कम्युनिस्ट युद्ध होइन, शान्ति चाहन्छन्ः विप्लव

समाधान संवाददाता २०८० भदौ २४ गते १३:५३

सरकारी पक्षसँग वार्ता सफल भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द (विप्लव) २०७७ फागुन २१ गते सार्वजनिक भए । प्रतिबन्धबाट सार्वजनिक भएपछि भने उनी सक्रिय खुला राजनीतिमा आउन खोजिरहेका छन् । उनी देशका विभिन्न ठाउँमा गएर कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् । पछिल्लो समय भने विप्लव नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चामा छन् । मोर्चाका कार्यक्रममै उनी बारम्बार मोर्चालाई एकीकृत गर्ने र नेपालकै ठूलो कम्युनिस्ट पार्टी बनाउने दाबी गर्दै आएका छन् । यसो त उनी पछिल्लो समय माओवादी केन्द्रसँग नेकपाको एकताको चर्चासमेत छ । समाजवादी मोर्चा, नेपालको कम्युनिस्ट आन्दोलन र नेकपाका एजेन्डाबारे नेकपा महासचिव विप्लवसँग रिखिराम जिसी र फडिन्द्र अकिञ्चनले गरेको कुराकानीः

आन्दोलनको मोर्चामा नेकपा हुँदाहुँदै समाजवादी मोर्चा बन्यो, यसको लक्ष्य के हो ?
समाजवादमा हामी एकदमै क्लियर भएका छौं । जनताले समाजवाद चाहनु भनेको राज्यले स्वीकार्नु हो, स्वीकार्नुपर्छ । कम्युनिस्टहरु युद्धवादी हुँदैनन् । कम्युनिस्ट नै शान्तिवादी हुन् । शान्तिका दूतहरु नै कम्युनिस्टहरु हुन् । तर, फेरि विभेदित दुनिया, उत्पीडित दुनिया, शोषण रहेका दुनियामा चाहिँ कम्युनिस्ट विद्रोही पनि हुन् । विद्रोहका प्रतिनिधि पनि हुन् । सम्भव हुन्छ—हामी शान्तिपूर्ण समाजवादमा जान्छौं; हुँदैन भने जनताका तागतद्वारा पनि यसलाई समाजवादमा पुर्‍याउनुपर्छ ।


बेला बेलामा हामी फुट्नमात्रै होइन, मिल्न पनि जानेका छौं भन्नुहुन्छ । के के कुरा मिल्यो र मोर्चामा जानुभो ?
देशमा जब समस्या आउँछ । विदेशी तत्वहरु, सामाज्यवादीहरु हस्तक्षेप गर्न थाल्न्, सबैको एकता अनिवार्य हुन्छ । त्यसमा त कम्युनिस्टमात्र होइन, सबै शक्तिको कुरा आउँछ । अर्को जनताको अधिकारको कुरा हो । जनताले आफ्नो अधिकारको माग गर्दा र त्यसको नेतृत्व पार्टीहरुले गर्दिउन् र त्यो पनि कम्युनिस्ट पार्टीले गर्दिउन् भन्दा त्यहाँ एकताको पहिलो ढोका खुल्छ ।

Advertisement

सम्भव हुन्छ—हामी शान्तिपूर्ण समाजवादमा जान्छौं; हुँदैन भने जनताको तागतद्वारा समाजवादमा पुर्‍याउनुपर्छ ।

नेकपाको समाजवाद र अरु शक्तिले भन्ने गरेको समाजवादमा फरक छ कि एउटै हो ?
पहिलो कुरा त समाजवाद भन्नु आफैं मा सुखद कुरा हो । पुँजीवादको दबदबा छ संसारमा । नेपालका राजनीतिक शक्तिहरु संसदीय व्यवस्थाबाट हुँदैन भनेर समाजवादमा जानुपर्छ भनेर नीति बनाउनु, विचार बनाउनु र सहमत हुनु निकै सुखद कुरा हो । दोस्रो यो पार्टीको मात्र कुरा होइन, जनताको कुरा हो । नेपाली जनता समाजवाद चाहन्छन्, त्यस कारण पार्टीहरु यसलाई नीतिमा ढाल्न बाध्य छन् ।

Advertisement


तेस्रो कुरा समाजप्रति उत्तरदायी भएर सोच्ने सिद्धान्त हो । जनताका आधारभूत आवश्यकताको राज्यले ग्यारेन्टी लिने गरी नीति निर्माण गर्नु समाजवाद हो । पुँजीवादमा त्यस्तो हुँदैन, गर्नेले गर, मर्नेहरु मर भन्ने छुट छ ।


नेकपाको उदय नै फुटबाट भयो । पार्टी बनेपछि पनि फुट देखियो । अब पार्टी एकताका लागि चाहिँ के कुरा मिल्नुपर्छ ?
पार्टी एकताका लागि छलफल चलिराखेको छ । त्यसका लागि हाम्रो विचा, समाजवादको लक्ष्य मिल्नुपर्छ । लक्ष्यमात्र नभएर जाने मार्ग एउटै हुनुपर्छ । संघर्षका स्वरुप कस्तो हुने, संस्कृति, अर्थतन्त्र कस्तो हुने भन्ने मिल्नु पर्छ । यी कुरा मिले कम्युनिस्टको बीचमा एकता धेरै टाढा छैन ।


पहिले एउटै पार्टीमा हुनुहुन्थ्यो, अहिले पार्टी एकता गर्दा माओवादी केन्द्रले तपाईंलाई महासचिव स्वीकार्न तयार छ भन्ने पनि सुनिन्छ ? के यो सत्य हो ?
पहिलो कुरा मोर्चाको एजेन्डा निर्णयमा पुगेको छ । मोर्चा आधिकारिक कुरा हो । एकताका कुरामा हामी प्रवेश गरिसकेका छैनौं । तर, नीतिगत, सैद्धान्तिक ढंगले सबैले मानेका छौं कि अब माओवादी आन्दोलनको एकता वस्तुगत आवश्यकता भएको छ । त्योमात्रै होइन भविष्यमा कम्युनिस्ट आन्दोलन समेतलाई हामीले एकतावद्ध बनाउनुपर्ने देखिन्छ ।


यो त नीतिगत सिद्धान्तको कुरा भयो । तर, कार्यकर्ता, जनता र नेताहरुको छलफलमा चाहिँ माओवादीहरु मिल्नुपर्छ भन्ने चाहना, सुझाव र आवश्यकताबारे ठूलो छलफल चलिराखेको छ । त्यसअन्तर्गत कमरेडहरुले व्यक्त गर्नुभएको भावना, त्यसलाई सम्मान गर्छु । तर, योचाहिँ टुंगिएको कुरा होइन । आन्दोलनमा लड्न, भिड्दै सँगै आएका हौं नि । त्यस कारण यस्तो भैदिए हुन्थ्यो भन्ने जो जो कमरेडहरुले शुभेच्छा राख्नुभएको छ । त्यो त सम्मानको कुरा हो । तर, निष्कर्षमा पुगेको कुरा होइन ।

जनयुद्धको कमान्डरमध्ये एक हुनुहुन्थो, अब फेरि क्रान्ति आवश्यक छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?
क्रान्तिका उपलब्धि कमजोर हुँदा नयाँ बनेको परिस्थितिअ नुसार क्रान्तिलाई निरन्तर जनतामाझ लग्न नसक्नु हो या विजयी भएको आन्दोलनलाई राजनीतिक रुपले सश्लेषण गर्नु नसक्नु अथवा कमी हुनु यसको कारण हो । जब हामी त्यो कुरालाई बदल्ने विचारहरु, नीतिहरु अगाडि सार्छाैं । हामी जनतालाई विश्वस्त बनाउँछौं ।


आजसम्म सन्तुष्टि छैनन् । जस्तो कि नेपाली विशेषताको समाजवाद भनेका छौं । विचारले क्रान्तिको निर्माण गर्छ । त्यस कारण हामीलाई के विश्वास छ भने अहिलेको संसदीय व्यवस्था दलाल पुँजीवादी व्यवस्थाप्रति जनता असन्तुुष्ट छन् भने यसको समाधान समाजवादतर्फ हिड्छौं, त्यति बेला अर्काे क्रान्तिको विकास हुन्छ जस्तो लाग्छ ।

कहिले तपाईं रहेको, कहिले नरहेको विद्रोहको नेतृत्व गर्ने पार्टीको नाम धेरैपटक परिवर्तन भयो । अहिले तपाईंहरु स्थापना कालको नेकपामा हुनुहुन्छ । यसको तत्कालीन र दीर्घकालीन अर्थ के छ ?
नेपालको परिवर्तनकारी आन्दोलन भनेको कम्युनिस्ट आन्दोलन नै हो भन्ने पहिलो कुरा बुझ्नुपर्छ । दोस्रो कुरा आजको गणतन्त्र, संघीयता जे छ, यहाँसम्म जे परिवर्तन भएको छ । त्यसको नेतृत्व गर्ने कम्युनिस्टहरु हुन् र माओवादीहरु हुन् । तेस्रो कुरा के छ भने चाहिँ दीर्घकालीन ढंगले नेपालको स्वाधीनतालाई सुरक्षित गर्ने हो । र नेपाली जनतालाई सम्पूर्ण तरिकाले अधिकार सम्पन्न बनाउने हो ।


देशको समृद्धिको नेतृत्व कम्युनिस्ट पार्टीको नेतृत्व बाहेकबाट सम्भव छैन । किनकि अन्यत्र दलाल पुँजीवाद हाबी छ । यो कुरा हामी प्रष्ट देख्छौं । अल्पकालीन रुपमा हेर्नुभयो भने पनि परिवर्तनको वाहक कम्युनिस्ट नै हो । दीर्घकालीन रुपमा यो परिवर्तनलाई रक्षा गर्दै निकास दिने पनि कम्युनिस्टले नै हो ।


राजनीतिक रुपमा नयाँ नयाँ दल र स्वतन्त्र शक्तिको उदय भएको छ । यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
योचाहिँ भनेको खासगरी संसदीय व्यवस्थाको असफलता हो । दलाल पुँजीवादी संस्थाले ल्याएको आर्थिक संकट, राजनीतिक संकट छ, त्यो संकटलाई तार्किक ढंगले कम्युनिस्ट र कम्युनिस्टहरुको टाउकोमा हाल्ने कोसिस जुन भयो । त्यो तार्किक कुरामात्रै हो । त्यो तथ्यपूर्ण होइन । तथ्यपूर्ण कुरा के हो भने यो संकट भनेको दलाल पुँजीवादी संस्थाको संकट हो ।

तर, तार्किक ढंगले जुन कम्युनिस्टको विरुद्धमा र एकह दसम्म कांग्रेसमाथि जो हालियो । त्यसपछि नयाँ शक्तिहरु आउने वातावरण बनेको हो । त्यो भनेको प्रतिक्रियात्मक र असन्तुष्टिको एउटा परिणाम हो भनेर हामी भन्न सक्छौं । तर, त्यो फेरि फरक धार होइन, यथास्थितिवादी, व्यवस्था यही ठीक छ भन्ने र अवस्थामात्र फेर्नुपर्छ भन्ने दृष्टि हो । त्यस अर्थमा त्यसमा कुनै नयाँपन छैन ।

तपाईंको पार्टी निर्माण र एकीकृत क्रान्ति कहाँ पुग्यो । यसले उपलब्धि के हाँसिल गर्‍यो ?
पहिलो कुरा क्रान्ति पूर्ण भएको छैन, सत्ता जनताको हातमा आएको छैन । जनता सत्ताको नायक बन्न चाहन्थे, हामी बनाउन चाहन्थ्यौं । तर, बीचमै दलाल पुँजीवादी वर्गले हत्या गरिदियो । तर, सम्पूर्ण शक्ति उसको हातमा पछि छैन । सत्ता सञ्चालनका विभिन्न क्षेत्रमा क्रान्तिकारी या परिवर्तनकारी कम्युनिस्टहरु पनि छन् । यस्तो अवस्था छ ।

त्यो कुरालाई हामीले हिजो भनेका थियौं, यो व्यवस्थामा समाधान हुँदैन । जो सत्य साबित भयो । अहिले सबै जनता कहाँ पुगेका छन् भने संसदीय प्रणाली, अहिले राज्य प्रणाली जुन छ, योचाहिँ चल्दैन । यसले अस्थिरताभन्दा अर्काे ल्याउँदैन भन्नेमा राजनीतिक नेता, कार्यकर्ता, जनता पुगेका छन् । यो हाम्रो सफलता हो ।


दोस्रो कुरा, देशलाई समाजवादतर्फ नलगेसम्म स्थिरता हुँदैन । खासगरी सुदूरवासी, मजदुर, गरिब, श्रमिक जनता, दलित जनजातिको समस्या सम्बोधन जरुरी छ । हामी क्रान्तिको जग बलियो बनाउँदै गएका छौं । भर्खरै हामीले मोर्चा बनाएका छौं । त्योभन्दा ठूलो विशाल मोर्चा बनाउन बहस सुरु भएको छ । के कालागि भन्दाखेरि अहिलेका असन्तुष्टि र अपूर्णतालाई पूर्णता दिन र एउटा परिवर्तन सुनिश्चित गर्न ।

  • अब माओवादी आन्दोलनको एकता वस्तुगत आवश्यकता भएको छ
  • संसदीय व्यवस्थाको असफलताबाट उदाएका नयाँ दलहरु पुरानो धार हुन्
  • १२ कक्षा पढेर पलायन विदेश पलायन रोक्न कानुनी उपाय गरौं

माओवादी विद्रोहअघि नेपाल कृषिमै आधारित थियो । अहिले गाउँहरु युवाविहीन छन्, खेतीयोग्य जमिन बाँझो भइसक्यो । जनशक्ति अभाव हुने अवस्था छ, अर्थतन्त्र पूरै परनिर्भर भएको छ । जनजीविकाको यो पक्षलाई चाहिँ कसरी नियाल्नुभएको छ ?
यो कुरा एकदमै गम्भीर छ । २०६६/६७ पछि माओवादी आन्दोलनमा यो बहस भएको थियो । अहिले निकै नै चर्काे भएको अनुभूति सबैलाई भएको छ । यसमा राज्यले एउटा खालको नीति बनाउनुपर्छ । पलायन भएका दक्ष जनशक्ति नेपालमै रोक्नुपर्छ ।


हामी युवामा जनयुद्धमा लागेका थियौं । नेपालमा हामी साच्चै नै परिवर्तन गरिसक्यौं, समृद्धि देश बनाउने सपनासहित हामी लडिराखेका छौं । अहिलेका हाम्रो छोराछोरीमा केही प्रश्न छन् । तर, त्यो सपना जोगाउन सकिन्छ, बनाउन सकिन्छ । आफ्नो देश नबनाएसम्म कसैको दया, माया र रोजगारले त्यो समस्या हल हुँदैन । त्यस कारण मैले छोराछोरीलाई भनेको छुः राम्रोसँग पढ्नुपर्छ । राम्रोसँग मिहेनत गर्नुपर्छ तर, आफ्नो देशमा छोड्नु हुँदैन । प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, १२ कक्षा पढेर पलायन हुनेलाई रोक्न कानुनी उपाय अपनाउनुपर्छ । राज्य यति लापरवाही हुनु हुँदैन ।

पार्टीलाई चन्दा उठाउने हतियारको रुपमा प्रयोग गरेको भन्ने सुनिन्छ । यस्ता खालका विकृतिलाई कसरी रोक्नुहुन्छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । मैले नवौं महाधिवेशनमा प्रस्ताव पेस गरेको छु । त्यो पास पनि भइसकेको छ । चन्दालाई निजी जीवन धान्ने साधन बनाउन दिनु हुँदैन । पार्टीलाई निजी स्वार्थ पूर्ति गर्ने साधनको रुपमा बनाउनु हुँदैन । पार्टी जनताको सेवा गर्ने साधन हो । पार्टी भनेको देशको नेतृत्व गर्ने अभिभावक हो । त्यसलाई निजी स्वार्थमा दुरुपयोग गर्न हुँदैन भन्नेमा हामी एकदमै सचेत छौं । दोस्रो कुरा हाम्रो पार्टी आत्मनिर्भरताको सिद्धान्तलाई आत्मसात गर्छ । हाम्रा सयौं नेता तथा कार्यकर्ता खानाका लागि चन्दा माग्नु नपर्ने ठाउँमा आइपुगेका छौं । कम्तीमा हाम्रो कार्यालय, मुख्य मुख्य नेताहरुमा अहिले त्यो छैन ।


हामीले ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउने लक्ष्य राखेका छौं । हामी गर्छौं नै । नेताहरु मुक्त हुँदै हुनुहुन्छ, त्यसपछि गएर तत्लो तहमा मुक्त हुँदै हुनुहुन्छ र तुरुन्तै हामी सक्दैनौं, ३ वर्षको लक्ष्य छ । अर्को महाधिवेशनसम्म चन्दामुक्त बनाउँछौं । भातका लागि है, पार्टी चलाउनका लागि चाहिन्छ । आफ्नो ज्यान पाल्नका लागि र परिवार पाल्नका लागि चन्दाका कुरा टोटल हामी बन्द गर्छाैं । त्यो चाहिँ हाम्रो प्रतिबद्ध छ ।


त्यसो भएर हामीले ढोका पनि खोलेका छौं उत्पादनमा । हामीले पहिले २५/३० बिघामा खेती गरेका थियौं, त्यो बढेर ६० बिघा पुगेको थियो । कार्यकर्ताको उत्साहपूर्ण सहयोग र सर्मथनले अहिले १ सय १० बिघामा पुगेका छौं । त्यसलाई हामीले बढाउन सक्यौं भने राज्यसँग तालमेल मिल्यो अथवा अन्य विभिन्न संस्थासँग तालमेल भयो आउँदो समयमा निकै बढ्नेछ । यसले जनतालाई नेतृत्व गरेको छ भन्ने हाम्रो बुझाइ हो । यस कारण चन्दा देखाउने बाहना पनि बनेको छ । कमजोरी पनि छन् । कमजोरीमा हामीले चेक गर्छौं । जसले बाहाना बनाउछन् । रुपान्तरण गर्ने कुरा हो ।

तपाईको प्रतिक्रिया