होटल क्षेत्रमा जनशक्ति अभाव

समाधान संवाददाता २०८० भदौ ६ गते १२:५६

पोखरा ।
होटल क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ नेपाल र होटल संघ पोखरा नेपालको आयोजनामा २४ महिने निःशुल्क तालिम सञ्चालन हुने भएको छ । विभिन्न कलेज र कतिपय तालिम दिने इन्स्टिच्युटबाट समेत आवश्यकता अनुसारको दक्ष जनशक्ति प्राप्त नभएपछि हेल्भटास नेपाल अन्तर्गत सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहयोगमा २ महिनापछि यस्तो तालिम चलाइने भएको हो ।


होटल संघ नेपाल कोषाध्यक्ष युवराज श्रेष्ठले होटल क्षेत्रका लागि आवश्यक दक्ष कामदार उत्पादनका लागि इनस्योरले विकास गरेको ड्युल भेट अप्रेन्टिसिप मोडल अर्थात् काम गर्दै सिक्दै अगाडि बढ्ने प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे । युरोपतिर बढी प्रचलनमा रहेको यो मोडेल नेपाली सन्दर्भमा पनि उपयोगी हुने उनले बताए । ३ चरणमा १० वर्षसम्म सञ्चालन हुने तालिमका क्षेत्र सुरुमा कोशी, लुम्बिनी र बागमति प्रदेश भए पनि यसलाई विस्तार गरी गण्डकी गरी ५ प्रदेशमा सञ्चालन गरिने उनले सुनाए ।


इन्स्योरका क्वालिटी असुरेन्स स्पेस्लिस्ट केशव भण्डारीले सैद्धान्तिक र व्यवहारिक गरी २४ महिनासम्म अप्रन्टिसिप मोडलको तालिम हुने जानकारी दिए । अधिकांश समय व्यवहारिक ज्ञान लिनका लागि कार्यक्षेत्रमा नै प्रशिक्षार्थी व्यस्त रहने उनले अवगत गराए ।

Advertisement

पोखरा र आसपासका होटलमा अहिले १५ हजार दक्ष जनशक्ति चाहिनेमा ५ हजार पनि उपलब्ध छैनन्


खाजा खर्च र न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक पनि यस्तो तालिममा उपलब्ध हुने उनले सुनाए । यसैगरी अन द जब ट्रेनिङ र काम गरी रहेकाहरुका लागि क्षमता सुधार तालिम पनि उक्त परियोजनाले सञ्चालन गर्दै आएको उनले जानकारी दिए । यस प्रकारका सबै तालिम दक्ष जनशक्ति उत्पादनका लागि रोजगाररत र बेरोजगार सबैका लागि उपलब्ध हुने छन् ।

Advertisement


होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटन क्षेत्रले उद्योग सरहको मान्यता र सुविधा पाउनुपर्ने माग राखे । उनले नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरु भिœयाउन पहल गर्नुपर्ने सुझाव पनि सुनाए । होटल संघ नेपाल गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले नेपालको पर्यटनका लागि थुप्रै जनशक्ति आवश्यक परेको तर उपलब्ध नभएको सुनाए । यस्तो जनशक्ति उत्पादन गर्ने र होटल प्रतिष्ठानहरुमा कार्यरत जनशक्तिको थप क्षमता विकासका लागि समेत यस प्रकारका तालिम उपयोगी हुने उनले बताए ।


नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेलले कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेख्य योगदान रहेको बताउँदै पर्यटन क्षेत्रका लागि ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक परेको बताए । तर अहिलेका पर्यटकीय प्रतिष्ठान तालिम केन्द्र जस्तो बन्न पुगेको बताउँदै उनले मजदूर होटल, रेूटुराँमा काम सिक्ने अनि विदेश जाने परिपाटीले समस्या उत्पन्न भएको उनले सुनाए । विद्यालय तहमा पर्यटन विषयको पढाइ सुरु गर्नुपर्ने सुझाव उनले दिए ।


गण्डकी प्रदेशकी सांसद विमला गौचनले आफ्ना लागि पदभन्दा पनि सीप ठूलो कुरा भएको बताइन् । मानिसमा सीप हुनु ठूलो कुरा भएको बताउँदै उनले आफू पनि सीपका लागि धेरै संघर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको सुनाइन् ।


होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा र वरपरका १ हजार होटलका लागि १५ हजार दक्ष जनशक्ति आवश्यक परेको तर अहिले ५ हजार पनि उपलब्ध नभएको तथ्यांक सुनाए । दक्ष कामदार उत्पादनका लागि होटल संघले सुरु गर्न लागेको तालिम उपयोगी हुने भनाइ उनको छ । कार्यक्रममा घरेलु कार्यालयका शेषकान्त पौडेल, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखरा नेपालका कोषाध्यक्ष नेत्र पौडेल लगायतले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया