इगाको साधारणसभामा सम्मान

समाधान संवाददाता २०८० भदौ १९ गते १३:११

पोखरा ।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २० औं वार्षिक साधारणसभा आइतबार भएको छ । सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याएकोमा राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको हो ।


संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रम संयोजन गर्ने वनभोजतर्फ उपाध्यक्ष गोकर्ण लम्साल, सामाजिक उत्तरदायित्वतर्फ कार्यसमिति सदस्य नारायण पाण्डे, प्रवद्र्धनात्मक अवलोकन भ्रमणतर्फ अध्यक्ष ईन्द्रप्रसाद भण्डारीलाई सम्मान गरिएको छ ।
सभामा पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले इम्ब्रोइडरी एन्ड गार्मेन्ट्स एसोसिएसन(एगा)ले पर्यटकलाई उपहार लैजानका लागि नेपालको चिनारी झल्काउने किसिमका समान तयार गरी ठूलो योगदान गरेको उल्लेख गरे ।


कोरोना महामारीसँगै आर्थिक मन्दी लगायतका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुर्नरुत्थानमा राज्यको सहयोग आवश्यक भएको बताउँदै उनले पर्यटन व्यवसायीका समस्या सुनुवाई हुन नसकेको गुनासो गरे । अब बन्दै गरेको प्रदेशको पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रका विषय समेटिनुपर्ने उनको भनाइ छ ।

Advertisement


भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परेको बताउँदै उनले यसले भारतीय पर्यटकको आगमनलाई प्रभावित बनाएको तर्क गरे । निर्माणाधीन पोखरा मुुग्लिन सडक खण्डको ढिलासुस्तीले पोखराको पर्यटन प्रत्यक्ष प्रभावित भएको भन्दै उनले निर्माण कार्यलाई छिटो गराउन सबैको जागरुकता आवश्यक भएको जनाए ।


एगा पोखरा अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले पर्यटकलाई उपहारका सामग्री तयार गरी पठाउँदा यसले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको जनाए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले पर्यटन क्षेत्रको विकासका लागि यकिन तथ्यांक हुनु जरुरी रहेको सुनाए ।

Advertisement


पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले कोरोना, आर्थिक मन्दी लगायतका कारणबाट पर्यटन व्यवसायी संकटमा परेको दाबी गरे । व्यापारका लागि सटर महंगोमा लिनुपर्ने र व्यवसायीले नै कर तिर्नुपर्ने लगायतका अवस्थाका साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदरले व्यवसायी धराशायी बनेको उनको भनाइ छ ।


नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले नेपालको पर्यटकीय चिनारी दिने किसिमका समानबाट विश्वमाझ यहाँको प्रवद्र्धनमा एगाले महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखिन् । कार्यक्रममा एगा सचिव गीता ढकाल पौडेल, उपाध्यक्ष गोकर्ण लम्साल, होटेल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, पत्रकार वासुदेव पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया