पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

समाधान संवाददाता २०८० मंसिर ८ गते १३:०७

पोखरा ।

युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो ।


बुधबार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठबीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement


गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले युनाइटेड क्लब आफैंमा प्रतिष्ठित क्लब रहेको र युनाइटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको उजागर गर्ने गरी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गर्दै आएकोमा १२ औं संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । युनाइटेडले चालेको हरेक कदममा आफूहरुको साथ र सहयोग रहने गुरुङको भनाइ छ ।


क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामसँगै महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुलाई लोक संस्कृतिका बारेमा समेत जानकारी गराउने कार्य गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

Advertisement


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले ११ औं पोखरा महोत्सवदेखि नै गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्दै आउँदा १२ औं संस्करणबाट महोत्सवमा आयोजना गरिने सामूहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण जिम्मेवारीसहित गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।


सम्झौता अनुसार १२ औं पोखरा महोत्सवमा आयोजना हुने सामूहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले व्यहोर्ने, पोखरा महोत्सवमा सामूहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैत मसान्तसम्म हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया