.३७ प्रतिशत अर्थात् ८७९.३७ रूपैयाँ हो ।

तपाईको प्रतिक्रिया