आइएनएफमा आवद्ध बेलायती चिकित्सकलाई स्वास्थ्य पुरस्कार

समाधान संवाददाता २०८० भदौ २७ गते १२:३९

पोखरा ।

विगत दुई दशकदेखि आइएनएफ नेपालमा आबद्ध भई कर्णाली क्षेत्रमा प्रसूति तथा फिस्टुला सम्बन्धी सेवा प्रदान गर्दै आइरहेकी बेलायती नागरिक स्त्रीरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. शर्ली हेउड ११ औं स्वास्थ्य पुरस्कारबाट काठमाडौंमा हालै आयोजित समारोहमा सम्मानित भएकी छिन् ।


नेपाल लाइभ ग्रुपद्वारा प्रकाशित स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष स्वास्थ्य पुरस्कार ‘हेल्थ अवार्ड’ प्रदान गर्दै आएको छ । यसपटकको स्वास्थ्यखबर हेल्थ अवार्ड दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गरिएको छ । यस वर्षको पुरस्कार दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित थियो ।

Advertisement


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन् । डा. शर्ली हेउड स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विधा अन्तर्गत पुरस्कृत भएकी हुन् । उनीसँगै सोही विधामा पुरस्कृत हुनेमा जर्मन नागरिक डा. आर्ने ड्रयुज छन् ।


डा. शर्लीले कर्णाली प्रदेशमा आइएनएफको फिस्टुला सम्बन्धी कार्यको नेतृत्व गर्छिन् । सन् २००३ मा आइएनएफसँगको यात्रा सुरू गर्दै गर्दा उनले कर्णालीमा पहिलोपटक पाहिला टेकेकी थिइन् । त्यहाँका महिलाहरुले भोग्नु परेको स्वास्थ्य समस्याबारेमा साक्षात्कार हुने मौका पाएकी थिइन् ।

Advertisement


उनले मुगुको एउटा स्वास्थ्य शिविरको दौरान एकजना किशोरी भेटेकी थिइन् । ती किशेरीको १३ वर्षकै उमेरमा विवाह भएको थियो । उनले विवाहको एक वर्षपछि तीन दिनको सुत्केरी पीडापछि मृत बच्चा जन्माएकी थिइन् । ती किशोरीलाई प्रसव फिस्टुला भएको थियो । प्रसव फिस्टुला लामो र कठिन सुत्केरी व्यथाका कारण पिसाव थैली वा पिसाव नली वा आन्द्रामा प्वाल पर्न जाँदा हुन्छ ।

प्रसव फिस्टुला भएपछि महिलाहरु पिसाव नियन्त्रण गर्न सक्दैनन् र लगातार रुपमा दिनरात पिसाव वा दिसा योनीमार्गबाट बग्दछ । यसरी प्रसव फिस्टुलाबाट पीडित महिलाहरु छिछि र दुरदुरको सिकार हुन्छन् ।

तपाईको प्रतिक्रिया