कास्की कारागारको बिजुली लाइन काटियो, २० लाख रुपैया महसुल वक्याैता

समाधान संवाददाता २०८० कार्तिक १९ गते १२:४९

पाेखरा ।

 नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नबुझाएकाे कास्की कारागार अर्थात जेलकाे बिजुलीकाे लाइन काटेको छ । पोखरा वितरण केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएकाे भन्दै आज बिहान देखि लाइन काटेको हो ।

केन्द्र अन्तर्गत सबैभन्दा बढी महसुल बक्यौता बाँकी भएको ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । कारागारले झण्डै २० लाख रुपैया बक्याैता तिर्न बाँकी छ । जनताले २ सय नबुझाउदा पनि बिजुली काटिने तर सरकारी कार्यालयले २० लाख बिल उठ्दा समेत नतिरेपछि काट्न बाध्य भएकाे केन्द्र प्रमुख सिंहले समाधानलाई बताए ।

Advertisement

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तिव्र गतिमा अघि बढाएको छ ।

केही दिनअघि नै लाइन काट्ने तयारी गरिएपनि कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको सिंहले बताए । अब, जरिवानासहितको बाँकी महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जोडिनेछ ।

Advertisement

केन्द्रले शनिबार पनि ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १०७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले ५ लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुन जोडिएको छ ।

केन्द्रले अहिलेसम्म गण्डकी प्रदेशको महसुल नबुझाउने सबै सरकारी कार्यालयको लाइन काटि कारबाही गरिसकेको छ । नेपालमा विद्युत सेवा उपभोग गर्ने सर्वसाधारणले ६० दिनभन्दा बढी महसुल बक्यौता राख्नासाथ लाइन काटिने गरेको भएपनि सरकारकै कार्यालयहरूले भने लामो समय बक्यौता राख्ने गरेका छन् । पछिल्लो  समय प्राधिकरणले बक्यौता महसुल उठाउने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया