राज्यभन्दा अघि मुस्ताङी

सुन्दरकुमार थकाली २०८० भदौ ६ गते १०:५१

जोमसोम ।
हम्मेसी ठूलो पानी नपर्ने मुस्ताङमा यसपालि बाढी आयो । खोला थुनिएर आएको बाढी प्राकृतिक प्रवाह क्षेत्रमा मात्रै सीमित भएन; बस्तीसम्मै आयो । पूर्वसूचना पाएकाले मानवीय क्षति भएन तर करोडौंको धनमाल नोक्सान भयो । कागबेनीको कागखोलामा आएको बाढीपछि मुस्ताङी शोकमा छन् । शोकभित्रै सुरक्षाकर्मीसँगै स्थानीय उद्धार र राहतका लागि जुटेका छन् ।

साउन २८ गते साँझ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीमा बाढी आएको थियो । मानवीय क्षति त ट¥यो तर कागबेनी बजार अब बजार रहेन । मुक्तिनाथको शीर हुँदै झर्ने ठाडो कागखोलाले कागबेनी बजारको मुख्य राजमार्ग, कच्ची सडक देखि तटीय क्षेत्रको श्राद्ध स्थलको बस्ती पूरै बगायो, बगर बनाइदियो ।


बाढीले त्यहाँ रहेका व्यक्तिका घर, होटल, रेस्टुरेन्ट, पसल, सरकारी कार्यालय र कागबेनी श्राद्धस्थलमा ठूलो क्षति गरेको छ । बाढी आउँदा त्रासले भागाभाग र रुवाबासी भएका कागबेनीबासी भोलिपल्ट तल हेर्न आएका थिए । त्यो बेला पूरै तटीय बस्तीमाथि बाढीको राज थियो । बाढीले कतिपय भौतिक संरचन पूरै ध्वंस्त भयो, बाढीले बगाएर कालिगण्डकी नदीमा मिसायो । दर्जनौं पशुचौपाया लग्यो, कतिपय पुरिए । डेढ दर्जन सवारी साधन पूर्ण क्षति भए । सदियौं पुरानो कागछोदे गुम्बा कागखोला र कालिगण्डकी नदीको दोहोर कटानले जोखिममा छ ।

Advertisement

राज्यको राहत नपुग्दै मुस्ताङीहरु गाउँ गाउँबाट आएर उद्धारमा खटिएका छन्, घर घरमा सहयोग अभियान चलाएका छन्


भनिन्छ, विपद बाजा बजाएर आउँदैन, प्राकृतिक विपद्ले जुनसुकै बेला मानव समुदायलाई खतरामा पारिदिन्छ । कागबेनीको विपद् मध्य रातमा नभई साँझ पर्दै ट¥यो । कागबेनी माथिका गाउँलेले कागबेनीबासीलाई बाढी आउँदै छ भन्ने पूर्व सूचना नदिएका होईनन् । यसैले त कागखोला बाढीको बितण्डामा हुन सक्ने ठूलो मानवीय संकट टर्‍यो ।

Advertisement


बर्सेनि थुनिइरहने र नगण्य मात्र क्षति गर्ने कागखोला बाढीको भीषण स्वरुपको अनुमान कागबेनीबासीले कहिल्यै गरेका थिएनन् । ‘बाढी आउँछ, जान्छ, के नै गर्ला र’ भन्ने गाउँलेको सोच थियो । तर, बाढी आएर स—साना दुःख दिइरहने कागखोलाले यसपालि श्राद्धस्थल वरीपरीको बजार बढारेर लग्यो ।


केही बचेखुचेका घर पनि मासिन बस्न लायक छैनन् । घरभित्र लेदो र बलौटे गेग्रान थुप्रिएको छ । जोमसोम—कोरला जाने बाटोका पक्की पुलसहित अरु ३ अस्थायी पुलसमेत बाढीमै बगे । कागबेनी कागबेनी बजार होइन, बगरमा परिणत भइसकेको छ । करोडौंका भौतिक संरचना नष्ट भए र लाखौंको धनमाल क्षति भयो ।


बगर बनेको कागबेनी र यहाँका स्थानीयलाई राहत र उद्धारका लागि मुस्ताङीले हातेमालो गरिरहेका छन् । बाढीले बनाएको बगर बदल्ने कागबेनी गाउँलेको सामथ्य छ, न त सुरक्षा निकायबाटै सम्भव छ । दुःखी कागबेनीबासीलाई उद्धार र राहत दिन भने पहल जारी छ । मुस्ताङीहरु राज्यभन्दा अघि छन्, राज्यको राहतअघि नै उनीहरु महलम लाउन पुग्छन् ।


कागबेनीमा उद्दारका लागि २९ गतेबाट अहिलेसम्म निरन्तर विभिन्न गाउँ गाउँबाट स्थानीय जुटिरहेका छन् । कागबेनी बाढी पीडितको सहयोगका लागि सहयोग एकत्र हुँदै छ । मुस्ताङका गाउँ गाउँबाट कागबेनी बाढी पीडितको सहयोगका लागि कुटो, कोदालो, गैची, बेल्चा लगायतका घरेलु सामग्री जिल्लाबासी कागबेनी पुग्ने गरेका छन् ।


गाउँ गाउँबाट मुखियाहरुको अगुवाइमा आर्थिक सहयोग संकलन गरिएको छ । हरेक गाउँबाट १ लाखदेखि १०÷१२ लाखसम्म सहयोग जुट्दै छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ, ठिनी, जोमसोम, छैरो र चिमाङ गाउँबाट सहयोगका साथै कागबेनी बाढी पीडित उद्धारका लागि श्रमदान गर्ने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गरे । ‘दुःखको घडीमा शत्रुलाई त सहयोग गर्नुपर्छ, यो त जिल्लाभित्रै एक गाउँलाई परेको पीडा हो,’ अध्यक्ष लालचनले भने, ‘सबैको प्रयासले मात्र कागबेनीबासीको उद्धार र राहत हुन सक्छ, जुन मुस्ताङले उदाहरण पेश गरेको छ ।’


अहिले वारागुङ मुक्तिक्षेत्रका १९ वटै गाउँले हातेमालो गरी खटिएका छन् । वारागुङको मुक्तिनाथ, छेङ्गुर, झोङ, पुडाक ,खिङ्गा, छुसाङ, ढाक्मर, समर, चैले, तिरी, फल्याक, पाक्लिङ, धार्कारजुङ र सान्ता गाउँका स्थानीय कागबेनी पुगेर उद्धारमा खटिएको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए । उनले उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका गाउँबस्तीका मानिस त्यहाँ पुगेका छन् ।


त्यसो त उपल्लो मुस्ताङ जाने छुसाङ—चैले पुल र चराङ खोलाको सडक असहज हुँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयसहयोगका लागि चाहेर पनि आउन सकेका छैनन् । उनीहरु सडक सहज बनाएर उद्धारमा खटिने तयारीमा रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।


लोमान्थाङ गाउँपालिकाले पनि कागबेनी बाढी पीडितको उद्दार र तथा राहतका लागि सबै वडामा अपिल गरेको छ । लोमान्थाङका जनप्रतिनिधि कागबेनीका लागि राहत संकलन गर्न घरदैलो अभियानमा जुटेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया