गणनामा नपरेको मित्र

दिनेश बस्नेत २०८० भदौ १४ गते १३:५३

रमेशको छोरा अभिनव र अपुरको ब्रतवन्धमा गइयो, आइयो । एकदम हतार हतारमा । मानौँ, हुरीको वेगमा पुगियो, आँधीको लहरमा फर्कियो । उसँग समेत राम्ररी बोल्न पाइएन । झन् आमालाई त भेट्नै सकिएन । यस्तै यस्तै गुनासोले मनलाई गाँझेको थियो ।

काठमाडौंबाट पोखरा फर्किएको ३ दिन भयो तर पनि म स्वतन्त्र हुन सकेको थिइनँ । कहिलेकाँही समय पनि धोकेबाज हुँदो रहेछ । कहिलेकाँही समय निकै मूल्यवान् हुँदो रहेछ । आफुले बनाएका मान्यता सिसा जस्तै चकनाचुर भए । आँत जोडिएका मित्र पनि पल्लो छेउ सोचेजस्तो भयो ।

त्यसरी नै समय आजकल अनुदार र अफाप बनेको छ । फेरि घटना पछिको उपघटना, एक जना दाजुको मृत्यु । तन एकातिर, मन अर्काेतिर । मलाई जीवनको मेलोमेसो मिलाउन हम्मेहम्मे परेको थियो । लगभग लगभग म समय र परिस्थिति जस्ता बडेमानका दुई ढुंगाले च्यापिएको थिए । तब कसरी स्वतन्त्र र खुकुलो जीवन जिउन सक्थे ?

Advertisement

कतै नियतिको बन्धकी जस्तो, कतै आफ्नोपन भन्ने जिनिस धितो राखे जस्तो ! व्यस्तभन्दा बढी अस्तव्यस्तमा रुमलिएको थिए । दिउँसो बजारबाट घर आँए । साथमा सानो मोवाइल लिएर हिड्न् चलन, ठूलो घरमै थियो । कहि कतैबाट घरमा आउने बित्तिकै मोवाइल हेर्ने गर्थे । त्यही प्रचलन दोहो¥याएँ । हेरें म्यासेन्जरमा रमेशको म्यासेज आएको रहेछ । निकै लामो लेख रहेछ । तर पनि अल्छी नमानी पढें ।

जीवन छ त हिंडाइ छ, हिडाइ छ र त गन्तव्यहरु छन् तर त्यो ज्ञान पनि कहिं कतै छ कि यी सबै गन्तव्य अस्थायी हुन् ।

Advertisement

प्रिय मित्र,
हरिहर गुफाको चिनारीसम्बन्धी तिम्रो परिकल्पनाको श्रव्यदृष्य सामग्री हेरेपछि मनमा सोचहरुको बाढी चलिरहेको छ । तीमध्ये केही कुरा आज तिमीसँग साटने प्रयास गर्दै छु ।


त्यसो त हरेक मन आफैँमा विशिष्ठ हुन्छ, हरेक जीवन आफैँमा विशेष हुन्छ । त्यसैले म फरक जीवन र मनलाई एकअर्काको जीवन वा मनसँग तुलना गर्नुलाई जायज मान्दिनँ । परन्तु मन न हो, आफ्नो धरातलीय यथार्थ पत्ता लगाउन नचाहेर पनि तुलोमा त्यसरी चढिहाल्ने रहेछ, जसरी मान्छेहरु तौल नाप्ने मेसिन देख्नासाथ केही नसोची आफ्नो तौल नाप्न त्यो मेसिनमा चढिहाल्छन् । मैले पनि आज बिना हिच्किचाहट त्यस्तै गरिदिएँ । मैले तिम्रो र मेरो जीवनका केही पक्षलाई तौलिदिएँ मनमनै ।


हामी कैयन हिसाबले धेरै फरक थियौँ र छौँ । तर हामीलाई समान बनाउने मूलतः तीन विशेष कुरा थिए भन्ने म ठान्छु । पहिलो साहित्यको हाम्रो प्रेम, दोस्रो हाम्रो संघर्षको समय र तेस्रो हाम्रो मन । कता कताबाट हामी त्यसरी जोडियौं, जसबाट छुट्टिनुको आवश्यकता कहिल्यै परेन र नपरोस् पनि ।


समय क्रममा जीवनले आफ्नैं मोड लियो, जुन स्वभाविक थियो । हामी भौगोलिक हिसाबले निकट रहन सकेनौं ं। परन्तु त्यसले हाम्रो मनको दूरीचाहिँ झनै कम बनाइदियो । हाम्रो व्यक्तिगत तहको मित्रतालाई पारिवारिक तहमा पदोन्नति दिलाईदियो । कस्तो प्रशन्नताको कुरा !


तिम्रो जीवन र अनुभवसँग, प्राप्ति वा गुमाइसँग मैले समय समयमा गर्ने मानसपटलिय अन्तरक्रिया पनि तुलोमा जोखिनु जस्तै छ । त्यसले हाम्रो जीवनको प्राप्ति वा गुमाइलाई कुनै असर गर्नेवाला छैन । न त्यो तुलना केही पाउने वा गुमाउने लालसाबाट प्रेरित हुन्छ । यो त बटुवाले आधी उकालो चढिसकेपछि ठिंग उभिएर माथि डाँडाको चौतारीतिर र तल फाँटतिर हेरेजस्तो मात्र हो, जस्ले न त्यो उकालो घटाउँछ, न बढाउँछ । जीवन छ त हिंडाइ छ, हिडाइ छ र त गन्तव्यहरु छन् तर त्यो ज्ञान पनि कहिं कतै छ कि यी सबै गन्तव्य अस्थायी हुन् । ठूलो गन्तव्य त सबैको शायद एउटै वा उस्तै हुनुपर्छ ।

मित्र,
विद्यार्थी जीवन सकेपछि तिमी मूर्ख बनेर गाउँ फर्किने विद्वान् भयौ र म विद्वान बनेर सहर रोज्ने मूर्ख । आज हामी जहाँ र जस्तो अवस्थामा छौं, त्यसको जिम्मेवार शायद हाम्रो त्यही निर्णयको नतिजा हुनुपर्छ भन्ने मेरो ठहर छ । तिम्रो मूर्खतापूर्ण ठानिएको निर्णयले तिमीलाई प्रकृति दियो, शान्ति दियो, सुन्दर खुला फाँट र सुन्दर मन भएका गाउंलेसँगको अपनत्व दियो र प्रकृतिको मधुरतासँग एकाकार भएर जीवन चलाउने लय दियो ।


अर्कातर्फ मेरो विद्वत्तापूर्ण मानिएको मूर्ख निर्णयले मलाई सहर र सुविधा त दियो तर सँगसँगै धुलो, धुँवा र कोलाहलपूर्ण परिवेश, दायाँ वायाँ कतै नहेरी, कसैको वास्ता नगरी चलिरहने यान्त्रिक मानव पनि दियो । मघुरताको नाममा कर्कश हल्ला दियो अनि लयको रुपमा एकतमासको विरक्तपन दियो । न ममा यो अवस्था मनदेखि स्वीकार गर्नसक्ने आँट दियो, न यसलाई चटक्क भुलेर आफू बन्ने साहस । म म रहिनँ न अरु कोही बनें ।


सहरको भिडलाई त सजिलै पार लगाउन सक्ने आँट बोकोको जन्तु हूँ म । तर म आफूभित्रै चाहिं अल्मलिएँ र शायद हराएँ मित्र । मेरा शब्दहरु हराए, भावना गुम्सिए, रहरहरु बदलिए । सहरले धेरै कुरा बदलिदियो तर मेरो मनलाई छुनचाहिँ सकेन । म मनभरि गाउँ र प्रकृति बोकेको सहर भए । भांग्राको धोती लगाएर गुँयलाको फूल टाउकोमा सजाएको तमासे भए । म स्वयंमा एक परिकल्पना मात्र भएँ, जुन साकार हुने क्षीण पनि सम्भावना छैन ।

म अक्सर आफूलाई विभिन्न प्रश्न गर्छु । हामी मान्छे बनेर किन जन्मियौ ? प्रकृतिका लाखौं प्राणीमध्ये हामीमात्र चेतनशिल प्राणी हुुनुको पछाडि के रहस्य छ ? के हाम्रो जीवनको विशेष कुनै उद्देश्य छ ? छ यदि भने त्यो के हो ? बांचुञ्जेल मात्र बाँच्नु राम्रो कि मरेपछि पनि बाँच्नु राम्रो ? फेरि म तुलोमा चढ्छु । अर्कातिर तिमीलाई राख्छु ।


मैले सहरको सोच र आडम्बर थेग्नमै सारा जीवन व्यस्त रहेँ । चिटिक्कको एउटा घर होस्, सुन्दर परिवार होस् । आफ्नै सवारी साधान होस्, जो सुन्दर र चिल्लो स्वरुप बोकेर यो कुरुप सहरका गल्लीमा शानले कुदोस्, देख्नेहरुले भनून्, ‘वाह ! प्रगति होस् त यस्तो !


सुत्न नरम ओछ्यान, नरम सिरक र तकिया होस्, पेटमा भलै रसायनले गलेको खाना जाओस् तर जीउमा सुट, बुट होस् चरित्रले मान्छे लाई भलादमी बनाउँछ भन्ने पावन सोच बोकेर हुर्केको म अब सूचीकारले मान्छेलाई भलाद्मी बनाउँछ भन्ने सोच बोकेकाहरुको भिड्मा छिर्न पुगें अनायास र यहिं अल्मलिइरहें ।

तिमी आफ्नो जीवनको लक्ष्यसँग सधैं स्पस्ट थियौ । कुनै आडम्बरपूर्ण सपनाभन्दा पर, कुनै स्वार्थको साम्राज्यभन्दा दूर र कृतिमताका गन्धबाट बेखबर । तिमीले प्रकृतिको काख रोज्यौ । सिसाको बोतलको रंगीन गुलियो पानीले तिमीलाई लोभ्याएन । सुन्दरताको मूलसम्म पुगेर शुद्ध पानीले तिर्खा मेटाउनु तिम्रो ध्येय रह्यो । सहरको भिड्मा भलादमी देखिन आफ्नो आवाज तिमीले दबाएनौ ।

खुलेर आफूलाई अभिव्यक्त गर्ने तिम्रो रहरले ओतप्रोत भएर तिमी कन्दरा पुग्यौ र खुलेर गीत गायौ । तिमीले कृत्रिम आवश्यकता र रहर पूरा गर्ने बाहानामा तालमा डुंगा चलाउनुको आनन्द बिर्सेनौं, जंगलमा चराचुरुंगीको गीत सुनेर मग्न हुनुमा पाइने त्यो अनुपम आनन्द नजर अन्दाज गरेनौ । तिमीले भिड छिचोलेरअघि पुग्न आफ्नो भावनासँग सौदाबाजी गरेनौ, हतारमा एक्लै दौडेनौ ।

सुस्त सुस्त हरेक भावनालाई लिपिवद्ध गरेर सबैसँग ती भावना साट्यौ । तिमी बालकसँग लुकामारी खेल्दै जीवन जिउन हिच्किचाएनौं, युवायुवतीसँग संगत गर्न र उनीहरुको बारेमा गहिराइसम्म पुगेर जान्न लाज मानेनौ । सबैभन्दा महत्वपूर्ण कुरा ती सबै अनुभव, सिकाइलाई शब्दमा खिपेर सुन्दर रचनाहरु संसारमाझ पस्किन संकोच मानेनौ ।


बिट मार्नका लागि छोटकरीमा भन्दा तिमीले आफूलाई सुन्यौ, आफूलाई चिन्यौ र सबैमाझ खुलेर आफूलाई चिनायौ पनि । तिम्रा हरेक निष्काम कर्म आफैंमा सञ्जीवनी बने, तिमीले अमरत्व प्राप्त गर्‍यौ । तिमीले जति पायौ, अरुलाई दिएर पायौ । मैले यदि केही पाएँ भने आफूलाई गुमाएर, आफैंसँग हराएर पाएँ । अन्ततः केवल एउटै प्रश्न मनभरि दोहोरिइरहेको छ, जीवनमा पाउनु भनेको के हो अनि गुमाउनु के हो ?

तिम्रो सदाको मित्र

पत्र उठेपछि खुब सोचें । यस्तो पो लेख ! साच्चिकै हामी जुन रसायनले मित्र बनेका थियौं, त्यो रसायनलाई उसले निरन्तरता दिएको भए, आज उसले छुट्टै धरातल निर्माण गर्ने थियो । त्यो धरातलमा सगरमाथा खडा गर्ने थियो । एउटा मूर्धन्य साहित्यकार हुने थियो । तर म किन उसको संगत पाएर पनि उसका जस्ता स्वादिष्ट रचना बुन्न सकिनँ ? जब उसको अन्तरहृदयबाट फुटेका भाव रचना बन्छन् । तिनलाई जलप लाउन पर्दैन । ती आफैंले मोतिको परिचय दिन्छन् ।

मलाई लेख्न नछाड है’ भन्ने उ पनि रचनामा अवतरित भए हुन्थ्यो । जसै आज मैले उसले लेखेको पत्र पढे । जसै मेरो मन र मस्तिष्क एकै चोटि हल्लियो । खैर, साह्रै मज्जा र आनन्द लाग्यो । उसले लेखेको पत्रले छाती गर्वले फुल्यो । अविश्मरणीय प्रसंगहरु चलायमान यसरी भए कि अनायस म त्रिचन्द्र क्याम्पसमा पुगें । वि.सं. २०५७/०५८ का दिन स्मृतिमा आइदिए ।


सायद फागुनको महिना हुँदो हो । चितवनका लक्ष्मण खनियाले भने, ‘दिनेशजी ! तपाईलाई म तपाई जस्तै एउटा साथीलाई भेटाउँछु, हिड्नोस् ।’ म पछि लागें । भवनको माथिल्लो तलामा पुगेपछि, एक जना अग्लो, श्यामश्वेत वर्णको, हेर्दा सुगठित र बौद्धिक एकैचोटि लाग्ने कद, अनुहारको व्यक्ति सम्मुख पु¥याएर लक्ष्मणले भने, ‘रमेशजी तपाईलाई एक जना पुरानो साथीसँग भेट्टाउन ल्याएको छु ।’ रमेश अल्मलिए । साथै, उसको कुराले म पनि नराम्ररी अन्यमस्क भएँ ।


‘चिन्नु भो ?,’ उनी तर्फ फर्केर फेरि लक्ष्मण खनियाँले भने । उनी अलि हाँसो मजाक गर्ने स्वभावका रहेछन् । (पछि थाहा भयो ।) त्यति बेला हामी ट्वाल्ट्वाल्ती हे¥यौँ मात्र । ‘उसो भए परिचय गरौँ न त,’ लक्ष्मणले हाँस्दै भने । ‘उहाँ दिनेश बस्नेत घर–पोखरा । तपाई कविहरुका कुरा मिल्छन् भनेर, मैले परिचय गराउन ल्याएको । बाँकी कुरा आफै गर्नोस्,’ भनेर उनी त्यहाँबाट हिडे । बिहानको शित झारेर बाटो हिँडे जसरी हामी आपसमा कुराकानी गर्न थाल्यौं । मेरो बोलिचालीमा रमेशले के पायो कुन्नि । तर रमेशको कुरा गराईमा भलादमी पन र बौद्धिकता पाएँ मैले ।


लक्ष्मणले भने जस्तो उ मेरो पुरानो मित्र साबित भयो । छोटो समयमा नै हामी निकट भयौं । भोलिपल्ट मैले उसलाई एउटा कविता सुनाए । उसले मेरो हैसियतभन्दा गह्र्रौ तारिफ गर्दै भन्यो, ‘तिम्रा कविता र भूपि शेरचनको कविताको शैली ठ्याक्क मिल्छ साथी ।’


एवंरीतले हाम्रो मित्रता चलिरह्यो । त्यही मित्रतको उपज भन्नु पर्छ केही दिनपछि झापाका भाइराजा राईसँग भेट भयो । घरिघरि ‘वास्तवमा’ भनेर थेगो जोड्ने उहाँ निकै मीठो बोल्नु हुन्थ्यो । त्यस्तै मिठास व्यवहारमा पनि थियो । उहाँ साहित्यमा विशेष अभिरुचि राख्नु हुँदो रहेछ । राम्रो कविता लेख्नु हुँदो रहेछ । हामीमा एकअर्काको रचना सुन्ने/सुनाउने थिति बस्यो । जस अनुसार हामी चल्यौ । त्यो ब्याचमा हामी तीन जना ‘कवि’ उपनामले चिनियाैं ।


‘कति साथी त ‘खोइ एउटा कविता सुनौं न’ भन्दै हाम्री छेउ आउँथे । सुनेर मनोरञ्जन लिन्थे । कहिले सुनाउन खोज्दा अनावश्यक बोल्थे । काम लाउँदाको भाँडो, काम नलाग्दा ठाँडोझै । जे होस्। रमेश र भाइराजाको मित्रता जमेको थियो । यति राम्ररी जमेको थियो कि हामी तीन जना ओदानका खुट्टा जस्ता भयौं । अनि ओदान मुनिबाट आगो फुकेर कयौं खाले सपना पकायौ । काठमाडौंमा गर्न सकिने संघर्षका कथा सुनाउँथ्यौ । घरि हाँस्थ्यौ । घरि गम्भीर भएर बोल्थ्यौ, सुन्थ्यौ । हुन पनि भेट भएपछि छुट्टिन नपरोस् जसरी एक अर्काका हिस्सेदार हुन्थ्यौ । कति रमाइला र उदात्त थिए ती दिनहरु ।


बेला पनि कस्तो होला ! हामी गफै गर्नका लागि कहिले कसको कोठामा, कहिले कसको कोठामा पालोशान्ति बस्थ्यौ । एक दिन रमेशको धम्बाराहीको कोठामा बस्दा बेलुका भात खाएपछि गफ गर्न थालेका बिहान पख ३ बजेसम्म पनि गफ सकिएन । ‘सुतौं भो, भोलि बिहान ट्युसन पढाउन जानु छ, रमेशले भनेपछि सुत्यौं । त्यस्ता थियौं, हामी ।


जीवन एउटा चलचित्र हो । रमेश र भाइराजाले काठमाडौँलाई कर्मस्थल बनाउन सके । एनकेन संघर्ष गर्न सक्षम भए । केही हदसम्म सफल पनि भए, म पोखरा आएँ । भौतिक रुपमा टाढा भइयो । तर भावनान्मक रुपमा मित्रता अन्यायमा परेन, बीसको उन्नाइस भएन । रमेश र भाइराजा पोखरा आउँदा मेरो घर आउने, म काठमाडौँ जादा भाइराजा कहाँ जाने, बस्ने उपक्रम चलिरह्यो ।


हो साच्चैँ हो, जीवन एउटा चलचित्र नै रहेछ । हामी तीन जनाको ओदान जस्तो मित्रताको एउटा खुट्टा भाँचियो । सायद दैवको आँखा लाग्यो । भाइराजाजी, जसलाई कोरोनाले लग्यो । साह्रै मर्माहत र वियोगान्त अवस्था सहियो । सहनुको विकल्प रहेन । आजकल रमेश र म भेट्नेबित्तिकै भाइराजाजी कता कताबाट आइहाल्नु हुन्छ । मन धमिलो हुन्छ । अमिलो हुन्छ । त्यो बेला त्रिचन्द्र क्याम्पसमा जोडिएको सम्बन्ध, अर्थात् साहित्यले रोपेको सम्बन्ध हामीबीच आज झ्यांगिएको छ । उ बेला बखत सम्झन्छ । फोन गरिरहन्छ । बरु म अलि कृतघ्न छु । मलाई उ चाहिएको बेला फोन गर्छु । मानौ, मेरो दुःख र समस्याको साझेदार उ बन्नुपर्छ झै लाजकाजै उसले टारिदिनु पर्छ झै । तर पनि बिचरा रमेश सोझो छ । साझो भइकन अतिशय व्यवहारिक छ, त्यसमाथि अनुभवी पनि ।


मभन्दा कान्छो भइकन ४/५ वर्ष जेठो छ जस्तो लाग्छ । कहिँ, कतै व्यवहार र विचारमा चुक्दैन । त्यसैले सानोतिनो गाँठो फुकाउन म उसैसगँ सल्लाह माग्छु । जीवन हो, कहिलेकाँही त पांगाे अठ्याएर चाँबी हराएको जस्तो आपत आईलाग्छु । त्यति बेला म उसको सल्लाहले ढोका खोल्छु ।


म त मर्ने प्रयास गर्दै, यस्तो साथी ! मैले उसलाई यो जिवनमा पाउनु पुर्व जन्मेको सत्कर्मको फल होला । जे होस्, उसको नजरमा म कुन कदकाटीको मान्छे पर्छु, उसले जोख्ने तराजुमा कतिसम्म गह्रौ छु, थाहा छैन । मेरो नजरमा उ सर्वस्व लाग्छ । मनमा राज जमाएको एउटा साथी, कहिल्यै गणनामा नपरेको मित्र । किनभने अक्सर मनमा राजकाज जमाएका मान्छेलाई औला भाँचेर गणना नगरिँदो रहेछ । उ पनि मेरा लागि त्यही कोटीमा पर्छ । त्यही प्रकारले बेहिसाब चलेका छौ हामी ।
न त हिसाब मिलानको जरुरत परेको छ, न त बेरुजुको अनुभति छ ।

तपाईको प्रतिक्रिया