पत्रकार दीपक पुरस्कृत

समाधान संवाददाता २०८० साउन ३२ गते ११:०१

पोखरा ।
नेपाल पर्वतारोहण संघ गण्डकीले पत्रकार दीपक परियारलाई पुरस्कृत गरेको छ । संघको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनमा पर्वतारोहण क्षेत्रमा कलम चलाउने पत्रकार परियार सम्मानित भएका हुन् ।


संघले उनलाई १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो । बुधबार भएको अधिवेशनमा अध्यक्ष शेषकान्त शर्मा र पोखरा महानगपालिकाका मेयर धनराज आचार्यले परियारलाई पुरस्कृत गरे । डेढ दशकदेखि गण्डकीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका परियारले समाधान राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट, गण्डकी खबर दैनिकमा काम गरेका छन् । उनी अहिले कान्तिपुर दैनिकमा आवद्ध छन् ।


कार्यक्रममा मेयर आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको जनाए । ‘पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छौं । नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा हुन्छ,’ आचार्यले भने ।

Advertisement


पर्यटकीय नगरी पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्र गतिमा सञ्चालन गर्न र भारत तथा अन्य राष्ट्रसँग समन्वय गरेर अगाडि बढ्न प्रदेश र संघ सरकारलाई आचार्यले आग्रह गरे । उनले अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउनेतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्ने विचार राखे । ‘पर्यटकलाई चाहिने ५ तारेदेखि साना होटल घरजस्तो नभई होटल जस्तो बनाउनुपर्छ,’ आचार्यले भने ।


पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभई ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्नेमा मेयर आचार्यले सुनाए । । कार्यक्रममा नेपाल पर्वतारोहण संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्यटकलाई सहज रुपमा घुम्ने वातावरण सिर्जना गर्नुपर्ने विचार राखे । संस्थाका सल्लाहकार टीकाराम सापकोटाले पर्वतारोहण गर्ने पर्यटकलाई गाइड बारे जानकारी नहुँदा दुर्घटना हुने गरेको सुनाए ।

Advertisement


एनएमए गण्डकीमा नयाँ नेतृत्व
नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेशले नयाँ नेतृत्व पाएको छ । बुधबार भएको एनएमए गण्डकी प्रदेशको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले विकास गुरुङको नेतृत्वमा नयाँ समिति चुनेको छ ।


उपाध्यक्षमा पुरबहादुर गुरुङ, सचिव मनशान्त घिमिरे र कोषाध्यक्ष तुलसीप्रसाद सुवेदी निर्वचित भएका छन् । सदस्यमा पुष्पा तिलिजा पुन, गुणराज बाँस्तोला, विष्णुप्रसाद तिमिल्सिना, मनु गुरुङ, सन्दीप गुरुङ, प्रेमबहादुर कुँवर, हिराकुमारी मल्ल, रामबाबु बास्ताकोटी, श्यामप्रसाद पौडेल र श्री गुरुङ छन् ।

नवनिर्वाचत कार्यसमितिलाई निर्वाचन समिति संयोजक वासुदेव त्रिपाठीले गराए ।

तपाईको प्रतिक्रिया