सर्वोच्चमाथिको बादलमा चाँदीको घेरा

मदन भण्डारी २०८० भदौ १५ गते १२:२४

‘सरकार नछोड् एमाले, रगत हामी दिनेछौँ !’
सर्वोच्चको फैसलाको भयंकर विरोध भयो । कार्यकर्ताले सडकमा नारा, जुलुस गरे । कम्युनिस्टले पाएको सत्ता छाड्दैन भनेर प्रमुख प्रतिपक्षी कांग्रेस बेस्सरी डरायो तर प्रधानमन्त्री मनमोहन अधिकारीले सरकारमा टाँस्सिईरहन चाहेनन् । बिरामी उनले सदनमै आएर राजीनामा दिन्छु भने । कांग्रेसले तुरुन्तै भन्ने ढिप्पी कस्यो । मनमोहन अधिकारीले अस्पतालको ओछ्यानबाटै राजीनामा दिएको दृश्य मार्मिक थियो ।


वृद्धभत्ता र आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमले एमालेको ९ महिने सरकार जनप्रिय रह्यो । सर्वोच्चको भदौ १२ को फैसलापछि अदालतले राजनीतिमा अवैधानिक हस्तक्षेप सुरु गर्‍यो । यहीँदेखि त्यो व्यवस्था ढाल्न माओवादी सक्रिय भयो, संसारकै उत्कृष्ट सँविधान च्यात्न कांग्रेस–एमाले मञ्जुर भए । कांग्रेस खोजीखोजी, एमाले रोजीराजी मारिने क्रम सुरु भयो । सर्वोच्चमाथि राजनीतिको कालो बादल मडारिन थाल्यो ।


यसअघि नेपाली कांग्रेसको सरकारमा शेरबहादुर देउवा गृहमन्त्री छँदा प्रहरीको गोलीले आफ्नै घरको झ्यालमा बसेका नाबालक अनिश शाक्य मारिए । जनस्तरबाटै विरोध हुँदा गृहमन्त्रीले गोलीको आँखा हुँदैन भने । आन्दोलन चर्कियो । आन्दोलनरत् संयुक्त जनमोर्चाले प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको राजीनामा माग्यो । मदन भण्डारीले भर्खरै ल्याइएको बहुदलीय व्यवस्थालाई धरापमा पार्न नहुने बताए ।

Advertisement


उनले प्रष्ट भने, ‘गिरिजा हटाउँदाको फिरिजा पनि कांग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो । बहुमत उनीहरुकै छ, नीति, कार्यक्रम उही हुन्छ !’ बहुदलीय व्यस्थाप्रतिको मदन भण्डारीको यो अटल आस्थालाई नेपाली कांग्रेसले पटक्कै मनन गर्न सकेन । मदन भण्डारीको हत्या गिरीजाले गराएको भनेर कांग्रेसीहरु नै चिच्याईरहेका छन् । त्यहाँ अहिले जोइटिँग्रेका जोईहरुको हालीमुहाली छ ।

माओवादीद्वारा हत्या गरिएका कृष्णमोहन श्रेष्ठको सालिकमा माओवादी नेता फूल चढाउँछन् । सुरक्षाकर्मी बुट बजार्दै सलाम ठोक्छन् ।

Advertisement


नीति श्लोकले लोग्नेमान्छेको दुःख पैसो कमाउन नसक्नु हो, त्योभन्दा ठूलो दुःख रोगी हुनु र त्योभन्दा ठूलो दुःख श्रीमतीको माया पाउन नसक्नु हो भनेको छ । राजा राजेन्द्रविक्रम शाहलाई तारानाथ शर्माले ‘स्वास्नीको मुतमा बगेका जोइटिँग्रे’ लेखेका छन् । थोरै दिनअगाडि प्रचण्डले आफूलाई मन नपर्ने मान्छे राजा राजेन्द्र भने । हास्य कलाकार राजा राजेन्द्रमाथिको टिप्पणी भन्ने हाँसो पनि चल्यो ।


समयक्रममा प्रधानमन्त्री प्रचण्ड शेरबहादुर देउवाको ईसारामा ‘नाँच भालू’ भएका छन् । प्रहरी संगठनमा हालै गरिएको अवैधानिक र घोर अनैतिक सरुवाले प्रधानमन्त्री–गृहमन्त्रीको नूर गिर्‍यो । प्रतिपक्षी, मिडिया र बौद्धिक जमातले लोप्पा देखाए । भ्रष्टाचारीमाथि कारवाही हुने विश्वासकाहरु हिस्रिक्क परे । इतिहासका राजा राजेन्द्र रानीको आदेश नभई केही गर्न नसक्ने बताउँथे । पञ्चायत कालको पछिल्लो कालखण्डमा राजा वीरेन्द्र पनि रानी ऐश्वर्यको आदेश पालन गर्न बाध्य थिए । समाजवाद उन्मुख वर्तमान नेपाल सरकारका नयाँ राजाका स्थिति पनि उही छ ।


युवराजहरुको फाइँफुट्टीले पारसलाई धेरै उछिनेका छन् । बाढीले बनाएको बिचल्ली, महंगीको मार र अड्डाअड्डाको घूसखोरीले जनताले पाइरहेको हैरानीप्रति जिम्मेवार पदका कसैलाई किञ्चित चासो छैन । हाम्रा प्रधानमन्त्री चीन जाँदै छन्, भारतीय विदेशमन्त्री नेपाल आउँदै छन् । नेपालमा चिनिया गतिविधि बढ्यो भनेर भारत थर्काउँछ, हाम्रा नेता आफ्नै जागिरको भीख मागिरहन्छन् ।


प्रहरी संगठन, खासगरी अपराध अनुसन्धान बिभाग (सिआइबी) का पदाधिकारीले नक्कली भुटानी शरणार्थी र ललिता निवास काण्डमा प्रशंसनीय काम गरे । टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको पक्राउ बहादुरीको उदाहरण थियो । दासहरुलाई बहादुरी मन पर्दैन । दास मानसिकतबारे चेखबको ‘छेपारो’ कथा प्रशिद्ध छ । पिँजराको सुगा लेख्ने हाम्रा लेखनाथ पौडेलले ‘पिँजराबाट छुटेको सुगा’ पनि लेखेका छन् ।


लामो समय पिँजरामा बसेको सुगा विशाल आकाश देखेर अत्तालिन्छ । जंगलमा भोकभोकै हिँडेर सत्तासीन भएकाहरु जुका जस्तै रगत चुस्न तल्लीन छन् । गाउँलेहरु कथा हाल्छन्, मौरीले गुहे कीरालाई आकासमा उड्ने आग्रह गर्दा ‘आची खान पाइन्छ र ?’ को प्रश्न गर्छ अरे । पूर्व प्रधानमन्त्रीद्वय, भाउजूद्वय र सुन काण्डमा सिबिआइले माओवादी नेतालाई जाक्ने देखिएपछि पदाधिकारीहरु सरुवामा परे ।


मान्छेको बुद्धि भुट्नु, कुट्नु र लुट्नुमात्रै जानेकाहरुलाई टीकापुर काण्डका बेला प्रहरीले हतियार नचलाउनु अचम्म लाग्छ । प्रहरी सहिद परिवारको पीडा सुनेर हाँसो लाग्छ । एक्ली जस्ती शारदाको संघर्ष वाइयात् लाग्छ । सँगुर फोहोरमै रमाउँछ तर मान्छे जूनताराभन्दा माथि जान चाहन्छ । उडी छुनू चन्द्रको उद्देश्य राख्छ । शारदाले अदालतबाट न्याय पाइरहेकै छन् । उनी प्रधानमन्त्री र राष्ट्रपतिबाट भइरहेको अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालत गुहार्न खोजिरहेकी छन् । यस्तै वीरांगनाहरुले नालापानीमा घुएँत्रो र ढुंगाको भरमा काखे बालक पिठ्यूँमा बोकेर दुश्मनसित लडेका थिए ।


माओवादीद्वारा हत्या गरिएका कृष्णमोहन श्रेष्ठको सालिकमा माओवादी नेता फूल चढाउँछन् । सुरक्षाकर्मी बुट बजार्दै सलाम ठोक्छन् । बेचिएका युवाको रेमिट्यान्सले पुलिसकर्मीलाई तलब नपुग्ने भो भनिँदै छ । शान्ति तथा मेलमिलाप आयोग खोई सोधिँदा खोलाले बगायो भन्छन् । यस्तो अवस्थामा पनि श्याम ज्ञवाली/मनोज केसी लगायतका पुलिस अधिकारीले केही भ्रष्टलाई कोक््रयाएर उत्कृष्ट काम गरेका थिए, हत्तपत्त उनीहरुको सरुवा गरियो ।


सेनालाई तथानाम गाली गर्दै नेता गण कार्यपालिका, व्यवस्थापिका र न्यायालयलाई ध्वस्त गर्न कस्सिईरहेकै बेला सर्वोच्चका २÷४ जना न्यायाधीश पनि स्तूत्य बने । ०८० साउन २१ को फैसलामा न्यायाधीशद्वय डा कुमार चँुडाल र अनिलकुमार सिन्हाले भने, ‘जतिसुकै उच्च ओहोदाका भए पनि अपराधीलाई नछोड्नू !’ टीकापुर अपराध काण्डबारे फैसलाको पूर्णपाठमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीद्वारा भनियो, ‘निहत्था पुलिसकर्मीको क्रूर र अमानवीय हत्या गम्भीर अपराध हो !’


तिनै तहका अदालतबाट एउटै फैसला भइसकेपछि त्यसलाई उल्ट्याउने गणतन्त्रका प्रधानमन्त्री र राष्ट्रपति पञ्चायत कालका राजाभन्दा निरंकुश साबित भए । सत्ता स्वार्थको यो अधमताले उनीहरुकै राजनीति पनि स्वाहाको अवस्थामा पुग्यो । संसद खोल्नै पथ्र्यो भने प्रमुख प्रतिपक्षीको सानो मागमा सत्ताधारीले ठूलो बखेडा झिक्नुको कुनै तुक थिएन । अपराध ढाकछोपकै मौका मिलाइएको आशंका बढ्यो । धीरेन्द्र शास्त्रीको नेपाल आगमनमा अनेक आशँका फैलाइयो । पाखण्डहरुले उनलाई ठूलो पाखण्ड देखे । भारतका चर्चित नायक रजनीकान्तले नेता आदित्यनाथको खुट्टा ढोगे, सुनले छोपेर रखैल राख्ने हाम्रा नेताले कुण्ठा पोखे ।


‘साउने झरी कुर्लीकुर्ली भदौ पनि लाग्यो
लाग्छ शरद, हट्छ झरी, किन्तु आँसु झरी भैरह्यो !’

बच्चुकैलासले भनेजस्तै ०८० को भदौ ७ आयो र गयो । गौरा पर्वको हाँसो र टीकापुर पर्वको आँसु मिसियो । २०७२ भदौ ७ का सहिद परिवारको घाउमा राज्यले नूनचुक छर्‍यो । सहिद पत्नी शारदा बोहोराले आँसुको भाकामा भदौ ७ को कारुणिक कथा सुनाइन् । गुरुजीहरु नेताजस्तै धेरै कमाउने होड गर्छन् र जनधनको क्षति भइरहन्छ ।

पोखराकी पत्रकार रोशनीले मान्छेमा जीवनप्रतिको मोह घट्दै गएको संकेत गरिन् । सुशासनको सोँचमा सर्वोच्चले संसद विकास कोष कार्यान्वयन नगर्न आदेश गर्‍यो । फेरि केही न्यायाधीश आशाका किरण बने । भदौ १२ पनि टुप्लुकियो, कांग्रेस र एमालेलाई सर्वोच्च अदालतले आ–आफ्ना अपराध बोध गर्न सघाएको छ । २/४ न्यायाधीशका आँटले सर्वोच्चमाथिकै कालो बादलको छेउ छेउमा चाँदीको घेरा देखिएको छ । आशावादिता मान्छेको प्राण तत्व हो ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया