गण्डकीका १८ स्कुलमा ‘विद्यालय नर्स’

राष्ट्रिय समाचार समिति (रासस) २०८० भदौ २० गते १४:०७

गण्डकी ।
गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।


विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्‍याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सो कार्यक्रमबाट टेवा पुगेको बताए ।


‘छोटो समयमै विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ, यसबाट स्वास्थ्य शिक्षा प्रवद्र्धनमा समेत मद्दत पुगेको छ’, उनले भने, ‘बालबालिकाले व्यवहार परिवर्तन र स्वास्थ्यको आधारभूत ज्ञान विद्यालयबाटै पाएका छन् ।’ थप विद्यालयमा कार्यक्रम विस्तारका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको सचिव डा शर्माले जनाए ।

Advertisement


‘सरकारको नीति, बजेट तथा कार्यक्रमले पनि यसलाई समेटेको छ, एकैसाथ धेरै विद्यालयमा लागू गर्न स्रोतले भ्याउने अवस्था नभए पनि कार्यक्रम विस्तार गर्नुपर्नेमा हाम्रो जोड छ’, उनी भन्छन् । विद्यार्थी संख्या धेरै भएका विद्यालय छनोट गरेर कार्यक्रम सञ्चालन गर्ने गरिएको मन्त्रालयका फार्मेसी अधिकृत साजन बरालले बताए ।


मुस्ताङको जनआदर्श, मनाङको प्रकाश ज्योति, म्याग्दीको जनप्रिय, पर्वतको पशुपति, बागलुङको नेपाल मावि र जनजागृति माविमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा छ । स्याङ्जाको पूर्णामृत भवानी, त्रि–सहिद नमूना, कास्कीको सहिद स्मृति आवासीय, भारती भवन, तनहुँको रामशाह, श्रीङ्ग, लमजुङको बागेश्वरी, इशानेश्वर, गोरखाको जीवनज्योति, चतुरमाला, नवलपुरको भानुदय नमूना र भीमसेन आदर्श माविमा सो कार्यक्रम सञ्चालित छ ।

Advertisement


मुस्ताङ, मनाङ, म्याग्दी र पर्वतका एक–एक विद्यालय र अन्य जिल्लाका दुई–दुईवटा विद्यालयमा कार्यक्रम लागू गरिएको अधिकृत बरालले उल्लेख गरे । कार्यक्रमका लागि मन्त्रालयले गत आवमा ५० लाख बजेट विनियोजन गरेकामा यो वर्ष १ करोड बजेट छुट्याएको छ । बागलुङको ताराखोला गाउँपालिका ४ स्थित नेपाल माविका प्रधानाध्यापक उमानाथ अधिकारीले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणदेखि स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन भइरहेको बताए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया