पूर्वमुख्यमन्त्री पोखरेललाई बोनम्यारो क्यान्सर

सञ्जय रानाभाट २०८० मंसिर ६ गते १०:४२

सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल केही महिनादेखि अस्वस्थ छन् । मुख्यमन्त्री छँदैदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि पोखरेल निरन्तर चिकित्सकीय निगरानीमा थिए । सुरुमा सास फेर्न असजिलो भएपछि परीक्षण गराउँदा उनको फोक्सोमा समस्या देखिएको थियो ।


चिकित्सकले निमोनियाको संकेत देखिएको र फोक्सोमा पानी जमेको भनेपछि त्यतिखेर ग्रान्डी अस्पताल भर्ना भएका थिए । त्यसयता पोखरेल निरन्तर अस्वस्थ छन् । पारिवारिक स्रोतका अनुसार पोखरेललाई यसअघि थप उपचारका लागि भारत लगिएको थियो । ‘मुख्यमन्त्री हुँदैदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । यसपछि निरन्तर चिकित्सकीय निगरानी हुनुहुन्छ तर, पनि एकपछि अर्को स्वास्थ्य समस्या थपिँदै गइरहेको छ,’ पारिवारिक स्रोतले भन्यो ।


पोखरेललाई निमोनिया र फोक्सोमा समस्या देखिएलगत्तै मिर्गाैलामा समस्या देखिएपछि डायलासिस गराइएको थियो । डायलासिस गराए पनि शरीर सुनिने, स्वासप्रश्वासमा समस्या भइरह्यो । रोग निको नभएपछि पोखरेललाई काठमाडौंको ओम अस्पतालमा एक महिना उपचार राखेर उपचार गराइएको थियो । पोखरेलले अस्पतालमै रहेर आफू स्वास्थ्य लाभ गरिहेको वैशाख २० आफ्नै फेसबुक पेजमार्फत जानकारी गराएका थिए ।

Advertisement

हप्तामै एक/डेढ लाख खर्च, निमोनिया र फोक्सोको उपचारपछि क्युमो थेरापी

लेखेका थिए, ‘केही समयको फलोअपपछि थप परीक्षण र उपचार गर्नुपर्ने भएकाले काठमाडौंस्थित ओम अस्पतालमा भर्ना भएको छु । अहिले निमोनिया संक्रमण निको भइसकेकाले मिर्गाैला सम्बन्धी जटिलता देखिएकाले यतैतर्फ उपचार केन्द्रित छ ।’ एक महिना लामो अस्पताल बसाइपछि पनि निको नभएपछि उनलाई थप उपचारका लागि भारत लगिएको थियो ।

Advertisement

उपचारका लागि भारत पुगेका पोखरेलको अहिले बोनम्यारोको क्यान्सर भएको पुष्टि भएको छ । रोग पत्ता लगाएर नेपाल फर्के पनि पोखरेल अहिले ओम अस्पतालमा उपचाररत छन् । हप्तामा दुईपटक अस्पताल जानुपर्ने छोरी रञ्जनाले जानकारी दिइन् । ‘बोनम्यारोमा क्यान्सर देखिएको छ । कुन स्टेजको क्यान्सर हो, पत्ता लागि सकेको छैन । अहिले पनि हप्तैपिच्छे अस्पताल पुग्नुपर्छ,’ परिवारले भन्यो ।


उनको उपचारमा अहिलेसम्म ठूलो रकम खर्च भइसकेको परिवारले जनाएको छ । ‘हप्तामै एक/डेढ लाख खर्च हुन्छ । डाक्टरकै सल्लाहमा क्युमो थेरापी दिइएको छ । उहाँ डाक्टरहरुकै निगरानीमा हुनुहुन्छ,’ पारिवारिक स्रोतले भन्यो ।


पूर्वमुख्यमन्त्री पोखरेलको स्वास्थ्यमा गम्भीर रोग देखिएपछि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । प्रदेश सरकारको असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई १० लाख रुपैयाँ औषधोपचार सहायता प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा तथा जलस्रोत मन्त्री सरस्वती अर्याल तिवारीले पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० लाख रुपैयाँ सहायता दिने निर्णय भएको पुष्टि गरिन् ।


पोखरेल गण्डकी प्रदेशमा २०७८ जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनको कार्यकाल २०७९ मध्य पुससम्म रह्यो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ एमाले र माओवादीको विभाजनका कारण पदमुक्त भएपछि पोखरेललाई मुख्यमन्त्री हुने मौका मिलेको थियो । शालीन र शान्त स्वभावका नेता पोखरेललाई मुख्यमन्त्री बनाउन माओवादी, जनमोर्चा र समाजवादी पार्टी एवं स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गरेका थिए । उनले विवादमुक्त कार्यकाल बिताएका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया