सयपत्री फूलमा पोखरा आत्मनिर्भर

समाधान संवाददाता २०८० कार्तिक २४ गते १३:३३

पोखरा ।
पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको आगामी शनिबार शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहनेछन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिनेछन् ।


यस्तै पुष्पान्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (साई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नम्बर ६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिनेछन् ।

Advertisement


रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिंगा, चिनिरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने कडरियाले बताए । उनका अनुसार सो अवरका तीन दिनसम्म सयपत्री फूल मेला–२०८० समेत आयोजना गरिनेछ ।


मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सत्रपत्री फुलहरू बिक्रीमा राखिने कडरियाले सुनाए । सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए । ‘पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ,’ कडरियाले भने, ‘यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।’ महानगरपालिकाले सयपत्री फूलको दररेट समेत तोकेको छ ।

Advertisement


पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फूलको रेट तोकिएको हो । दररेट अनुसार सयपत्री फूलको १५ देखी २० ग्रामको एक थुंगालाई ५, १० देखि १५ ग्राम तौल भएको एक थुुंगाको मूल्य ४ र ५ देखि १० ग्रामको रु.२ तोकिएको छ । मालाको क्रमशः २ सय, १ सय ८० र १५० तोकिएको छ भने, प्रतिकेजी ४ सय रुपैयाँ सयपत्री फूलको मूल्य तोकिएको छ । श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवद्र्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछन् । व्यवसायीहरूले यसले रैथाने उत्पादन र पुष्प व्यवसायको प्रवद्र्धन हुने भन्दै खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया