चुँडिएकाे बिजुलीकाे तार जाेड्न २४ घण्टा

प्राधिकरणदेखि उपभोक्तासम्मलाई सास्ती

सञ्जय रानाभाट २०८० असोज २४ गते ११:१५

सञ्जय रानाभाट, पोखरा ।
सोमबार दिउँसो ३ बजेदेखि पोखराको एक क्षेत्रमा बिजुली गयो । पोखरा १० रामबजार र वडा नं. १४, १५ देखि १७ सम्मका धेरै ठाउँमा राति पनि बिजुली आएन । मंगलबार बिहानसम्म पनि बिजुली नआएपछि सर्वसाधारणको दैनिकी प्रभावित भयो ।


बिजुली गएपछि धेरै मानिसले मोबाइलसमेत चार्ज गर्न पाएनन्, सञ्चार सम्पर्कबाट पनि बञ्चित भए । समाधानले आफ्नो फेसबुक पेजमा प्रतिक्रिया आह्वान गर्दा सबैभन्दा पहिलो दुर्गा भण्डारीले लेखिन्–मोबाइलमा चार्ज भए पो कमेन्ट गर्ने ? त्यहाँ भएकाले । राधी कँडेलले लेखेकी छन्ः पानी तान्न समस्या । हो, बिजुली नआएपछि धेरैले घरको धुरीमा रहेको टंकीसम्म पानी चढाउन पाएनन् । पानी नभएपछि भान्छादेखि शौचालयसम्म प्रभाव देखियो ।


त्योभन्दा अझै अस्पतालहरुको सेवा पनि प्रभावित बन्यो । मंगलबार दिउँसो बिजुली मर्मत भइरहेको ठाउँमा पुग्दासमेत सर्वसाधारणको चासो प्रष्ट देखिन्थ्यो । पोखरा १० रामबजारमा रहेको नरहरि प्याथ ल्याबका सञ्चालक जयराम आचार्य बिजुली मर्मत भइरहेको ठाउँमै थिए । सोमबार बिहान जाँच गरिएका बिरामीको रिपोर्ट निकाल्ने क्रममा बिजुली गयो । सोमबारको रिपोर्ट मंगलबारसम्म पनि दिन नसकेपछि आफू आएको उनले सुनाए ।

Advertisement


बिजुलीकै कारणले ल्याबमा आउने बिरामी प्रभावित भएको उनले सुनाए । ‘सेवाग्राहीले मार्न लागिसके । बिहानै चेकजाँच गरेका बिरामीको रिपोर्ट निकाल्ने क्रममा बिजुली गएपछि काम गर्न सकिएन,’ उनले भने, ‘दिउँसो गएको लाइन १÷२ घन्टामा आउला भन्ने सोचियो । बिहान उठ्दा पनि लाइन आएन ।’

सोमबार दिउँसो खानेपानीको पाइप निकाल्ने क्रममा बिजुलीको तार चुँडिएपछि सरोकारवालको ध्यान मर्मतमा भन्दा अन्यन्त्रै जाँदा लामो समय लाइन बनेन

Advertisement


उनले विद्युत प्राधिकरणमा कारण बुझ्न ५४ पटकभन्दा बढी फोन गरे । ‘के कारण यति लामो बत्ती गयो । जानकारी लिन ५४ पटक फोन गरे । तर, फोन कसैको उठेन । अनि सोध्दै बत्ती बिग्रिएको ठाउँमा आएको हुँ,’ उनले भने ।


नेपाल खानेपानी संस्थानले सडकमा गाडिएको पुरानो पाइप निकाल्ने क्रममा सोमबार दिउँसो पोखरा १० शिवचोकमा रामबजार फिडरको अन्डरग्राउन्ड केबुल चुडियो । समयमा केबुल जोडिन नसक्दा पोखराको एउटा क्षेत्रमा २४ घण्टा लाइन गयो । लाइन मर्मत भइरहेको ठाउँमा पुग्नेको भीडमा थिए–अन्नपूर्ण अस्पतालको फार्मेसीका खेमबहादुर गुरुङ । उनले राज्यका निकायले काम गर्न नसक्दा २४ घन्टासम्म अन्धकारमा बस्नु परेको र अनेक खालका सास्ती भोग्नु परेको आरोप लगाए । ‘जेनरेटर हुनेले त काम गरे होला । प्राधिकरणले नै ढिला गरेपछि कसको के लाग्छ,’ उनले प्रश्न गरे ।


सोमबार दिउँसोदेखि गएको बत्ती मंगलबार दिउँसो ३ बजेमात्र आयो । प्रभावित क्षेत्रका व्यवसायी सुजल डेरीका डिलर घनश्याम न्यौपानेले विद्युत् मर्मतमा प्राधिकरणको चरम लापरबाही भएको दाबी गरे । । २४ घन्टासम्म पनि लाइन नआउँदा आफूले बिक्री गरेको ७÷८ लाख रुपैयाँको लबड आइसक्रिम नोक्सानी भएको उनले सुनाए । ‘सोमबार प्राधिकरण बत्ती बनाउनतिर लागेन । मंगलबार पनि बिहान १० बजेबाट मात्रै सुरु गर्‍यो । एउटा केबुल जोड्न २४ घण्टा लाग्यो,’ उनले भने ।


यति लामो समय बिजुली नहुँदा विद्युत् प्राधिकरणलाई करोडौं नोक्सानी भएको पोखरा वितरण प्रमुख राजीव सिंह बताउँछन् । उनले खानेपानी संस्थाको लापरबाहीले गर्दा आफूहरुले दुख पाएको सुनाए । ‘खानेपनी संस्थानले विकास, निर्माणका काम गर्दा समन्वय नै गर्दैन । सडकमा गाडिएको पोलदेखि फिडरहरु चुडिँदा प्राधिकरणले गाली खानुपरेको छ,’ उनले भने, ‘पोखराका २ हजारभन्दा बढी सेवाग्राही प्रभावित भए भने प्राधिकरणलाई करोडौं नोक्सान भयो ।’

ठूलो संकट टर्‍यो
खानेपानी संस्थान सोमबार दिउँसो त्यो क्षेत्रमा पुराना पाइप निकाल्दै थियो । एक्स्काभेटर चालक थिए–शुक्रराज दुलाल । उनले यसअघि पनि सो क्षेत्रमा नयाँ पाइप गाडेका थिए । तर, सोमबार पाइप निकाल्ने क्रममा उनले अन्डरग्राउन्ड केबुल देखेनन् ।


उनी भन्छन्, ‘२ फिटमाथि पाइप थियो, पाइप निकालिरहेको थिएँ । अचानक ठूलो आवाज आयो । लै के भयो भनेको फिडर पड्केको रैछ,’ उनले भने, ‘अन्डर ग्राउन्ड केबल धेरै गहिरो बनाइएको रैनछ । साढे दुई फिटमै रहेछ ।’ अन्डर ग्राउन्ड केबलमाथि निकै सानो पाइप राखिएकाले एक्स्काभेटरले छोएको उनको दाबी छ । उनी भन्छन्, ‘धन्न एस्काभेटरमा करेन्ट लागेन, आगलागी भएन । यहाँ हुनेहरूको ज्यान जोगियो ।’


अन्डर ग्राउन्ड केबल जमिनभन्दा तल गाड्नुपर्ने नियम भए पनि शिवचोकमा त्यस्तो देखिएन । साढे २ फिटमै केबल राखिएको देखियो । तथापि यस्तो संवेदनशील ठाउँमा काम गर्दा प्राधिकरणसँग समन्वय नगर्नु खानेपानी संस्थानको गम्भीर त्रुटि देखिन्छ ।
लामो समयसम्म बत्ती जाँदा सेवाग्रहीले एकातिर बिजुली उपभोग गर्न पाएनन् भने यो अवधिको बिजुलीको आय प्राधिकरणले गुमायो । सँगसँगै यसको मर्मतमा करोडभन्दा बढी खर्च गर्नु परेको वितरण केन्द्रका प्रमुख सिंह बताउँछन् । उनले अब खानेपानी संस्थानसँग घटनाबारे जवाफ मागिने जानकारी दिए ।


किन ढिला बन्यो बत्ती ?
खानेपानी संस्थानले खानेपानीको पुरानो पाइप निकाल्ने क्रममा अन्डर ग्राउन्ड पाइप चुटिएको थियो । त्यो पाइन प्राधिकरणले चाहेको भए रातारात गर्न सक्थ्यो । तर, प्राधिकरणले खानेपानी संस्थान र ठेकेदार कम्पनीलाई दोष देखाउँदै सोमबार बत्ती बनाउनतिर ध्यान दिएन ।


बरु प्राधिकरणका केही कर्मचारी खानेपानी संस्थानलाई गाली गर्नतिर लागे । कार्यालयमा फोन गर्ने ग्राहकको फोन नै उठाएनन् । यदाकदा उठाए पनि खानेपानी संस्थानलाई दोष दिए । यो कुरा पुष्टि गर्न पोखरा वितरण केन्द्रको आधिकारिक फेसबुक पेज हेरे पुग्छ । पेजमा लेखिएको छ, ‘खानेपानीको काम गर्ने क्रममा ठेकेदारको लापरबाहीको कारण रामबजार फिडरको अन्डर ग्राउन्ड केबुल ब्रस्ट भएको हुनाले रामबजार फिडरबाहेक अरु फिडर चालु गरिएको छ । रामबजार फिडरलाई गलेश्वर फिडरबाट चालु गर्नका लागि काम हुँदै छ । केबुलको हेड बनाउनुपर्ने तथा भारी वर्षाका कारण कार्यमा समस्या भइरहेको व्यहोरासमेत अनुरोध छ ।’


संस्थानले खर्च बेहोर्नुपर्ने भन्दै विद्युत् प्राधिकरण बत्ती मर्मत गर्न नै नगएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । ‘खानेपानी संस्थानकै कारणले प्राधिकरणलाई करौडौं क्षति भयो । त्यो खर्च खानेपानी संस्थानले तिर्नुपर्ने वा उक्त ठेकेदारले तिर्नुपर्ने प्राधिकरणको माग हो । यसैमा कुरा नमिल्दा मर्मत गर्न ढिलाइ भयो,’ ती कर्मचारीले भने ।


मंगलबार प्राधिकरणलाई ठेकेदार कम्पनी मर्मत खर्च तिर्न राजी भएपछि प्राधिकरणले बिजुली मर्मत गरेको स्रोत बताउँछ । पोखराको ठूलो क्षेत्रमा २४ घन्टासम्म बत्ती नआउँदा पोखरेलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्मलाई फोन गरेका थिए । घिसिङकै निर्देशनमा प्राधिकरणले ढिला गरी लाइन मर्मत गरेको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया