पुस १२ बाट पोखरा सडक महोत्सव

समाधान संवाददाता २०८० मंसिर १० गते १८:१७

पोखरा ।
पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले अग्रेजी नयाँमा सडक महोत्सव गर्ने भएको छ । पोखराको पर्यटन प्रवद्र्धनमा पृथक पहिचान बनाउन सफल यो महोत्सवको २५ औँ संस्करण आगामी पुस १२ देखि १६ गतेसम्म हुने भएको हो ।


रेवान पोखराले आइतबार पत्रकार सम्मेलन गरी यसपालिको महोत्सवलाई रजत महोत्सवका रुपमा मनाउने तय भएको जनाएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रान्तव्य स्थलका रुपमा चिनाउन महोत्सव गर्दै आएको रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले बताए ।


यसअघिका सडक महोत्सवको अवधिका साढे ४ लाखदेखि ५ लाखसम्म पर्यटक पोखरा आउने गरेकोमा यसपालि त्यसमा १ लाख थप गर्ने लक्ष्य लिइएको छ । ५ दिने महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ किमीमा हुनेछ । महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेबरसम्मको सडकमा हुनेछ ।

Advertisement


‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने उद्घोषका साथ हुने महोत्सवलाई पृथक र थप आर्कषक बनाउने प्रत्यत्न गरिएको महोत्सवका संयोजकसमेत रहेका रेवानका कार्यवाहक अध्यक्ष पौडेलको भनाइ छ । ‘सडकमै सांस्कृतिक कार्यक्रममा बाढी जोड दिएका छौँ । समग्र पोखराको पर्यटन प्रवद्र्धनमा यसले सघाउने अपेक्षा छ,’ उनी भन्छन् ।


महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ कार जस्ता कार्यक्रम हुने छन् । सँगसँगै भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, टक सो, हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका सामग्री प्रदर्शनी गरिनेछ ।

Advertisement


विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समृद्धिमा महोत्सवले टेवा पु¥याउने पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद महोत्सवको प्रवद्र्धकको भूमिकामा छन् ।


नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले आन्तरिक पर्यटन प्रवद्र्धनको नमुना बनेको सडक महोत्सवमा रैथाने खानाको परिवकारहरुको पनि प्रवद्र्धन गर्न सुझाव दिइन् ।

तपाईको प्रतिक्रिया