पश्चिमाञ्चल अस्पतालले आकस्मिक बिदामा सेवा दिने

समाधान संवाददाता २०८० भदौ २७ गते १४:४०

पोखरा ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आकस्मिक रुपमा घोषणा भएका सार्वजनिक विदाका दिनमा सेवा यथावत राख्ने निर्णय गरेको छ । सरकारबाट पूर्व प्रकाशित सार्वजनिक बिदाहरु बाहेक, आकस्मिक बिदामा पूर्व निधारित अपरेशन, एम आर आई, सिटी स्क्यान लगायत महत्वपूर्ण नियमित सेवाहरु सुचारु राख्ने अस्पतालले बताएको छ ।


अस्पतालका अनुसार बिदाका दिनमा सेवा प्रवाह गरे वापत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले १ दिन बराबरको अतिरिक्त पारिश्रमिक पाउनेछन् । बिदाले बिरामी प्रभावित हुने तथा बिरामीको जाँच तथा उपचारमा सहजता ल्याउने उद्देश्यले सेवा यथावत रहने अस्पतालले जानकारी दिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको अन्त्येष्टीका दिन बिहीबार (भोली) सरकारले सार्वजनिक बिदा दिएको छ । भोली सार्वजनिक बिदा भएपनि अस्पतालका सेवा सञ्चालन हुनेछन् । नेम्बाङकाे बालुवाटारस्थित निवासमा मंगलबार बिहान हृदयघात भएपछि नेम्बाङको निधन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया