मुस्ताङको घरपझोङका वन्यजन्तु पीडित किसानले पाए राहत

समाधान संवाददाता २०८० कार्तिक २३ गते १०:१७

मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानलाई बुधबार राहत हस्तान्तरण गरिएको छ ।आर्थिक वर्ष २०७९÷०८०मा वन्यजन्तुबाट पशु धनको क्षति व्यवहोर्न बाध्य १९ पशुपालक किसान मध्ये घरपझोङ गाउँपालिकाका ४ घरधुरीलाई नगदसहितको चेक हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोमले नेपाल सरकारीले कार्यान्वयनमा ल्याएको वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८०,अनुसार गतवर्ष क्षति भएको पशुधनको राहत उपलब्ध गराएको हो । एक्याप ईलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मी, संम्वन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोमका अध्यक्ष चन्द्रबहादुर थकाली र घरपझोङ कार्यपालिका सदस्य भिषण थकालीको रोहबरमा वन्यजन्तु पीडित पशुपालकलाई राहत वितरण गरिएको कार्यालय प्रमुख रेग्मीले बताए । गतवर्ष पशुधन क्षति राहतका लागि निवदेन दिएका मध्ये घरपझोङका पशुधन पीडित ४ घरधुरीलाई १ लाख ९२ हजार ५ सय रकम आर्थिक राहत उपलब्ध गराईएको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

घरपझोङ गाउँपालिकामा बिरे घर्तीले ५ वटा चौरी गाई क्षतिको ९३ हजार,रेखा थकालीले ४ च्यांग्राको क्षति वापत ३० हजार,छिरिङ लाक्पा गुरुङको २ चौरीगाईको क्षति वापत ९ हजार ५ सय र धुव्र परियारको २ खच्चडको क्षति वापत ६० हजार राहत पाएका छन् ।

Advertisement

यसैगरी मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत सकेन्द्र गौचनको २ चौरी गाईको ३० हजार,प्रदिप गौचनको २ चौरी गाईको ३९ हजार,जयराम पुनकाृ ३ चौरीगाईको ४२ हजार,कृष्णलाल भट्टचनको ४ चौरीगाईको ७५ हजार,भिमप्रसाद थकालीको ४ चौरीगाईको ६२ हजार,लक्षिण प्रसाद गौचनको १ चौरी गाईको १५ हजार,उत्तम शेरचनको १ चौरी गाईको १५ हजार र श्यामबहादुर तामाङको १ चौरी गाईको ३० हजार गरी ३ लाख ८ हजार रुपैया पीडित पशुपालकलाई दोश्रो चरणमा प्रदान गरिने बताईएको छ ।

योसंगै गतवर्ष वन्यजन्तुबाट पशुधनमा क्षति गुमाएकाहरु मध्ये १५ घरधुरीले पशु क्षति राहत पाउँन बाँकी छ । पशुधनमा क्षति व्यवहोन बाध्य थासाङ, वारागुङ मुक्तिक्षेत्र,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका पशुपालकलाई दोश्रो चरणमा राहत वितरण गरिने एक्यापले बताएको छ । यसैगरी चालु वर्ष पनि पशुधन क्षति राहतका लागि ४ जनाको निवदेन परेको बताईएको छ ।

Advertisement

मुस्ताङमा वन्यजन्तु हिमचितुवा र चितुवाले पशुपालकको गोठ र चरन क्षेत्रमा आक्रमण गरी बर्सेनि क्षति गर्ने गरेको छ ।यस्तै जिल्लाका किसानले लगाएको बालीनाली हिमाली कालो भालु,बादर,नाउर ,काग आदीले सराप पारिदिने गरेको बताईन्छ । मुस्ताङमा वन्य जन्तु र मानवबीचको द्धन्द पछिल्लो समय बढ्दै गईरहेको छ । गतवर्ष १९ घरधुरीका ६५ पशुचौपाया वन्यजन्तुका कारण क्षति भएको थियो ।

वन्यजन्तुको आक्रमणबाट क्षति व्यवहोर्न बाध्य पशुपालकले संम्वन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस,स्थानीय तह वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिससहित एक्याप कार्यालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

यसरी पेश भएको पशुधन क्षतिको विवरण मूल्यांकन गरी क्षतिपूर्ती राहत उपलब्ध गराउने गरिन्छ । एक्यापले संरक्षित क्षेत्रमा वन्यजन्तु क्षतिको राहत सहयोग सिफारिस गठन गरेको हुन्छ ।

वन्यजन्तुबाट जनधनको क्षति भएमा राहत वितरण गर्ने प्रक्रियालाई सरल, सहज र व्यवस्थित गर्न वान्छनीय भएकाले सरकारले चालु आर्थिक वर्ष २०८० को साउन १ गतेदेखि नयाँ निर्देशिका ल्याएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३३ ‘क’ ले दिएको अधिकार प्रयोग गरी यसप्रकारको नयाँ निर्देशिका बनाईएको हो ।

तपाईको प्रतिक्रिया