याकचौरी लेकबाट बेंसीतिर

सुन्दरकुमार थकाली २०८० कार्तिक २० गते १०:४७

जोमसोम ।
हिमाली मुस्ताङका उच्च लेकमा पालन गरिएका याकचौरी चिसो बढेसँगै बेंसी झारिएको छ । हिउँद यामको मौसममा उच्च लेकका पाटनमा अध्यधिक चिसो र हिमपात हुने भएकाले मुस्ताङको उच्च लेकमा पालिएका याकचौरी बेंसी स्थान्तरण गरिएको हो ।


बर्सेनि हिउँद याममा उच्च लेंकमा पालन गरिएका याकचौरी व्यवस्थापनमा निकै चुनौती हुने भएकाले पाटनका याकचौरी बेंसी झार्ने गरिन्छ । हिउँद याममा हिमालको फेदमा पालन गरिएका याक, चौरीलाई हिमपातको जोखिम हुन्छ । हिमपातले चरन क्षेत्र पूरै हिउँले ढाकिने र अत्यधिक चिसोका कारण याक, चौरी गोठाला उच्च लेकका गोठमा बस्न नसक्ने अवस्था आउँछ ।


यस्तो अवस्था आउनुअघि नै याकचौरीहरु बस्ती नजिक झार्ने गरिएको पशुपालकहरु बताउँछन् । हिउँद याममा बस्तीमा हिउँ परे पनि चाँडो पग्लिने, गोठाला तथा पशुचौपायालाई न्यानो हुने र पशु आहार दिनसमेत सजिलो हुने हुँदा याकचौरी बस्ती छेउ झार्ने गरिएको घरपझोङका पशुपालक वीरबहादुर घर्तीले बताए । सधैझै लोमान्थाङमा पनि चिसो बढेसँगै पाटनका याकचौरी बस्ती छेउ झारिएको लोमान्थाङका याकचौरी पालक आङ्गेल गुरुङले सुनाए ।

Advertisement


उच्च लेकमा चिसो र हिमपातले चरन क्षेत्र ढाकिँदा याकचौरीलाई घाँसको अभाव हुन्छ । पशुलाई आहार पकाएर दिन र गोठालालाई पकाएर खान बस्न सास्ती हुने पशुपालक गुरुङको भनाइ छ । मुस्ताङका ५ स्थानीय तहमा व्यवसायिक रुपमै याकचौरी पालन गरिएको छ । यहाँ पालिएका याकचौरी मासु र चौरीको दूधबाट बन्ने विभिन्न परिकार बनाएर बिक्री गरिन्छ ।
यसका अलावा याकचौरीको आलो रगत निकालेरसमेत बिक्री गरिन्छ । याकचौरीको पुच्छर पनि महंगोमा बिक्री हुन्छ ।

मुस्ताङमा झन्डै ४ हजार याकचौरी रहेको हिमालयन चौरी पालन तथा संरक्षण समितिले जनाएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यवसायिक रुपमा१५ सयभन्दा बढी याकचौरी पालन गरेका छन् । घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी ८ घरधुरीले करिब ५ सय याकचौरी पालन गरेका छन् ।

Advertisement


लोमन्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा१६ घरधुरीले १८ सयभन्दा बढी याकचौरी पालेका छन् भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झारकोट र मुस्ताङ—डोल्पा सीमाना साङ्ता गाउँमा २४० भन्दा बढी याकचौरी पालन गरिएको हिमालयन चौरीपालन तथा संरक्षण समितिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए । मुस्ताङका याकचौरी पालकलाई सांगठनिक रुपमा एकतावद्ध गर्ने उद्देश्यले ४ वर्षअघि संस्था गठन गरिएको थियो । याकचौरी पालकका समस्या, बिमा र वन्यजन्तु क्षति राहत लगायतका विषयमा संस्थाले सहजीकरण गर्दै आएको छ ।


समुन्द्री सतहको ४ हजार मिटरका चरन क्षेत्रमा गोठै खडा गरेर व्यवसायिक रुपमा याकचौरी पालन गरिदै आएको छ । थासाङमा धौलागिरी हिमालको फेंद मुली खर्क, नीलगिरी हिमालको फेंद मार्चे खर्क र टुकुचेको बतासे लेंकमा याकचौरी पालन गर्ने गरिन्छ । हिउँद याम लागेपछि बस्ती नजिक सारिने थासाङका चौरी पालक किसान गौतम शेरचनले जानकारी दिए । घरपझोङ गाउँपालिकामा पनि मार्फा लेंक, स्याङ लेंक र जोमसोमको मेसोकोन्दो र लुप्रा लेंकमा गोठ खडा गरेर याकचौरी पालन गरिएको घरपझोङका किसान भूपिन शेरचनले बताए ।


गर्मी यामको वैशाखदेखि कात्तिकसम्म याकचौरी उच्च लेकको पाटनमा राखिन्छ । हिउँद यामको कात्तिक दोस्रो हप्तादेखि चैत महिनासम्म बस्ती नजिक झार्ने गरिन्छ । हिमाली क्षेत्रमा व्यवासायिक रुपमा पालन गरिएका याकचौरीले पारिस्थितिक प्रणाली (इको सिस्टम) मा समेत योगदान गरेका छन् ।


मुस्ताङमा जिउँदो एउटै याकचौरीको मूल्य १ लाख ३० हजारसम्म पर्छ । मुस्ताङमा पालन गरिएका याकचौरी केही होचा कदका हुन्छन् भने उपल्लो डोल्पामा पालन गरिएका याकचौरी अग्ला कदका हुन्छन् । हिउँद याममा उपल्लो डोल्पालीले याक खेदाएर मुस्ताङको जोमसोम ल्याएर मासुका लागि बिक्री गर्छन् । यहाँ असोज, कात्तिक महिनामा याकको सुकुटी हिउँदे तरकारीको रुपमा प्रयोग गर्ने चलन छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया