पोखरा आईपुगे चिनियाँ धावक

समाधान संवाददाता २०८० मंसिर ८ गते ११:०५

पोखरा ।
पोखरामा हुने वार हर्स पोखरा–माउन्टेन क्रस क्रन्टी कम्पिटिसनमा सहभागी हुन चिनियाँ धावकसहितको टोली पोखरा आइपुगेको छ । मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको प्रतियोगितामा सहभागी हुन १ सय ४ सदस्यीय टोली हिमालयन एयरलायन्समार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका आवतरण गरेको हो ।


नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा, युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा प्रतियोगिता हुँदै छ । टोलीमा ७३ खेलाडी, १७ जना स्वास्थ्यकर्मी र बाँकी प्राविधिक तथा चिनियाँ पर्यटक छन् । पोखरा माउन्टेन क्रस क्रन्टी प्रतियोगितमा सात वटा विधामा प्रतिस्पर्धा हुनेछ । टिम, इन्डिभिजुअल, ह्यापी रन र स्टुडेन्ट रन हुने कार्यक्रमका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।


बिहीबार आएको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछिको पाँचौं अन्तर्राष्ट्रिय उडान हो । प्रतियोगितमा चिनियाँ, नेपालीसहित छ सय खेलाडी सहभागी हुने संयोजक पालिखेले बताउनुभयो । ‘यो प्रतियोगिता मात्र नभएर नेपालको उत्तर र दक्षिण र समग्र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य हो,’ पालिखेले भने ।

Advertisement


शनिबार बिहान साढे ७ बजे लेकसाइडको बाराही घाटबाट प्रतियोगिता सुरु हुनेछ । टिम इभेन्टतर्फ २० टोलीबिच प्रतिस्पर्धा हुनेछ । जसमा ६० जना प्रतियोगी सहभागी हुनेछन् । यसमा दौड, साइक्लिङ र बोटिङ गर्दै ४० किलोमिटर पार गर्नुपर्ने हुन्छ । यस्तै, इन्डिभिजुअल इभेन्टतर्फ ३८ किलोमिटरमा एक सय ४० जना प्रतियोगीबिच प्रतिस्पर्धा हुनेछ । यस्तै, पाँच किमीको ह्यापी रनतर्फ कति प्रतियोगी सहभागी हुने यकिन गर्न बाँकी छ ।


स्टुडेन्ट रनमा २ सय जना पुरुष प्रतियोगि सहभागी हुनेछन् । यो पनि किलोमिटर हुनेछ । टिम इभेन्टको प्रथम पुरस्कार ३ लाख ६० हजार, दोस्रो पुरस्कार २ लाख ८८ हजार, तेस्रो पुरस्कार २ लाख १६ हजार, चौथौ पुरस्कार १ लाख ४४ हजार र पाँचौं पुरस्कार ९० हजार छ । यस्तै, इन्डिभिजुअलतर्फ प्रथम १ लाख ४४ हजार, दोस्रो १ लाख आठ हजार, तेस्रो ५४ हजार, चौथौं १८ हजार र पाँचौले ९ हजार पाउने छन् ।

Advertisement


यस्तै, स्टुडेन्टतर्फ हुने महिला तथा पुरुष प्रतियोगितमा प्रथम हुनेले २५ हजार, दोस्राले २० हजार, तेस्रो हुनेले १५ हजार, चौैंथोले १० हजार र पाँचौंले पाँच हजार प्राप्त गर्ने छन् । कार्यक्रम गर्न ७० देखि ८० लाख खर्च हुने अनुमान छ ।


योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ अन्तर्राष्ट्रिय विमान अवतरण भएका छन् । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन यात्रु लिएर ड्रुक एयरले भदौ २३ गते पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसपछि कात्तिक २२ गते एकै दिन २ अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण भएका थिए । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिपछि चीनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान पोखरा आएका थिए ।

तपाईको प्रतिक्रिया