गोरखा नगरपालिका र गोरखा अस्पताल उत्कृष्ट

समाधान संवाददाता २०८० असोज १७ गते ११:१०

पोखरा ।
गोरखा नगरपालिका र गोरखा अस्पताल सेवा प्रवाहमा गण्डकी प्रदेशमा उत्कृष्ट भएका छन् । सोमबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा ८५ वटा पालिकामध्ये गोरखा नगरपालिकाले ७७ दशमलव ७ अंक प्राप्त गरी प्रथम भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरबाबु रेग्मीले बताए ।

दोस्रो भएको म्याग्दीको बेनी नगरपालिकाले ७५ दशमलव १ र तेस्रो भएको मध्य नेपाल नगरपालिकाले ७२ दशमलव २ अंक प्राप्त गरेका छन् । प्रदेशभरका १२ अस्पतालमध्ये गोरखा अस्पताल कार्यसम्पादन मूल्यांकनमा प्रथम भएको छ । गोरखा अस्पतालले ६४ प्रतिशत अंक प्राप्त गरेको छ भने दोस्रो भएको मध्य बिन्दु अस्पतालले ६१ प्रतिशत र तेस्रो भएको धौलागिरि अस्पतालले ५४ दशमलव २ प्रतिशत अंक पाएका छन् ।


गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयले पालिकाहरूले गरेको स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनको गरिएको मन्त्रालयको स्वास्थ्य तालिम केन्द्रका प्रमुख रमेश अधिकारीले जानकारी दिए । जसमा सुरक्षित मातृत्व, खोप, परिवार नियोजन र महामारी नियन्त्रण लगायतका कार्यक्रमलाई विभिन्न सूचक आधारमा मूल्यांकन गरिएको थियो ।

Advertisement


यस्तै, जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयमध्ये उत्कृष्ट भएको छ । कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार कास्की पहिलो बनेको हो ।


गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो । उत्कृष्ट अस्पताल, स्वास्थ्य शाखाहरुलई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मा लगायतले पुरस्कृत गरे ।

Advertisement


स्वास्थ्य कार्यालय लमजुङ द्वितीय र स्वास्थ्य कार्यालय पर्वत तृतीय बनेका छन् । प्राविधिक कार्य समूह अन्तर्गतको उपसमितिले विभिन्न मापदण्ड र सूचकका आधारमा उत्कृष्ट अस्पताल र स्वास्थ्य कार्यालय छनोट गरेको उपसमितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गण्डकीमा प्रदेशस्तरीय कार्यालय ६, स्वास्थ्य कार्यालय ११, अस्पताल ११ र आयुर्वेद कार्यालय ११ गरी ३९ निकाय छन् ।

तपाईको प्रतिक्रिया