जोमसोममा आयोजित भलिबलमा मार्फा र आर्चरीमा म्याग्दी च्याम्पियन बने

समाधान संवाददाता २०८० असोज २० गते २१:१२

जोमसोम—मुस्ताङमा शनिबार सम्पन्न ‘ प्रथम कृषि तथा पर्यटन महोत्सवको खुल्ला भलिबल प्रतियोगिता तथा आर्चरी प्रतियोगितामा मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा र म्याग्दीको कर्माकेली टिम च्याम्पियन बनेका छन् । महोत्सव अन्र्तगत घरपझोङ गाउँपालिकाद्धारा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा मुस्ताङको मार्फाले मुस्ताङ टाईगर टिमलाई सोझो सेटमा फाईनलमा हराउँदै च्याम्पियन बनेको हो । आर्चरीतर्फ म्याग्दीको कर्माकेलीले १४४ अंकले समेट्दै च्याम्पियन बनेको हो ।
घरपझोङ गाउँपालिका कार्यालय परिसरमा संञ्चालन गरिएको खुल्ला भलिबल प्रतियोगितामा विभागीय टिमसंगै कुल १० टिमको सहभागिता रहेको थियो । शनिबार सम्पन्न प्रथम कृषि तथा पर्यटन महोत्सवको अवसरमा संञ्चालित शनिबार सम्पन्न खुल्ला भलिबलको फाईनलमा मुस्ताङको मार्फाले मुस्ताङ टाईगर टिमलाई सोझो ३ सेटमा हराउँदै उपाधि चुम्न सफल भएको हो । योसंगै मुस्ताङ टाईगर टिम उपविजेतामै चित्त बुझायो ।


यसअघि खुल्ला भलिबलको सेमी फाईनलमा विभागीय टिम आर्मी भर्सेस मुस्ताङ टाईगर र मार्फा भर्सेस कोवाङको टिम आमने सामने भएका थिए । सेमी फाईनल खेलमा मुस्ताङ टाईगरले विभागीय टिम आमीलाई र मार्फाले कोवाङ टिमलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।
यसैगरी आर्चरी प्रतियोगितातर्फ कर्माकेली टिम म्याग्दीले १५ डोरको १५० पूर्णाङ्कमा १४४ अंक हासिल गर्दै प्रथम घरपझोङ कृषि तथा पर्यटन महोत्सव २०८० को आर्चरी च्याम्पियन बनेको हो । आर्चरीतर्फ कुल ६ टिमको सहभागिता रहेकोमा मुस्ताङको थासाङ—२ कालिबराह टिमले १३२ अंक समेट्दै उपविजेता बन्यो ।
आर्चरी प्रतियोगितामा प्रत्येक टिमबाट ५ जना खेलाडी खेल्न पाउने व्यवस्था गरिएको थियो । प्रत्येक खेलाडीले १० पटक १५ डोरसम्म आर्चरी प्रहार गर्न पाउने प्रावधान राखिएको थियो ।

प्रतियोगिता अन्र्तगतको खुल्ला भलिबलतर्फको च्याम्पियनले नगद १ लाखसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र हात पारे भने उपविजेता मुस्ताङ टाईगर टिमले नगद ५० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाए । यसैगरी आर्चरी च्याम्पियनले नगद ५० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरे । खुल्ला भलिबल र आर्चरी विजेता र उपविजेता टिमलाई घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली लगायतले नगद ,शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

Advertisement


कृषि तथा पर्यटन क्षेत्रको प्रर्वद्धन ,प्रचार प्रसार ,बजारिकरण गर्दै मुस्ताङ जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको प्रथम कृषि तथा पर्यटन महोत्सवमा घरपझोङका सर्वोउत्कृष्ट कृषकहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । महोत्सवका अवसरमा आयोजित कृषि मेला प्रर्दशनतर्फ कुल ७ विधाका कृषकहरुलाई मूल्यांकनको आधारमा पुरस्कृत गरिएको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए । उनका अनुसार फलफुलतर्फ स्थानीय जातका स्याउ,उच्चघनत्वको स्याउ,जमिनमुनी उत्पादन हुने मुस्ताङी लोकल सेतो आलु,अन्नबालीतर्फ फापर,लहरेबाली,जरेबाली र तरकारीबालीका सर्वोउत्कृष्ट प्रथम,द्धितिय र तृतीय स्थान हासिल गर्ने कृषकहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको हो ।
महोत्सव अन्र्तगत घरपझोङ गाउँपालिकामा अन्र्तगत एसईई परीक्षा २०७९ मा साधारण तथा प्राविधिकधारतर्फ सर्वोउत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई नगद १० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । यसैगरी महोत्सवमा सर्वोउत्कृष्ट झाँकी,सर्वोउत्कृष्ट स्टल व्यवसायी तथा संघसंस्थालाई सम्मान गरिएको छ ।
मुस्ताङमै पहिलो पटक आयोजना गरिएको कृषि तथा पर्यटन महोत्सवको समापन समारोहमा जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङले मुस्ताङ जिल्ला धार्मिक तथा सांस्कृतिक विविधताले महत्वपूर्ण जिल्लाको रुपमा रहेको उल्लेख गरिन् । मुस्ताङ कृषि तथा पर्यटनको प्रचुर संम्भावना रहेकाले यसको प्रर्वद्धन र विकासमा घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन महोत्सव आयोजना गरेर सह्रानीय भूमिका निर्वाह गरेको उल्लेख गरिन् ।


यस्तै, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले प्रतिकुल मौसमका बावजुद सबै सरोकारवाला निकायहरुको सामुहिक प्रयासले कृषि तथा पर्यटन महोत्सव २०८० सफल भएको दावी गरे । उनले महोत्सव सफल बनाउन सहयोग पू¥याउने सबै निकायप्रति धन्यवादसहित आभार व्यक्त गरे । उनले मुस्ताङको घरपझोङ गाउँपालिकाले सुन्दर र भव्य प्रशासकीय भवन निर्माण गरेको र भवन जस्तै जनताको सेवा प्रवाह र विकास पूर्वाधारकार्यलाई पनि सुन्दर बनाउन प्रयत्नरत रहने प्रतिवद्धता जनाए ।

Advertisement


घरपझोङ गाउँपालिकाले महोत्सव मार्फत मुस्ताङका रैथानेबालीको प्रर्वद्धन गर्न र बढी भन्दा बढी पर्यटक मुस्ताङमा भित्र्याउने उद्देश्यले प्रथम घरपझोङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरेको हो । महोत्सवमा मुस्ताङमा उत्पादित फलफुल तथा तरकारीहरुरुको प्रशोधित सामाग्रीहरु महोत्सव अवलोकन गर्ने पर्यटकहरुलाई जानकारी तथा बिक्री वितरण गरिएको थियो ।
मुस्ताङको जोमसोममा आयोजित महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त लोक दोहोरी कलाकारहरुबाट खुल्ला दोहोरी साँझ संञ्चालन गरिएको थियो ।कलाकारहरुले मुस्ताङको धार्मिक,सांस्कृतिक र जैविक विविधता झल्किने कृषि र पर्यटन लक्षित दोहोरी गित प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
करिव १० हजार बढी पर्यटक तथा स्थानीयले घरपझोङ कृषि तथा पर्यटन महोत्सव अवलोकन गरेको घरपझोङ गाउँपालिकाले बताएको छ ।

फोटो क्याप्सन ः
घरपझोङ कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भलिबलमा मुस्ताङको मार्फा र आर्चरीमा म्याग्दीको कर्माकेली च्याम्पियन । साथै अन्य तस्विरहरु ःसुन्दरकुमार थकाली ।

तपाईको प्रतिक्रिया