पतिबाट बिछोडिएकी हीराः ट्रेकिङ गाइड बनेर भुल्दैछिन् पीर

समाधान संवाददाता २०८० भदौ ६ गते ११:४५

कास्की ।
बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा गाँसिएकी उनको एक छोरा र एक छोरी छँदै थिए । परिवार हाँसीखुसी नै थियो । जीवन सहजरुपले चल्दै थियो तर २०६३ सालमा श्रीमानले अर्की श्रीमती ल्याएपछि हीरा छाँगाबाट खसेझैँ भइन् ।


त्यस दिनपछि उनको मनमा सन्तोषले ठाउँ लिएन । ‘चटक्कै छाडेर अन्त कतै बस्ने झोक नचलेको होइन,’ हीराले भनिन्, ‘साना लालाबाला थिए र काखेबच्चाका लागि आमाको माया सम्झिएँ ।’ जे भयो भयो अब मिलेर बसौँ भन्ने उनको प्रस्ताव ठाडै अस्वीकार भयो । ‘छोराछोरीको भविष्य हेरेर मिलेर बसौं पनि भनेकी हुँ,’ उनले विगत सम्झिइन्, ‘अर्कीले उल्टै कति पैसा चाहिएको हो, बिटा फाल्दिन्छु भन्दै धम्की दिई ।’


पतिको हेला र कान्छीको रुखो वचन सहीसाध्य भएन । अन्त्यमा हिराले सम्बन्धविच्छेद रोजिन् । अदालतको फैसलामा छोराछोरी आफूसँग राख्ने तथा पालनपोषण, शिक्षा, स्वास्थ्यमा लाग्ने खर्च बाबुले नै ब्यहोर्ने भन्ने थियो तर सम्बन्धबिच्छेदको दिनदेखि श्रीमान्ले वास्ता गर्न छाडेको उनी बताउँछिन् ।

Advertisement


सोही वर्ष हीरा पोखरा आइन् । अनेक समस्यासँग संघर्ष गर्दै हीराले ‘ट्रेकिङ गाइड’ को काम सुरु गरिन् । सुरुमै ट्रेकिङ रुट अन्नपूर्ण आधार शिविरसम्म पर्‍यो । बाटोमा भेटिने प्राकृतिक छटाले विगतको दुःख भुलाउँदै गयो । मन रौनक पनि भयोे । उनी जोमसोम मुक्तिनाथ, मर्दी आधार शिविर, धम्पुस जताततै पुगिन् । बिस्तारै आम्दानी पनि राम्रै हुँदै गयो ।


कमाइले आफूसहित छोराछोरीको लालनपालनमा टेवा मिल्यो । अनुहारमा नयाँ कान्ति छायो । अब केही गर्न सक्छु भन्ने आँट पलाउन थाल्यो । आफू ट्रेकिङमा हिँड्दा बुहारी र बहिनीले छोराछोरी हेरिदिने थिए । अहिले ४५ वर्ष पुगेकी हीराले ३२ वर्षको उमेरदेखि नै ट्रेकिङको काम थालेकी थिइन् । त्यसबीचमा २०७२ सालको भूकम्पका कारण केही महिना काम पाइएको थिएन तर त्यसयता भने खाली बस्नुपरेको छैन । कोरोनापछिको लकडाउनमा केही समस्या भए पनि बचाएर राखेको पैसाले जीवन धानिएको उनले बताइन् ।

Advertisement


हक्की स्वभाव, आँट अनि इमान्दारीपनले नै उनले २०७७ सालमा मुस्ताङको छ हजार १२ मिटर उचाइको धम्पुस पिक आरोहण गरेकी थिइन् । यसैबेला नेपाल पर्वतारोहण संघको आयोजनामा भएको ‘ट्रेकिङ गाइड’ ले अझै अब्बल महसुस गराएको हीराले बताइन् । हीरा जब जब धम्पुस पिकको चुचुरोमा पुगिन्, उनको मन चंगा भयो ।


‘सबैभन्दा पहिला आमा सम्झिएँ,’ सफल अरोहणको क्षण सम्झँदै हीराले भनिन्, ‘छोराछोरी र आफन्त सम्झिएँ ।’ हिमालको चुचुरोमा पुगेपछि बाटोमा भोगेका कठिनाइमात्र नभई श्रीमान्ले अर्को श्रीमती ल्याएपछि पाएको दुःखसमेत भुलेको उनले बताइन् । ‘हिमाल चढ्नु मेरो पहिलादेखिकै इच्छा थियो, चढेँ,’ हीराले भनिन्, ‘अब जस्तोसुकै हन्डर परे पनि सहन्छु अनि मेरो एकल जीवन जसरी भए पनि चलाउछु भन्ने साहस पलाएको छ ।’


ट्रेकिङ गाइडमा लागेर दुःख बिर्सन सिकाएको हीराले बताउँछिन् । आगामी दिनमा योसँगै हिमाल चढ्नेहरुको सहयोगी बन्ने उनको योजना छ । ‘हिजोआज मलाई दुःख केही होजस्तो लाग्दैन । श्रीमान् साथमा नभए पनि एक्लै जिउन सक्छु भन्ने लागेको छ,’ हीराले भनिन्, ‘विगत भुलेर ट्रेकिङमा रमाउने अनि मिल्यो भने हिमाल चढ्नेहरुको सहयोगी वा गाइड बन्ने रहर छ ।’

तपाईको प्रतिक्रिया