मुस्ताङको घरपझोङमा ‘कृषि तथा पर्यटन’ विकासका लागि महोत्सव आयोजना हुँने

समाधान संवाददाता २०८० असोज ६ गते १४:५०

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘कृषि तथा पर्यटन’महोत्सव आयोजना गर्ने भएको छ ।मुस्ताङमा उत्पादित कृषि उपजको प्रर्दशनी तथा प्रर्वद्धन, मुस्ताङको धार्मिक कलासंस्कृति,मौलिकता,स्थानीय रहनसहन र पर्यटनमैत्री जिल्लालाई आम पर्यटक सामु परिचित तुल्याउन मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयले असोज १८ देखि २० गतेसम्म प्रथम ‘कृषि तथा पर्यटन’ महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव सम्वन्धि जानकारी दिन र महोत्सवका लागि जिल्ला स्थित स्थानीय संञ्चार माध्यम र पत्रकारहरुबाट प्रसार÷प्रसार गराउने उद्देश्यले शनिबार घरपझोङ गाउँपालिकाले पत्रकार सम्मेलन आयोजना गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा उत्पादित कृषि उपजलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजार प्रर्वद्धन गरी कृषि उत्पादनलाई व्यवसायिक बनाउन र मुस्ताङ जिल्लामा बढी भन्दा बढी पर्यटकलाई यहाँको समग्र विषयवस्तुको जानकारी दिएर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजनाको तयारी भईरहेको जानकारी दिए । यसका लागि विभिन्न समिति र उपसमिति गठन भईसकेको अध्यक्ष लालचनले बताए । कुनै पनि कार्यक्रम सफल बनाउन मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण हुँने उल्लेख गर्दै अध्यक्ष लालचनले घरपझोङको कृषि तथा पर्यटन महोत्सवको प्रचार प्रसार गरी महोत्सव सफल बनाउन स्थानीय पत्रकारहरुलाई अनुरोध गरे ।

घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले कृषि र पर्यटन आर्थिक समृद्धिको मेरुदण्ड रहेको उल्लेख गर्दै कृषि र पर्यटनको विकास बिना आर्थिक समृद्धि हासिल नहुँने बताईन । कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउन र पर्यटकहरुलाई मुस्ताङतर्फ आर्कर्षित गराउन महोत्सव आयोजना गर्न लागिएको उपाध्यक्ष थकालीले उल्लेख गरिन् ।

Advertisement

घरपझोङले आयोजना गर्ने कृषि तथा पर्यटन महोत्सवमा स्थानीय भेषभुषा चिनाउने,स्थानीय उत्पादनको प्रचार÷प्रसार,सूचनामूलक कार्यक्रम र पर्यटन र कृषि लक्षित स्टल रहने प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए ।

घरपझोङ गाउँपालिकाको ‘कृषि तथा पर्यटन महोत्सव २०८०’ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । सो अवसरमा मुख्यमन्त्री पाण्डेयले घरपझोङ गाउँपालिकको नवनिर्मित प्रमुख प्रशासकीय भवन र आपत्कालिन भवनको उद्घाटन गर्ने बताईएको छ ।

Advertisement

कृषि अन्तर्गत घरपझोङ गाउँपालिका स्तरीय कृषि उपज प्रर्दशनी,स्थानीय हस्तकलाको प्रर्दशनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामाग्रीहरुको प्रर्दशनी स्टल राखिने भएको छ ।

महोत्सवमा गाउँपालिकाले प्रवाह गर्ने सेवाहरु बारे जानकारी, कृषि बाली तथा तरकारी र फलफुल लगायतका सूचना केन्द्र,स्थानीय कलासंस्कृति झल्किने प्रर्दशनी, स्थानीय मौलिक झाँकी,स्थानीय रैथानेबालीका परिकारको स्टल,खुल्ला तारा र खुल्ला भलिबल खेलहरु समावेश गरिएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुबाट दोहोरी साँझ र स्वास्थ्य परीक्षण केन्द्र संञ्चालन गरिने बताईएको छ

घरपझोङ गाउँपालिकाद्धारा आयोजित खुल्ला तारा खेलको विजेताले नगद ५० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाउँनेछन् । उपविजेताले नगद २५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाउँनेछन् । खुल्ला भलिबलतर्फको च्याम्पियनले नगद १ लाखसहित शिल्ड,मेडल र प्रमाणपत्र पाउँनेछन् । उपविजेताले नगद ५० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाउँनेछन् ।

तपाईको प्रतिक्रिया