मुस्ताङमा असोजमै प¥यो हिउँ,जाडो बढ्यो

समाधान संवाददाता २०८० असोज ३० गते १७:२०
मुस्ताङमा असोजमै प¥यो हिउँ । तस्विर ः उदय तिमिल्सिना ।

जोमसोम—मुस्ताङका उच्चलेंकमा सोमबार राति हिमपात भएको छ ।उपल्लो मुस्ताङ हिमपात हुँदा यो वर्ष जाडो ह्वात्तै बढेको छ ।
समुन्द्री सतहको ३ हजार मिटरदेखि माथिको क्षेत्रमा असोजमै हिमपात भएको हो ।जिल्लाको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका क्षेत्रमा सोमबार राति आशिंक हिमपात भएको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । लोघेकर दामोदरकुण्डको घिलिङदेखि माथिल्लो उत्तरी क्षेत्र कोरलासम्म हिउँ परेको उनले बताए ।
उपल्लो मुस्ताङमा असोजमै पहिलो पटक हिउँ परेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।हिमपात भएसंगै बस्तीमा हिउँ जम्न नसकेपनि खेतबारी र डाँडाकाँडा हिउँले सेताम्मे भएको अध्यक्ष गुरुङको भनाई छ ।उपल्लो मुस्ताङमा हिउँ परेसंगै चिसो ह्वात्तै बढेको बताईएको छ ।
उपल्लो मुस्ताङका अधिकाँश नागरिक हिउँदमा जाडो छल्न बेसी झर्ने परम्परा छ । उनीहरु मंसिर लागेपछि जाडो छल्न र घुम्ती ब्यापार गर्न बेसी झर्ने सदिंयो देखिको प्रचलन छ ।तर , यसवर्ष उपल्लो मुस्ताङीहरु जाडो छल्न बेसी झर्न नपाउँदै हिउँ परेको हो ।
उपल्लो मुस्ताङमा असोजमै हिउँ परेको यो पहिलो घटना भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे । यसअघि कार्तिकको दोश्रो हप्तादेखि बैशाखसम्म हिउँ परेकोमा योवर्ष असोजमै हिउँ पर्दा आश्चार्य लाग्दो तुल्याएको अध्यक्ष बिष्टले सुनाए ।
यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । हिउँ परेसंगै मुक्तिनाथ क्षेत्रको पाखो हिउँले सेताम्मे भएको उनले बताए । ‘राति अबेरसम्म बाक्लै खालको हिउँ परेको थियो,जमिन अझै तातै छ,उनले भने,‘यसलै परेको हिउँ जम्न पाएन, मुक्तिक्षेत्रको पाखोमा परेको हिउँ अझै देख्न सकिन्छ । विगत २० वर्षदेखि मुक्तिनाथमा काम गर्दै आएका सुवेदीले असोजमै हिउँ परेको आफुले पहिलो पटक देखेको बताए ।
यसैगरी उपल्लो मुस्ताङ र मुक्तिनाथक्षेत्रमा सामबार राति हिमपात हुँदा तल्लो मुस्ताङमा वर्षा भएको थासाङ—२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए । जोमसोमदेखि तलको क्षेत्रमा आशिंक वर्षा भएको उनले बताए । मुस्ताङमा वर्षासंगै हिउँ परेकाले यहाँको रैथानीयबालीले फाईदा पुग्ने कृषकहरुले बताएका छन् ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय क्षेत्र असमान प्रकारको देखिन थालेको छ । जलवायुले परिवर्तनको असरले यहाँका कृषि,पर्यटन र जैविक विविधता समेत नकारात्म प्रभाव देखिन थालेको छ । कुनै वर्ष भारी हिमपात हुँने,कुनै वर्ष कम हिमपात हुने र कुनै वर्ष हिउँ नपर्ने जस्ता प्राकृतिक घटना सृजना हुँदा हिमाली क्षेत्रको जिवन शैलीमा समेत असर पर्न थालेको जानकारहरु बताउँछन् । गत वर्ष हिमपात नहुँदा स्याउ खेतीमा ठुलो असर पारेको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए । गतवष स्याउको बगैचा व्यवस्थापन र काँटछाँट गर्ने बेलामा हिउँ पर्ने बेलामा हिउँ नपरेको र बैशाख र जेठ महिनामा स्याउको परागतसेचन ( पोलिनेसन) हुँने बेला भारी वर्षाले स्याउ खेतीमा ठुलो असर पारेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे ।
जलवायुकै कारण नदी कटान र प्राकृतिक विपद्का घटनाहरु सृजना हुन थालेका छन् । यसैगरी स्याउ खेती लगायतका बालीहरुले मौसम परिवर्तन हुँदा बसाई सारेर उकालो उक्लिन थालेको दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया