‘भीरको बाटो’ लिएर आइन् गोमा

समाधान संवाददाता २०८० भदौ ४ गते १२:०५

काठमाडौं ।
नातिनातिना स्कुल जाने उमेरमा विद्यालय गएर कक्षा ७ सम्म अध्ययन गरेकी गोमा पराजुलीले आत्मकथा लेखेकी छन् । उनको आत्मकथा ‘भीरको बाटो’ शनिबार काठमाडौंमा आयोजित समारोहमा सार्वजनिक गरियो ।


कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइले लेखनका विधा र क्षेत्र धेरै परिष्कृत भईसकेको अवस्थामा वास्तविक लेखकलाई प्रोत्साहन गर्न सके समाजको वास्तविक चित्र र चरित्र बाहिर जनसमक्ष आउने बताए । ‘भीरको बाटो’ गोमाको जीवनको कथा भए पनि समकालीन नेपाली समाजको वास्तविक चित्र र चरित्र रहेको उनले सुनाए ।


कुलपति राइले भने, ‘त्यतिमात्र होइन, अहिले पनि यस्ता धेरै घट्ना समाजमा व्यप्त छन् । समाजको रुपान्तरणको गति निकै धिमा छ ।’ तत्कालीन समयमा गोमाले परिवार र समाजबाट व्यहोर्नुपरेको पीडा र गरेको संघर्षबाट प्राप्त सफलता अरुका लागि पनि प्रेरणाको स्रोत हुन सक्ने उनले औंल्याए ।

Advertisement


कार्यक्रममा सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले पुस्तकले नेपाली समाजको जीवन्त तस्बिरलाई उतारेको जनाए । एक पात्रको आँखाबाट पुस्तकमा समग्र नेपाली समाजको दृश्य रहेको उनको भनाइ छ ।


सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवाले गोमाले भोगेको जीवन भोग्ने महिला अहिले पनि समाजमा रहेको सुनाइन् । उनले महिलाको जीवन असहज अवस्थामा अगाडि बढिरहेको जनाउँदै समयसँगै मानिसको सोच अझै परिवर्तन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिइन् । सामाजिक रुपान्तरणका लागि गोमाले गरेको अठोट, प्रतिवद्धता र निरन्तरको प्रयासले भीरको बाटो पुस्तक बनेको उनको भनाइ छ ।

Advertisement


कृतिकार पराजुलीले आफूले ५० वर्षको भएपछि कक्षा १ मा भर्ना भई कक्षा ७ सम्म अध्यायन गरेको उल्लेख गरिन् । आधारभूत तहको शिक्षा आर्जन गरी संघर्षको कथा आफैंले लेखेको उनको भनाइ छ । उनले आफ्नो माइतीघरमा छोरीलाई गरिने व्यवहार, पठनपाठनमा हुने विभेद, सामाजिक रुपमा महिलालाई हेरिने दृष्टिकोणलाई पुस्तकमा उल्लेख गरेकी छन् । जागरण बुक हाउसले कृति प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया