२६ कुरिया फोटो प्रदर्शनी हुने

समाधान संवाददाता २०८० भदौ १३ गते १२:३२

पोखरा ।
पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुुने भएको छ । नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा भदौ १६ गते प्रदर्शनी हुने भएको हो ।


रानीपौवा अवस्थित भगवती दलगण प्रांगणमा २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए । १८ औँ शताब्दीको सुरूमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौँका नेवारहरू ल्याएर पोखरामा बजार सुरुआत गरेको इतिहास छ ।


त्यही २६ कुरिया अन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल छन् । तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र सुरुमा करिब १ सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ ।

Advertisement


विस १८२६ मा भक्तपुरका राजा रणजीत मल्लयुद्धमा हारेपछि ठूलो संख्यामा नेवार पोखरामा आएको र ७ सय पुगेको बताइन्छ । पोखरा आएका २६ कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको र उनीहरू पोखरामा आएसँगै यहाँको सामाजिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक विकासले गति लिएको मान्निछ ।


पोखराका यिनै ऐतिहासिक सत्य तथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको कार्यक्रम संयोजक श्रेष्ठले बताउँछन् । पोखराको तत्कालीन इतिहासको कल्पना गरेर आयुष श्रेष्ठले गरेको २० वटा फोटाकथा प्रदर्शनीमा राखिने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया