लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला

समाधान संवाददाता २०८० मंसिर ९ गते १०:५०

पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघले यही पुस ५ देखि १६ गतेसम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यका लागि ६ गतेबाट स्टल बुकिङ खुला गरिएको हो ।


स्टल व्यवस्थापन तथा निर्माण समिति संयोजक रामजी पौडेलले अन्य व्यवसायीका लागि दोस्रो चरणमा मंसिर १२ गतेबाट स्टल बुकिङ खुला गरिने बताए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ महोत्सव हुँदै आएको छ ।


महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइनेछ । स्वदेशी उत्पादन प्रर्वद्धनका लागि मेड इन नेपाल अन्र्तगत केही स्टल व्यवस्थापन गरिने संयोजक पौडेलले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधन, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना लगायतका कार्यक्रम समावेश गरिएको छन् ।

Advertisement


यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिक जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले बताए । २०६१ देखि हुँदै महोत्सवले हाल शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेटाउने आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचारप्रसार समिति संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ बताउँछन् ।


लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया