प्रत्यक्ष दोहोरी गाउने मञ्च चाहिन्छः ढुंगाना

श्याम कुँवर २०८० भदौ १ गते ११:१८

पोखरा ।
मेला, महोत्सव तथा सांगीतिक समारोहमा प्रत्यक्ष दोहोरी गाएर चिनिएका कलाकार हुन् शिवहरि ढुंगाना । उनी पछिल्लो समयमा कार्यक्रम प्रस्तोताका रुपमा देखिएका छन् भने मेला महोत्सवमा समेत रुचाइएका कलाकार हुन् ।


पोखरा २६ लेखनाथमा जन्मेका ढुंगानाको लोकगीत तथा दोहोरीमा बाल्यकाल देखिकै लगाव हो । उनी विद्यालयमा हुने हरेक प्रतियोगितामा भाग लिन्थे । लेखनाथ क्षेत्रका गाउँ, टोलमा कृषि समूहका प्रतियोगितामा समेत सहभागी हुन्थे । प्रायः जसो सबै प्रतियोगितामा विजयी भएर पुरस्कार पाउँदा हौसला बढेको उनी सुनाउँछन् ।


२०५७ मा पृथ्वीनारायण क्याम्पस प्रदेश गरेपछि उनले गायन क्षेत्रमा फड्को नै मारे । स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसले २०६२ मंसिर २२ र २३ गते आयोजना गरेको राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनको समूह दोस्रो भयो । ‘आँसुकवि जस्तै गीतको लयमा जवाफ फर्काउन सक्नुपर्छ,’ उनले भने, ‘सवाल जवाफ राम्रो भएका कारण क्याम्पसका हजारौं विद्यार्थी तथा दर्शकको होहल्ला हुटिङले झन उत्साह थपेका थियो ।’

Advertisement

पहिला कलाकार सीमित थिए, अवसर बढी थियो । अहिले कलाकार धेरै भए, अवसर कम छन् ।


उनी सोही प्रतियोगिताले प्रत्यक्ष दोहोरी गाउने कलाकारको रुपमा चिनाउनुका साथै गायन क्षेत्रमा झन रुचि बढाएको बताउँछन् । २०३९ जेठ ३१ गते जन्मेका शिवहरिले लोक दोहोरीलाई २०६० देखि पेशाको रुपमा अंगाले । त्यति बेलादेखि दोहोरी साँझमा गाउन थालेका ढुंगाना अहिले पनि त्यही क्षेत्रको निरन्तरतामा छन् ।

Advertisement


२०७० देखि लोकदोहोरी प्रतियोगितामा निर्णायकको भूमिका देखिने ढुंगाना नेपालमा धेरै जसो मेला, महोत्सव तथा सांगीतिक समारोहमा प्रत्यक्ष लोक दोहोरी गाउन तथा कार्यक्रम प्रस्तोताको रुपमा पुगेका छन् ।


पृथ्वी नारायण क्याम्पसमा प्रतियोगिता तथा २०७१ सालमा लेखनाथ महोत्सवका प्रिती आलेसँग लाइभ दोहोरी उनको लागि अविश्मरणीय क्षण बने । प्रितीसँगको लाइभ दोहोरी १० लाखभन्दा बढी दर्शकले हेरेका छन् । उनी सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की र सबै सेवा केन्द्रहरुको लागुऔषध विरुद्धको महाअभियान तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको ट्राफिक सचेतना गीत गाएर सम्मानित भएका छन् । जनतामा जागरण ल्याउने सन्देशमुलक गीत गाएका छन् । पछिल्लो पटक ‘सातै तालको सहर लेखनाथ’ बोलको उनको गीतले प्रथम राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट गाउँ चिनारीको रुपमा अवार्ड पाएको छ ।


राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष तथा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालका कार्यसमिति सदस्य र ढुंगाना आफ्नै शब्द, लयमा ४ गीत रेकर्डिङको तयारीमा छन् । भुरुरु उडेको चरी कहाँ पुग्यो देखिन्न दिनभरी गीत ल्याउने तरखरमा उनी छन् । लोक दोहोरी कलाकारले सार्वजनिक समारोहमा जति बढी अवसर पाउँछ, त्यति नै स्थापित हुन्छ । कला र गलामा निखारपन आउँछ ।


उनी पछिल्लो समयमा लोक तथा दोहोरी क्षेत्रका कलाकारलाई अवसर कम भएको अनुभव सुनाउँछन् । ‘पहिला पहिला सीमित कलाकार थिए, अवसर भने बढी थियो,’ उनले भने, ‘अहिले कलाकार धेरै भए, अवसर कम भयो । कलाकारको अनुपातमा मेला, महोत्सव कम हुन्छ ।’


उनले अत्यधिक प्रतिस्पर्धाले कलाकारको बाँच्ने आधार कमजोर भएको बताए । उनले धेरै कलाकार पलायन भएको तथा केही खाडी मुलुक पसेको जनाए । राम्रो तथा प्रतिभावान् कलाकारले स्थान पाउने अवस्था नभएको उल्लेख गर्दै जसले विज्ञापन छरफष्ट रुपमा गर्न सक्छ उसैको गीत चल्ने बताए ।


रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रको देउराली कार्यक्रम कलाकार जन्माउने थलो थियो । त्यस कार्यक्रमको धेरै कलाकार जन्माउन योगदान छ । फेवा चौतारी धेरै कलाकारको प्रतिभा देखाउने मञ्च थियो । लोक गीतको एल्बम निकालेर विज्ञापनका लागि धेरै खर्च गर्न नसक्नेका लागि अहिले पनि फेवा चौतारी जस्तै गण्डकी प्रदेश स्तरमा कलाकारलाई प्रतिभा देखाउने मञ्च आवश्यक छ । गाउँ गाउँमा गएर प्रतिभाबीच प्रतिस्पर्धा गराएर चिनाउने अवसर दिनुपर्छ । त्यसो गरेमा धेरै कलाकार दर्शकसामु चिनिने अवसर पाएर स्थापित हुने छन् ।


नेपाली लोक तथा दोहोरी गाउने थलो गण्डकी तथा धौलागिरी क्षेत्र हो । लोक तथा दोहोरी क्षेत्रका लागि अहिलेसम्म कुनै एकेडेमी छैन । त्यसैले सो विधाको एकेडेमी खोल्नु पर्छ । लोक तथा दोहोरी क्षेत्रलाई विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्नु पर्छ । हरेक विद्यालयमा नृत्य विधालाई स्थान दिइएको छ । जसका कारण नृत्य विधाका कलाकारले अवसर पाएका छन् ।


नृत्यलाई जस्तो मौलिक लोक भाका गाउनका लागि सिकाउने शिक्षकका व्यवस्था गर्नुपर्छ । गाउने तथा बजाउने विधालाई समावेश गरे धेरै कलाकारले रोजगारी पाउन सक्छन् । लोक तथा दोहोरी गीतको संरक्षण हुनुका साथै धेरै कलाकारले रोजगारी पाउने उनको विश्लेषण छ ।

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया