दमौली अस्पताललाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०८० असोज २५ गते १२:५३

पोखरा ।
गोर्खा वेलफेयर ट्रस्ट नेपाल, उत्थानशील खानेपानी सरसफाइ तथा आपत्कालिन तयारी कार्यक्रमको प्रधान कार्यालय पोखराले दमौली अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । युके एडको आर्थिक सहयोगमा डेंगु संक्रमणलाई दृष्टिगत गरी करिब ४ लाखका सामग्री हस्तान्तरण गरिएको प्रोग्राम डाइरेक्टर दीपककुमार श्रेष्ठले बताए ।


गोर्खा वेल्फेयर ट्रस्ट नेपालको शाखा कार्यालय एरिया वेल्फेयर सेन्टर तनहुँको संयोजनमा भएको कार्यक्रममा दमौली अस्पताल व्यवस्थापन समितिका देवेन्द्र थापाले डेंगु रोकथामका लागि सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्रीका लागि आभार व्यक्त गरे । दमौली अस्पतालका व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा डिआरआर अफिसर सुमेरु त्रिपाठी, जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, प्रोग्राम डाइरेक्टरदीपककुमार श्रेष्ठ लगायतले बोलेका थिए ।


गोर्खा वेल्फेयर ट्रस्ट सन् १९६९ मा बेलायतमा स्थापित परोपकारी संस्था हो । बेलायती सरकार र नागरिकबाट प्राप्त चन्दा सहयोगबाट संस्थाले नेपालमा रहेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक, सिंगापुर पुलिस तथा तिनका आश्रित परिवारजनका साथै समुदायका लागि विभिन्न कल्याणकारी कार्य गर्दै आएको छ ।

Advertisement


पोखरामा प्रधान कार्यालय रहेको गोर्खा वेल्फेयर ट्रस्ट नेपालले २० शाखा फिल्ड कार्यालयमार्फत नेपालभरि विभिन्न व्यक्तिगत तथा सामुदायिक सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत वेल्फेयर पेन्सन वितरण, स्वास्थ्य उपचार सेवा, निःशुल्क स्वास्थ्य शिविरहरु, विद्यालय भवन परियोजना, खानेपानी आयोजना निर्माण तथा विपद व्यवस्थापन एवं राहत वितरण आदि कार्यक्रमहरु मुख्य हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया