भाइटीका विशेष—दिदीको होस्टेल, भाइको कपास उद्योग

प्रमिला कुँवर २०८० कार्तिक २४ गते १३:४६

पोखरा ।
केही गरेर आत्मनिर्भर बन्ने उपाय खोजिरहेकी पोखराकी कान्ती कतिलाले बाहिर विदेश जाँदा होस्टेल तथा पेइङ गेस्ट देखेर उनलाई पनि होस्टेल खोल्न मन लाग्यो । पारिवारको साथ र सहयोगले कतिलाले १७ वर्ष अघि आफ्नै नाम राखेर पोखरा तेस्रापट्टीमा पहिलोपटक कान्ती गल्र्स होस्टेल सञ्चालन गरिन् ।


रहरमा होस्टेल त खोलिन् तर उनलाई होस्टेल कसरी सञ्चालन गर्ने ? के के आवश्यक पर्छ ? भन्ने कुनै आइडिया नै थिएन । ‘सुरुको एक वर्ष पुरै खाली बस्नु प¥यो । घरमै होस्टेल सञ्चालन गरेकाले घाटा त भएन फाइदा पनि भएन, व्यवसायबारे बुझ्दै गएपछि पहिलोपटक नर्सिङ लाइसेन्सको तयारीमा रहेका विद्यार्थीलाई राख्यौं त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन,’ कतिलाले विगत सम्झिइन् ।


अध्ययन वा कामका लागि अन्य ठाउँबाट आएर पोखरामा बस्न युवतीहरुलाई सहज थिएन, उनीहरुको समस्या देखेर उनलाई होस्टेल खोल्ने आँट आएको बताइन् । होस्टेल बसाई खर्चिलो हुन्छ भन्ने मानसिकता भएपनि आफूले कम खर्चमा सुविधा उपलब्ध गराइरहेको उनी बताउँछिन् । आवश्यकताले निर्धारण गर्ने हुँदा होस्टेलमा सबै वर्गका, अध्ययन गर्ने, जागिर गर्ने, तालिम लिनेहरु बसेका छन् ।

Advertisement


‘घरको दुई जना बच्चालाई व्यवस्थित गर्न त मुस्किल हुन्छ । ८०/९० छात्रालाई व्यवस्थित तवरले राख्ने कार्य सजिलो होइन, विद्यार्थीहरु बढी स्वतन्त्र हुन खोज्छन्, होस्टेलको नियम मान्दैनन् । तर परिवारको दरिलो साथले काम गर्न सहज भएको छ,’ उनले भनिन् ‘परिवारको साथ नहुँदो हो त म सफल हुन सक्दिनथे ।’ उनले वीरगन्जमा पनि होस्टेल खोलेर उनी वीरगन्जमा छिन् । पोखरामा रहेको होस्टेल उनका भाउजु र भाइबुहारीले हेरिरहेका छन् ।


होस्टेल संवेदनशील कुरा रहेको कतिलाको बुझाइ छ । कतिपय नियमविपरित सञ्चालन भएका, सुरक्षित नरहेको तथा कम गुणस्तरका खाना दिइने जस्ता गरेका सुन्नमा आउँछन् । सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उनको माग छ ।
होस्टेल सञ्चालन भएकै घरमा कान्तिका दाइ र भाइले पश्चिमाञ्चल कपास उद्योग खोलेका छन् । पारिवारिक व्यवसायका रुपमा रहेको टान्सपोर्टेसन व्यवसायमा घाटा भएपछि अनन्त कतिला र वसन्त कतिलाले कपास उद्योग खोलेका हुन् ।

Advertisement


२५ वर्षसम्म गरिरहेको टान्सपोर्टेसन व्यवसाय छोडेर अनुभव नै नभएको कपास उद्योग सञ्चालन गर्नु उनीहरुका लागि चुनौतीपूर्ण थियो । तर, दिद (कान्ति) र परिवारको सहयोगमा ८ वर्ष अघि २२ लाख लगानीमा कपास उद्योग खोले ।
सिरक, सिरानी, डसना नभइ नहुने वस्तु भएकाले सुरुआतदेखि नै व्यवसाय राम्रोसँग चलिरहेको उनले बताए । व्यवसायबाट राम्रो आम्दानी भएपनि दर्ता नभएका घुम्ति सेवा दिने अवैध उद्योगका कारण समस्या परेको उनको गुनासो छ । ग्राहकहरु गुणस्तरमा ठगिनुका साथै वातावरण प्रदुषण बढेको छ ।


‘भाडा तिर्न नपर्ने, कर तिर्न नपर्ने कम गुणस्तरका कपास प्रयोग गर्ने भएकाले घुम्ति व्यवसायीले कम मुल्यमा सामान बिक्री गर्छन् जसले हामीलाई समस्या परेको छ । उनीहरुलाई न कुनै नियम छ न कुनै कारवाही । महानगर, जिल्ला प्रशासन कार्यालय, पोखरा उद्योग वाणिज्य संघमा धेरै पटक कुरा राख्यौं हाम्रो समस्या कसैले सुनेनन्, हार खाएर भन्नै छाड्यौं,’ उनले भने ‘सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा फोहोरबाट मोहर बनाउने कपास उद्योग धरापमा परेको छ, उद्योगको संरक्षणका लागि सरकारले नीति ल्याएर व्यवसायीलाई प्रवर्धन र प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ ।’


गुणस्तरीय कपास भारतबाट आयात गरेपनि मिडियम क्वालिटीका कपासका उद्योगमै पुराना कपडा पेलेर उत्पादन गरिने उनले उल्लेख गरे । कपास उत्पादन र कपास खेतीलाई सरकारले अनुदान दिएमा कपास आयात गर्नै नपर्ने कतिलाको भनाइ छ ।
उद्योगमा अहिले ८ जनाले रोजगारी पाएका छन् भने उद्योग विस्तार गर्ने उनको योजना छ । ‘गर्न सक्यो भने विदेश भन्दा देशमै राम्रो आम्दानी गर्न सकिन्छ । कुनै समय म पनि अमेरिका गएर फर्किएको हुँ । यहाँ व्यवसाय राम्रो चलिरहेको थियो विदेश बस्नै मन लागेन अनि ४ महिनामै फर्किए’ उनले सुनाए ।


उद्योगमा सबैभन्दा ठूलो आवश्यकता विद्युत हो तर अघोषित लोडसेडिङ मारमा परेको अनन्त कतिलाकी श्रीमती पुष्पा कतिलाको भनाइ छ । राति छिमेकीलाई डिस्टर्ब हुने भएकाले राति काम गर्न सकिँदैन, दिनमा झ्यापझ्याप बत्ती जाँदा काम नै ठप्प हुन्छ । विद्युतमा सरकारले सुधार ल्याउनुपर्ने उनले बताइन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया