जोमसोम विमानस्थलमा कुकुर आतंक

सुन्दरकुमार थकाली २०८० कार्तिक १३ गते ७:४४

जोमसोम—हिमाली जिल्लाहरु मध्येकै समृद्ध मानिएको जहाज उडा र अवतरण गर्ने धावनमार्ग (रनवे)पछिल्लो समय असुरक्षित महशुस गर्न थालिएको छ । जोमसोम विमानस्थलमा अनाधिकृत रुपमा कुकुरहरु पस्न थालेपछि पोखरा—जोमसोम हवाई उडान र अवतरणमा दिनहु समस्या देखिन थालेको हो ।


नेपाल नागरिक उड्यन प्राधिकरणले ४ वर्षअघि मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तथा धावनमार्ग(रनवे)क्षेत्रको बिस्तार गरेपनि विमानस्थल क्षेत्रको ताराबार संरचना कमजोर हुँदा कुकुर आतंक बढेको बताईएको छ ।


जोमसोम विमानस्थलको तारबार होचो र कतिपय स्थानमा च्याँतिएको हुँदा सोही स्थानबाट कुकुरको बथान छिर्ने गरेको पाईएको छ । असोज लागेपछि जोमसोम नागरिक उड्यन कार्यालयमा कार्यरत सुरक्षाकर्मी र त्यहा राखिएको आगो निभाउन बारुणयन्त्रलाई कुकुर धपाउन हम्मेहम्मे पर्ने गरेको छ । जोमसोम विमानस्थलमा जहाज उड्न लाग्दा होस् या जहाज अवतरण गर्न लाग्दा होस् कुकुरहरुको आतंकले हवाई उडानमा समस्या निम्त्याएको छ ।

Advertisement

जोमसोम विमानस्थलमा साईरन बज्ने बित्तिकै धावनमार्गमा कुकुरले दुःख दियो भन्ने बुझाई हुन्छ । कतिपय जोमसोमबासीले जोमसोम विमानस्थलमा सुरक्षाकर्मी र बारुणयन्त्रले साईरन बजाउँदै कुकुर धपाउँदै गरेको दृष्य सामाजिक संञ्जालमा अपलोड गरेको पनि पाईएको छ । जोमसोम विमानस्थलमा बिहानपख सुरक्षाकर्मीले कुकुर धपाउँदै गरेको दृष्यले विमानस्थल सुरक्षा माथिनै प्रश्न उठाउने गरेको पाईएको छ ।


करिव ८१० मिटर लम्बाई रहेको जोमसोम विमासस्थल धाावनमार्गको आधा जसो ठाउँका तारबार संरचना जीर्ण भएर च्याँतिएका छन् । विमानस्थल कम्पाण्डको तारबार संरचनालाई बलियो र मजबुद बनाई हवाई सुरक्षालाई मजबुत पार्नुपर्ने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तिलक बिकले उल्लेख गरेका छन् । उनले जोमसोम क्षेत्रका हवाई उडानलाई सुरक्षित बनाउन नागरिक उड्यन प्राधिकरणले अबिलम्ब पहल गर्न आग्रह गरे ।

Advertisement

जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले विमान सुरक्षाका लागि तारबार लगाउन बजेट सुनिश्चिता भईसकेको बताए । ‘हामीले यहाँको अवस्थाका बारेमा केन्द्रलाई जानकारी गराएका छौं,उनले भने,‘प्राधिकरणले तारबार स्टक्चरसहित पुरै विमानस्थल कम्पाण्डमा सुरक्षित तारजाली लगाउने योजना भईसकेको छ ।’


जोमसोम नागरिक उड्यन कार्यालयले साविकको सडकमार्गको उचाई बढेकाले जहाज उडान समयमा कुकुरहरुले दुःख दिने गरेको बताए । सडकको उचाई बढेकाले तारबार होचो भएको र कतिपय ठाउँमा तारबार च्याँतिएकाले कुकुरहरु सजिलै धावनमार्गमा पस्ने गरेको कार्यालय प्रमुख शाहको भनाई छ । जहाज उडान र अवतरण गर्दा कुकुर पसेमा जहाजलाई आकाशमै होल्ड गराएर विमानस्थल अवतरण गर्ने गरिएको उनले जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया