लेंक लागेकालाई मुक्तिनाथमै उपचार

समाधान संवाददाता २०८० भदौ २९ गते ९:२३

जोमसोम—हिन्दु तथा बौद्धधर्मालम्बीहरुको साँझा तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ मन्दिरमा ‘हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर स्थापना भएको छ । मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकको आकस्मिक उपचारका लागि चालु वर्षको पुस महिनामा मुक्तिनाथ मन्दिरमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर स्थापना गरिएको हो ।
मुक्तिनाथमा मन्दिर ट्रिटमेन्ट सेन्टर स्थापनाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुस्ताङ अस्पतालले संयुक्त पहल गरेका हुन् । बेसीबाट अग्लो उचाईमा आउने धार्मिक पर्यटकलाई हाईअल्टिच्युड हुँने सम्भावना रहन्छ । समुन्द्री सतहदेखि ३८ सय मिटरको अग्लो उचाईमा अवस्थित मुक्तिनाथ क्षेत्रमा जाने पर्यटकलाई हाईअल्टिच्युडको लाग्ने गरेको पाईएको छ । पहाड ,तराई र विशेष गरी भारतीय पटक विना स्वास्थ्य परीक्षण नगरी एकचोटी हतार हतार गरी मुक्तिनाथ जाँदा हाईअल्टिच्युड लाग्ने गरेको हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा खटिएका हेल्थ असिसटेन्ट तिलप्रसाद बुढामगरले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्रमा जाने धार्मिक पर्यटकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै चालु वर्ष ५ लाख बजेट विनियोजन गरेको जनाईएको छ ।यसैगरी प्रदेश स्वास्थ्य मन्त्रालय मुक्तिनाथ हाईअल्टिच्युडका लागि मुस्ताङ अस्पताललाई १० लाख र स्वास्थ्य कार्यालय मुस्ताङलाई ७ लाख बजेट विनियोजन भएको मुस्ताङ अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिसटेन्टका लागि भक्ता र अन्य प्रयोजनमा खर्च गर्न बजेट उपलब्ध गराएको हो । मुस्ताङ अस्पतालले करारका एक स्वास्थ्यकर्मीलाई मुक्तिनाथ हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा खटाएको सूचना अधिकारी बस्नेतले उल्लेख गरे ।
यस्तै, मुक्तिनाथ हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरका लागि मुस्ताङ अस्पतालले जनशक्तिका साथै अक्सिजन सिलिन्डरसहित मेडिकल औषधिहरु उपलब्ध गराएको उनको भनाई छ ।
प्रदेश सरकारबाट विनियोजित बजेटले थप उपकरण खरिद,औषधि र अन्यमा खर्च गरिने सूचना अधिकारी बस्नेतले जनाए ।
यसैगरी हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरका लागि विनियोजन गरिएको रकम तालिम र सामाग्री खरिद लगायतमा खर्च गरिने कार्यालय प्रमुख राम नेपालीले जानकारी दिए ।

यसअघि मुक्तिनाथ क्षेत्रमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर नहुँदा मुक्तिनाथमा अल्टिच्युड लागेका बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो ।सदरमुकाम जोमसोम र मुक्तिनाथको दुरी २१ किमी बढी भएकाले उपचारका क्रममा अस्पताल ल्याउदा ल्याउदै अल्टिच्युडका बिरामीले ज्यान गुमाउनु पथ्र्यो । मुक्तिनाथ परिसर भित्रै ट्रिटमेन्ट सेन्टर स्थापना भएपछि हाईअल्टिच्युडबाट मृत्यु हुने जोखिम टरेको हो । सेन्टर स्थापना भएपछि अल्टिच्युडका बिरामीले मात्र होईन मुक्तिनाथमा आकस्मिक चोटपटक लागेका बिरामीलाई पनि तत्काल उपचार गर्न सहज भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए ।
मुस्ताङ आउने पर्यटकलाई हाईअल्टिच्युड सम्वन्धि सचेतना मुलक जानकारी नहुँदा समेत बर्सेनि हाईअल्टिच्युड लागेर मृत्यु हुने क्रम बढेको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा करिव डेढ दर्जन भारतीय,नेपाली र विदेशीले अल्टिच्युडका कारण ज्यान गुमाएका थिए । मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक र राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आएका पर्यटकलाई अल्टिच्युड लाग्ने गरेको मुस्ताङ अस्पतालले जनाएको छ ।
मुस्ताङ आउने पर्यटकहरु विशेष गरी स्वास्थ्य अवस्था कमजोर भएका,उमेर बढी भएका र दीर्घ रोगका बिरामीलाई हाईअल्टिच्युडको जोखिम बढी हुँने बताईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया