फिर्के सीमांकन २०० मिटरमात्रै बाँकी

समाधान संवाददाता २०८० भदौ १ गते १०:३६

पोखरा ।
फिर्केखोलाको सीमांकन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु सीमांकन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सीमांकनको काम अब करिब २०० मिटरमात्र बाँकी छ ।


पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको खोलाको नाप जाँच कार्यको स्थलगत अवलोकनमा पुग्नुभएका महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । ‘खोलाको नाप जाँचका क्रममा हालसम्म ५ सय बढी सीमा स्तम्भहरू गाडिएका छन्,’ मेयर आचार्यले भने, यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो, यसका शंका गर्नुपर्ने कुनै कारण छैन ।’ उनका अनुसार खोलाको सीमांकन कार्यले खोलामाथिको अतिक्रमण र दोहनलाई उदांगो बनाइदिएको छ ।

‘खोलाको नाप जाँचका क्रममा हालसम्म ५ सय बढी सीमा स्तम्भहरू गाडिएका छन्’

Advertisement


फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको मेयर आचार्यले बताउनुभयो । ‘दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेन सहितको फुटट्र्याक बनाइने छ,’ उनले भने, ‘यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।’ फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण ताल समेत प्रदूषित भएकोप्रति उनले गहिरो चिन्ता व्यक्त गरे ।


फिर्केखोला माथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने मेयर आचार्यले बताए । ‘खोलामाथि नै जग्गा किनेर बस्नु भएको छ भने त त्यसको उपचार छैन, खोलामाथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन,’ उनले भने, ‘त्यो सम्भव नै छैन, कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारबाही हुन्छ ।’ खोला मिचेर आफैले संरचना बनाएको हुनसक्छ तर, खोला नै किनबेच भयो भन्ने कुरा विश्वास गर्न नसकिने उनले बताए ।

Advertisement


सीमांकन कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्भेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी सीमास्तम्भहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अब खोलाको २०० मिटर क्षेत्रमा सीमांकनको काम बाँकी छ । नाप जाँचका क्रममा खोला माथि अविश्वासिलो ढंगले अतिक्रमण गरिएको, स्थायी संरचनाहरू निर्माण गरिएको र प्रदूषण गरिएको लगायतका अवस्थाहरू भेटिएको उनले बताए ।


खोलाको प्राकृतिक बहावको खोजी र अतिक्रमण विरुद्ध नागरिक अभियान्ताहरुले सकारात्मक सहयोग गरिरहेका छन् । स्थानीयहरूले समेत महानगरको योजना कार्यान्वयनमा सहयोग गर्ने बताउँदै आएका छन् । खेलामा अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्केखोलाको सीमांकन टोलीमा सर्भेक्षक, इन्जिनियर र अमिनहरू सहित ४० जना परिचालित छन् ।

तपाईको प्रतिक्रिया