प्रहरी सरुवा, बढुवामा मापदण्ड

समाधान संवाददाता २०८० साउन ३२ गते १०:५९

काठमाडौं ।
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
तालिमपछि पासआउट भएका नयाँ तथा पुराना गरी ९ सय ५८ प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ सरुवा भएको छ । ६४ प्रहरी निरीक्षकको बढुवा र पदस्थापन भएको छ ।


मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ३ श्रेणीमा वर्गीकरण गरिएको छ । ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवं कार्यसम्पादन स्तर समेतका आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ ।


पहिलो पटक कार्यालय प्रमुखको अवसर प्राप्त गर्नेलाई अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ । यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाई मापदण्डब मोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ ।

Advertisement


श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ । पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य लागि मन्त्रालय मापदण्ड बनाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया