कर सप्ताहमा सम्मान

समाधान संवाददाता २०८० मंसिर ८ गते १३:१०

पोखरा ।
आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाएको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशाकसन’ भन्ने नारासहित बिहीबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन गरिएको हो ।


कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताइन् । उनले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने विचार राखिन् ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एंव आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रशासनमा दिनानुदिन सुधार हुँदै आएको उल्लेख गरे । उनले कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।

Advertisement


मन्त्रालयका सचिव बलराम रिजालले करले तत्काल लाभ दिएको नदेखिएता पनि दीर्घकालीन लाभ प्रदान गर्ने बताए । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानुन पालना गरी राजस्व संकलनमा योगदान गर्ने करदाताप्रति आभार व्यक्त गरे । उनले कार्यालयले प्रदान गर्ने सेवामा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता जनाए ।


कार्यकममा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवनकुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र चेम्बर अफ कमर्स पोखरा अध्यक्ष यमनाथ पौडेलले कर प्रशासन व्यवसायमैत्री बन्नुपर्नेमा जोड दिदै राज्यले व्यावसायिक वातावरण सुधार गर्न आवश्यक पहल कदमी गर्नुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा आयकरतर्फ धेरै कर तिर्ने करदातालाई सम्मान गरिएको छ । जसमा बैंक तथा वित्तीय सेवातर्फ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, व्यापारतर्फ माछापुच्छ्रे मेटल एन्ड मेसिनरी वक्र्स प्रालि र उद्योगतर्फ कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि सम्मानित भएका छन् । कार्यक्रममा उत्कृष्ट कर्मचारी टाइपिस्ट नायब सुब्बा कृष्णहरि गौतमलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया