झोपाको साटो मिनिटिलर

सुन्दरकुमार थकाली २०८० मंसिर ८ गते १२:२२

जोमसोम ।

दशक अघिसम्म मुस्ताङका किसानले परम्परागत रुपमा गोरु, झोपाबाट खेतबारी खनजोत गर्थे । तिनैलाई बोकाएर जंगलबाट दाउरा ओसार्ने र खेतबारीमा मल ओसार्न गरिन्थ्यो । झोपाको काम सकिएपछि नजिकैको लेंकमा छाडिन्थ्यो ।


तर, यो सदिंयौदेखिको परम्परागत पद्धतिमा रुपान्तरण हुन थालेपछि मुस्ताङमा गोरु, झोपाको चलन हराउँदै गएको छ । हिमाली झोपा अर्थात गोरु मुस्ताङका ५ वटै स्थानीय तहका किसानले कृषि कर्ममा प्रयोग गर्थे । याक र गाईको क्रसबाट प्रजनन् भएको बाच्छोलाई झोपा भनिन्छ । हिमाली झोपाले धेरै चिसोलाई थेग्न सक्छ । यसको शारीरिक बनावट याकजस्तै हुन्छ । मुस्ताङमा बेंसीमा जस्तो गोरु पालिदैन ।

Advertisement

पहिला पहिला झोपा हुनेले खेतबारी भए पनि झोपा नहुनेलाई कृषि श्रमदान (पर्म) लगाएर खेतबारी खनजोत गर्न सघाउथे । कसैले झोपा मागेर दाउरा खोज्न गए उसले झोपा धनीलाई आधा भाग लगाउनु पथ्र्यो । मल ओसार्न पनि झोपा प्रयोग हुन्थे ।


तर, पछिल्लो १० वर्षयता मुस्ताङको परिस्थिति फेरिन थालेको छ । प्रविधिको विकाससँगै कृषि कर्मका लागि खेतबारी जोत्ने यान्त्रिक कृषि उपकरण प्रयोग हुन थालेपछि परम्परागत गोरु झोपाको महत्व घटेको घरपझोङ ४ जोमसोमका किसान अजित थकालीले उल्लेख गरे । परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा उपयोग गर्दै वैज्ञानिक कृषि पद्धति अनुसरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङ, कृषि ज्ञान केन्द्र मुस्ताङ र संम्वन्धित स्थानीय तहका पालिकाले अनुदान तथा सहुलियतमा यान्त्रिक कृषि उपरकण मिनी ट्रेलर वितरण गर्ने गरेका छन् ।

Advertisement


यहाँका किसानले सरकारी निकायबाट अनुदानबाट खेतबारी जोत्ने यान्त्रिक प्रविधि मिनी ट्रेलर पाउन थालेपछि परम्परागत रुपमा पालन गरिएका झोपा पाल्न छोडेको कृषक थकालीको भनाइ छ । परम्परागत तवरबाट कृषि कर्म गर्दा खेत जोत्ने झोपाको व्यवस्थापन गर्न गाहे हुने, कामदार खोज्दा नपाइने, समय र पैसा पनि धेरै लाग्ने भएकाले झोपाको प्रयोग हुन छाडेको हो ।


यान्त्रिक प्रविधिले सीमित कामदार, कम समय, कम लागत र समयमै काम गर्न सजिलो भएको छ । अहिले जिल्लाका आधाजसो किसानले मिनिटिलर प्रयोग गरिरहेको थासाङ २ सौरुका किसान सोजन हिराचनले उल्लेख गरे । उनले मुस्ताङमा स्याउ बालीभित्र अन्तरबाली समेतको खेती हुने गरेकाले यान्त्रिक उपकरण हलोले खेतबारी जोत्न सजिलो हुने बताए । उनले स्याउबारीभित्र झोपाले जोत्दा अप्ठ्यारो हुने उल्लेख गरे ।


जिल्लामा अधिकांश किसान पर्यटन व्यवसायमा समेत जोडिएको र यहाँका युवा वैदेशिक रोजगारीमा जान थालेपछि कृषिमा जनशक्ति घट्न थालेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया