लोमान्थाङमा यार्तुङको रमझम

सुन्दरकुमार थकाली २०८० भदौ ५ गते ११:१०

जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सोमबारदेखि सुरु भएको छ । लोमान्थाङमा सदियौंदेखि मनाइँदै आएको यार्तुङ पर्व ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ ।


यारको अर्थ बर्खा र तुङको अर्थ हिउँद भन्ने बुझिन्छ । बर्खा यामपछि हिउँद यामको सुरुवाती झल्को दिनु यार्तुङको विशेषता हो । बर्सेनि खेतीपातीको कामकाज सकेर हिउँद यामको सुरुआती महिनामा मनाइने यो पर्वलाई यार्तुङ भन्ने गरिएको हो । यार्तुङ हिमाली समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । उपल्लो मुस्ताङीहरु यार्तुङ पर्व सकिएको २/३ महिनापछि जाडो छल्न बेसी झर्ने परम्परा छ ।


लोमान्थाङमा यार्तुङ पर्वले त्यहाँको राजपरिवार र नागरिकबीच पुलको रुपमा सम्वन्ध स्थापित गर्न महत्वपूर्ण योगदान दिने गरेको छ । यसपालि सोमबारदेखि सुरु भएको यार्तुङमा परम्परागत राजा जिग्मे पलवर विष्ट र रानी धोर्जे याङ्छी विष्ट उपस्थित हुन सकेनन् । जिग्मेकी आमा बिरामी परेपछि राजा र रानी यार्तुङमा उपस्थित नभएका हुन् । यार्तुङ पर्वमा लोमान्थाङका स्थानीयले राजारानीलाई दरबार पुगेर खाँदा चढाएर आशीर्वाद लिने प्रचलन छ ।

Advertisement


यार्तुङमा लोमान्थाङ गाउँका स्थानीय ४ समूहमा बाँडिएर घोडा दौडाएर रमाइलो गर्छन् । गीत गाउने, नाच्ने र साँस्कृतिक स्याब्रो नाच देखाउने चलन छ । स्थानीयले दसैं पर्व जस्तै महत्वपूर्ण मानेर यार्तुङ पर्व फरक प्रकारले मनाउने चलन रहेको छ । पहिलो दिन गाउँका प्रत्येक घरधुरीले छ्याङ र खादा लिएर बिष्ट समुदायका अग्रज व्यक्तिको घरमा पुगेर आशीष लिइन्छ ।

हिउँदो झल्को दिन मनाइने यार्तुङ सकिएको केही महिनापछि उपल्लो मुस्ताङी जाडो छल्न बेसी झर्ने परम्परा छ

Advertisement


लोेमान्थाङ यार्तुङको पहिलो दिन मुस्ताङी सांस्कृतिक राजा उपस्थित नभए पनि राजाका जेठा छोरा युवराज ढिण्डुप झिग्मे पलवर बिष्ट र बुहारी सोनाम याङ्छेन बिष्टसमक्ष गाउँ मुखियासहित स्थानीयले खाँदा चढाएका छन् । उनीहरुलाई मुस्ताङी युवराज दम्पतीले आशीर्वाद दिएको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छिमी बिष्टले जानकारी दिए । गाउँ मुखियासहितका गाउँलेलाई राजारानीले रोग व्याधि नलागोस्, अनिष्ट नहोस्, अन्नबाली राम्रो होस्, व्यापार व्यवसाय राम्रो होस् भनी आशीष दिने चलन छ ।


मुस्ताङी राज परिवारबाट मुखियाहरूलाई आशीर्वाद दिएलगत्तै लोमान्थाङमा यार्तुङ पर्व सुरु हुन्छ । लोमान्थाङ यार्तुङको पहिलो दिन स्थानीयले राजा र रानीलाई दरबार र अन्य विष्ट समुदायको घरमा पुगेर खाँदा चढाएर आशीर्वाद लिने चलन छ । लोमान्थाङ यार्तुङको पहिलो दिन राजा र पुरुषहरुले यार्तुङ मनाउँछन् भने पर्वको दोस्रो दिन रानी र महिलाले यार्तुङ मनाउँछन् ।


तेस्रो तथा अन्तिम दिन राजा र छोदे गुम्बाका लामाहरुले यार्तुङ पर्व मनाउने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष बिष्टले उल्लेख गरिन् । पहिलो दिन दरबारमा खादा चढाएर खाना खाएपछि गाउँ नजिकैको खुला चौरमा पुगेर स्वादिष्ट खानेकुरा बनाएर खाने चलन छ । त्यहाँ स्थानीय मौलिक भेषभूषामा पहिरिएर स्याब्रो नाच नाच्ने गर्छन् । कार्र्यक्रम सकेपछि गाउँ भित्रका गल्लीमा घोडा दौड हुन्छ ।


यार्तुङ अवसरमा ३ दिनसम्म घोडा दौडाउने चलन छ । पहिलो दिन लोछोदिन समुदायका गाउँका ज्येष्ठ नागरिक पुरुष वर्गले घोडा कुदाउने चलन छ । दोस्रो दिको पर्वमा रानीसँगै महिलाले घोडा कुदाउने चलन रहे पनि यसपटक युवराजसँगै लोछोदिन समुदायका पुरुषले घोडा कुदाएको उपाध्यक्ष बिष्टले उल्लेख गरिन् ।


घोडा दौड गर्दा करिब १५/१५ मिटरको फेरोमा पीठोले तयार पारिएको याक आकृति वस्तु, सेलरोटीलाई ऐना बनाएर बीचमा घ्यार राखिएको वस्तु र भेडाको दाहिने हात भित्रको कुरकुरे हड्डी (घ्यासा) बनाएर राखिन्छ । यसरी राखिएका वस्तुलाई घोडा दौडाउनेले ढुंगाले हानेर फुटाउने चलन छ । घोडा दौडका सहभागी जसले राखिएका वस्तु फुटाउन सक्छ, उसैलाई मुस्ताङी राजा, गाउँ मुखिया र स्थानीयले सम्मान गर्छन् ।


घोडा दौड गर्दा राखिएको वस्तु फुटाउने व्यक्तिलाई गाउँको इज्जत र प्रतिष्ठा बचाइदिएको प्रतीकको रुपमा लिने गरिएको लोघेकर दामोदरकुण्ड अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। राजाको शाख र प्रतिष्ठा बचाइदिएको भन्दै राजारानीले गाउँलेलाई पैसा दिने चलन छ । बिहानैदेखि गाउँलेले स्थानीय भेषभूषामा सजिएर यार्तुङको सांस्कृतिक कर्म र परम्पराको सुरुआत गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया