भूकम्प पीडितलाई कर्मफ्लाइट्सको राहत

समाधान संवाददाता २०८० मंसिर ८ गते १२:४०

पोखरा ।
कर्मफ्लाइट्स फउन्डेसन नेपाल पोखराले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित ३ सय परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । कात्तिक २४ देखि २८ गतेसम्म पश्चिमरुकुमको आठबिसकोट नगरपालिकाका २ सय परिवार र त्रिवेणी गाउँपालिकाका १ सय परिवारलाई प्रतिपरिवार १५ बाई १८ र १८ बाई २२ साइजका पाल, न्यानो ज्याकेट तथा कपडा पिफोम तथा ठूलो साइजको फाइबर सिरक वितरण गरेको हो ।


आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले सामान हस्तान्तरण बुझी नगरपालिकाको सर्वदलीय समन्वय मार्फत संस्थाको आफ्नै रोहोबरमा वडा नम्बर ११ का अतिप्रभावित २ सय परिवारको पहिचान गरी वितरण गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए । न्यानो कार्यक्रमको प्राथमिकता लक्षित वर्गमा सुत्केरी तथा गर्भवती महिला, ज्यष्ठ नागरिक, घाइते तथा अपांगलाई राखिएको खटिएका वडा सदस्य रामबहादुर चन्दले बताए ।


भुकम्पमा प्रभावित बिरामी, चोटपटक लागेका बालबालिका र वृद्धाहरुलाई प्राथमिक उपचार तथा अत्यावश्यक औषधि प्रदान गर्न संस्था र पालिकाबाट खटिएका स्वास्थ्यकर्मीले सहायता डेक्स समेत खडा गरी १ सय ५३ जनाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्यकर्मी चेतबहादुर कुँवरले जानकारी दिए ।

Advertisement


त्यसै क्रममा पोखरा –९ स्थित चिप्लेढुंगा मिनी मार्केट एस्सोसियसनमा आबद्ध मनकारी ब्यबसायीहरुले भुकम्प प्रभावितहरुको लागि करिव ६ लाख बराबरको ९ बोरा न्यानो कपडाहरु संस्था मार्फत हस्तान्तरण गरेका छन् ।


पोखरा महानगरको साझेदारीमा पोखरामा कपडा बैंक सञ्चालन गरी मनकारी मानिसहरुको रहर पूरा गरेका संकलित थ्रेप्ट कपडाहरु पनि पठाएर चिसोमा पालमुनि रात कटाउन बाध्य प्रभावितहरुलाई जाडोबाट बचाउन प्रयास गरेको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जनाकारी दिए ।

Advertisement


जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितको राहतका फाउन्डेसनले आह्वान गरेको सहयोगमा पोखरेली मनकारी समुदाय, नेदरल्यान्डस्थित स्टिचिङ वार्म नेस्ट फाउन्डेसनको आर्थिक साझेदारीमा १५ लाख बराबरको राहत सामग्री कर्मफ्लाइटसले पठाइसकेको छ । दोस्रो चरणमा न्यानो लुगा तथा अस्थायी टहरा निर्माण गर्न त्यसतर्फ जाने तयारी रहेको सचिव कुलप्रसाद अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया