लेउवा संघ १४ औ महाधिवेशन

२ वर्षपछि फेरि आमनेसामने

भीमपाणि बराल २०८० भदौ २० गते १०:३९

१३ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा आमनसामने भएका भरतकुमार अधिकारी र विनोदकुमार श्रेष्ठ अहिले फेरि एउटै पदमा उम्मेदवार छन् । सुमनमोहन भट्टराई अध्यक्ष हुँदा अधिकारी र श्रेष्ठ दुवै एकैपटक कार्यसमिति सदस्य बनेर संघ प्रवेश गरेका थिए । अघिल्लो महाधिवेशनमा श्रेष्ठले अधिकारीलाई ५७ मतले पछि पारेका थिए । गत वर्षको निर्वाचनभन्दा पछि २ सयभन्दा बढी सदस्य थपिएका छन् । आआफ्ना प्यानलसहित मैदानमा आएका अधिकारी र श्रेष्ठलाई फरक फरक राजनीतिक दलनिकट व्यवसायीको साथ देखिएको छ ।


मेरो उम्मेदवारीले उत्साह थपेको छः अधिकारी
लेखनाथ उद्योग वाणिज्य संघको २३ गते शनिबार हुने महाधिवेशनमा मैले अध्यक्ष पदमा उमेदवारी दिएको छु । अघिल्लो महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा म केही मतले पराजित हुँदा निरास भएका व्यवसायी मेरो उम्मेदवारीमा उत्साहित भएकाले हारपछि जित हुनेमा म विश्वस्त छु ।


जन्मथलो चितवन भएर पनि कर्मथलो पोखरा र लेखनाथलाई बनाएर २०५१ मा व्यावसायिक क्षेत्रमा भएपछि संघमा २०६६ सालमा कार्यसमिति सदस्य बनेको थिए । उद्योग वाणिज्य संघमा २ कार्यकाल सदस्य, २ कार्यकाल उपमहासचिव, १ कार्यकाल महासचिवमा र एक पटक सल्लाहकार बनेर महत्वपूर्ण योगदान गरेको छु । मेरो उम्मेदवारीलाई उद्योगी, व्यवसायीले सकारात्मक तरिकाले हेरेका छन् ।

Advertisement


उम्मेदवारी दर्तापछि मत माग्ने क्रममा उद्योगी, व्यवसायीलाई कामको मूल्यांकन गरेर सक्षम व्यक्तिलाईसंघमा स्थान दिन अनुरोध गरेको छु । संघमा लामो समयसम्म विभिन्न पदमा रहेर काम गरेको मेरो अनुभवलाई प्रयोग गर्दै यसको आम्दानीले संस्था नै चलाउन मुस्किल परेको समयमा नयाँ आम्दानीका बाटो खोज्नु अपरिहार्य छ । सोको नेतृत्व गर्दै संघलाई अझै बलियो बनाउने हाम्रो अभियान हो ।


हामीले अगाडि सारेका एजेन्डामा विशेष गरी दर्ता नभएका साना तथा मझौला गरी करिब पाँच हजार व्यवसायी रहेकाले उनीहरुलाई दर्ता प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने मुख्य छ । उनीहरुको हकहितको सवालमा नीतिगत रुपमा नै सम्बोधन गर्ने लक्ष्य राखिएको छ । हामीले निर्माण गरेको समूह समावेशी, लैंगिक र क्षेत्रगत रुपका उद्योगी, व्यवसायी जोडिएकाले यो सबल र सक्षम साथीहरुको समूह भएको मेरो दाबी छ ।

Advertisement


स्थानीय सरकारसँग सहकार्य गर्दै यहाँ रहेका तालको उचित किसिमले संरक्षणका योजनालाई अगाडि बढाउँदै सातै ताललाई आयआर्जनको स्रोत बनाउन पहल गर्ने छौँ । यी ताललाई पर्यटन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छु । पोखरा ३३ को पुडिटारमा बन्ने प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माणमा हाम्रो पहलकदमी रहनेछ । स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको समयमा संघले जनप्रतिधिधिको काम गरे जस्तो अहिले संघले विकास, निर्माणका योजनाभन्दा पनि नीतिगत रुपमा काम गर्ने भएकाले व्यवसायी र सामाजिक क्षेत्रमा क्रियाशील हुनेछु ।


पछिल्लो समय देशमा आर्थिक मन्दी देखिएकाले यो विषम परिस्थितिमा व्यवसायीको हकहितका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर संघलाई नयाँ उचाईमा पुर्‍याउनु हाम्रो सक्रियता रहनेछ ।


संघलाई सबैको फूलबारी बनाउँछुः श्रेष्ठ
वर्तमान वरिष्ठ उपाध्यक्षपछि मैले आम व्यवसायीको साझा, समावेशी र संस्थापन पक्षको प्रतिनिधीत्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । अग्रजले देखाएको बाटोलाई अगाडि बढाउने र नयाँ व्यवसायीको चाहनालाई आत्मसात् गदै ‘जहाँ एउटै प्रकृतिका हजारौं फूलका बोट हुन्छन्, त्यो खेती हो । तर सयौं फरक फूलका बोटहरु छन् भने त्यो बगैचा हो’ भने जस्तै मेरो भावी योजनामा संघसँग आवद्ध १ हजार ८ सय ६६ जनाकै फूलबारी बनाउने वचनवद्धता गर्दछु ।


२०६८ मा पूर्वअध्यक्ष सुमन भट्टराईकै जोडबलमा संघमा प्रवेश गरेलगतै ३ कार्यकाल कार्यसमिति सदस्य हुँदै द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र वर्तमान वरिष्ठ उपाध्यक्ष रहेकाले स्वतः अध्यक्षमा उठ्नुको विकल्प थिएन । आम व्यवसायीलाई म सोध्न चाहन्छु–के यस भन्दाका पूर्वअध्यक्षहरुलाई जिताउँदा मेरो मत चाहिएको थिएन ? त्यो बेला म फरक दल विशेषको नहुने, अहिले हुने कसरी ? त्यसैले अब उहाँहरुले ठण्डा दिमागले सोच्नै पर्छ । खोलो तर्ने, लौरो बिर्सने त गर्नु भएन नि । मलाई विश्वास छ, यहाँसम्म जसले ल्यायो, उहाँहरुले भित्री रुपमा विश्वासघात गर्नु हुन्न ।


मतदाता व्यवसायीसँगको भेटघाटमा व्यस्त रहँदा साना व्यापारीलाई कसरी सफल बनाउने, आत्मनिर्भर बनाउने र व्यावसायिक रक्षा कसरी गर्ने भन्ने विषयलाई चुनावी एजेन्डा बनाएको छु । संघले बनाएका भावी योजनालाई अक्षरंश पूरा गर्ने प्रतिवद्धता गर्दछु भने वस्तुगत संघका सवालमा साधारणसभामा पास गरी स्वतः पदेन सदस्य बनाउने योजनअघि सारेको छु ।


समग्र गण्डकी प्रदेशकै आर्थिक तथा सामाजिक विकासका लागि सातै प्रदेशका उद्योग बाणिज्य संघमा भगिनी सम्बन्ध विस्तार गर्दै पुलको रुपमा काम गर्ने, कृषिलाई पर्यटनसँग जोडेर व्यावसायीकरण गर्ने, विभिन्न तालिम, सेमिनार र गोष्ठी गर्ने लक्ष्य छ । यसबाट व्यवसायीको क्षमता अभिवृद्धि, महिला उद्यमीलाई आत्मनिर्भर बनाउने कार्यक्रम चलाइनेछ ।

उद्योगी, व्यसायीमा यसअघि परेका समस्यालाई समाधान गर्न अग्रपंक्तिमा रहेर गरेको योगदानलाई आफ्नो कार्यकालमा निरन्तरता पक्कै दिनेछु । व्यक्तिगत रुपमा यथार्थपरक र स्पष्ट वक्ता हुँ । महत्वकांक्षी नभएका कारण सबै व्यवसायीले मत दिने मेरो विश्वास छ । विभिन्न व्यावसायिक तथा सामाजिक संघ, संस्थाको अध्यक्षदेखि पदाधिकारीमा रही पदीय जिम्मेवारी कुशलतापूर्व पूरा गर्ने मेरो अठोट संघमा अझ उचो हुनेछ ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया